— दुबईको विमान कम्पनी फ्लाई दुबईले शनिबारदेखि रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थालेको छ । उक्त एयरलाइन्सले भैरहवाबाट दैनिक उडान भर्ने जनाएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान सुरुवात गरेको हो । अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त कम्पनीले भैरहवाबाट प्रत्येक दिन उडान गर्नेछ । फ्लाई दुबईको जहाज शनिबार दिउँसो यहाँ अवतरण गरेको थियो ।
फ्लाई दुबईको जहाज शनिबार दिउँसो २ बजेर ४५ मिनेटमा यहाँ अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जनाए । कुल १ सय ५९ यात्रु सवार थिए । तीमध्ये १० यात्रु भैरहवा उत्रिएका थिए । बाँकी १ सय ४९ यात्रु काठमाडौं गएका थिए । यहाँबाट ३ बजेर ४५ मिनेटमा फ्लाई दुबईको जहाजले काठमाडौंका लागि उडान भरेको थियो । उक्त जहाज काठमाडौंबाट दुबई प्रस्थान गर्ने तालिका छ । यहाँस्थित विमानस्थलमा पहिलो पटक फ्लाई दुबईले दैनिक उडान सुरु गरेको हो ।
नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ भने पौने ३ बजे यहाँबाट उडान भर्नेछ । त्यसअघि शनिबार बिहानबाट कुवेतको जजिरा एयरवेजले यहाँबाट पुनः उडान सुरुवात गरेको थियो । बिहान ७ बजेर ४० मिनेटमा जजिराको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको थियो ।
दुई वर्षअघि विमानस्थल उद्घाटनसँगै जजिराले भैरहवाबाट उडान सुरु गरेको थियो । १० महिना उडान भरेपछि प्राविधिक कारण देखाएर जजिराले उडान स्थगन गरेको थियो । भैरहवा–कुवेत उडान गर्ने जजिराले शनिबारबाट फेरि सेवा दिन थालेको हो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार भैरहवा–कुवेत उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ ।
जजिराको जहाजमा बिहान कुवेतबाट १ सय ७१ यात्रु यहाँ आएको महाप्रबन्धक तिवारीले बताए । पहिलो उडानमै जहाजभरि यात्रु यहाँ आएका हुन् । उक्त जहाजबाट १ सय ६८ यात्रु कुवेत उडेको विमानस्थलले जनाएको छ । शुक्रबारबाट उडान सुरु गरेको थाई एयर एसियाको जहाजमा ७ यात्रु भैरहवा आएका थिए भने यहाँबाट ३२ यात्रु थाइल्यान्ड गएका थिए ।
ITPF
City Express Sep 17
Sunrise bank
नेपाल एयरलाइन्सले शनिबार रातिबाट काठमाडौं–भैरहवा–दुबई उडान सुरु गरेको तिवारीको भनाइ छ । नेपाल एयरलाइन्सले सातामा चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने तय भएको छ । नेपाल एयरलाइन्सको जहाज काठमाडौंबाट राति १०:२० बजे भैरहवा अवतरण गर्नेछ । यहाँ आधा घण्टा आराम गरेर दुबईका लागि उडान भर्ने तालिका तय भएको विमानस्थलले जनाएको छ । ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि शनिबार विशेष दिन बनेको छ,’ महाप्रबन्धक तिवारीले भने, ‘एकैदिन तीन एयरलाइन्सले उडान थालेपछि यहाँ छाएको निराशा कम भएको छ ।’
सञ्चालनमा आएको दुई वर्षपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार उत्सवको माहोल बन्यो । शनिबार एकै दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई विदेशी र एक स्वदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको सुरुवात गरेपछि उल्लासको वातावरण बनेको हो । विमानस्थल व्यवस्थापनले शनिबारलाई विशेष दिनका रूपमा लिएको जनाएको छ ।
एकै दिन धेरै विमान कम्पनीले उडान थालेपछि यहाँ अवतरण गर्ने जहाजलाई पानीका फोहोराले स्वागत गरिएको थियो । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक यहाँ अवतरण गरेको थियो । थाई एयर एसियाले प्रत्येक साता सोमबार र बिहीबार उडान गर्ने तय भएको छ ।
नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्नेछ । एक घण्टा यहाँ आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । नेपाल एयरलाइन्सले यसअघिबाट गरिरहेको सातामा एक दिन मंगलबार क्वालालम्पुर–काठमाडौं–भैरहवा उडान कायम रहेको छ ।