— रास्वपाले ‘राज्यसत्ताको स्वेच्छाचारी र र अधिनायकवादी प्रवृत्ति’ विरुद्ध दोस्रो चरणको आन्दोलन थाल्ने निर्णय गरेको छ । रास्वपाको शनिबार बसेको केन्द्रीय समिति बैठकले ‘साझा राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहने गरी’ आन्दोलन घोषणा गरेको हो ।
सभापति रवि लामिछानेको पक्राउ गरेर सत्ता गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्ने प्रयास गरेको रास्वपा बैठकले निष्कर्ष निकालेको छ । ‘संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदनको पृष्ठ नम्बर ४४९ मा सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम लैजाने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कुनै पनि कागज प्रमाण नभेटिएको भन्ने तथ्य उल्लेख गरिएको भए पनि सोही अभियोगमा पक्राउ गरिएको र उक्त पक्राउको वास्तविक उद्देश्य वर्तमान गठबन्धनले रास्वपालाई राजनीतिक रूपमा निषेध गर्न हो भन्ने प्रस्ट देखिन्छ,’ रास्वपा केन्द्रीय समितिको निर्णयमा उल्लेख छ ।
सभापति लामिछानेविरुद्ध गरिएको कारबाही प्रक्रियालाई राजनीतिक प्रतिशोधका रूपमा रास्वपाले टिप्पणी गरेको छ । ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ,’ रास्वपाको निर्णयमा भनिएको छ ।
राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेका दलहरू नवीन विचार र आवाजलाई दबाउन उद्यत रहेको पनि रास्वपाको बुझाइ छ । सरकारले लोकतन्त्र, संविधान र विधिको शासनविपरीत कार्य गरिरहेको रास्वपाले निष्कर्ष निकालेको छ । ‘रास्वपा आम नेपाली जनतालाई राज्यको यो खतरापूर्ण चरित्र पहिचान गर्न आग्रह गर्छ,’ रास्वपाले भनेको छ ।