— हवाई भाडा अस्वाभाविक रूपमा अकासिएको गुनासो बढेपछि नागरिक उड्डयन प्राधिकरणले स्वदेशी र विदेशी सबै वायुसेवा कम्पनीलाई उपभोक्ता मर्कामा नपर्ने गरी टिकट उपलब्ध गराउन निर्देशन जारी गरेको छ । नेपाल सरकार र वायुसेवा सञ्चालकहरूबीच भएको सम्झौताको सर्तविपरीत महँगो हवाई भाडा लिए कारबाही गर्ने चेतावनी पनि प्राधिकरणले दिएको छ ।
प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा परराष्ट्र, श्रम र पर्यटन मन्त्रालयका उच्च अधिकारी र नेपालमा उडान गर्दै आएका वायुसेवा प्रतिनिधिबीच शनिबार भएको बैठकमा प्राधिकरणले उपभोक्ताबाट यथोचित हवाई भाडा मात्र लिन लिखित निर्देशन दिएको हो । सरकार र वायुसेवा सञ्चालकहरूबीचको सम्झौतामा ‘उपभोक्तालाई मर्का नपर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ उल्लेख छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पूर्वाधार विस्तार तथा निर्माण कार्यका लागि भन्दै शुक्रबार रातिदेखि लागू हुने गरी व्यावसायिक उडान कटौती गरेपछि वायुसेवा कम्पनीहरूले हवाई भाडा बढाएर दोब्बर–तेब्बर पुर्याएका थिए । राति १० बजेदेखि बिहान ८ बजेसम्म रोक लगाइँदा अन्तर्राष्ट्रिय र आन्तरिक उडान ३० प्रतिशतले कटौती भएको छ । उडान कटौतीको नियम चैत १८ सम्मका लागि लागू गरिएको हो । उडान कटौतीपछिको अस्वाभाविक वृद्धि नियन्त्रण गर्न परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेलाई शुक्रबार भेटेरै सुझाएका थिए ।
शनिबारको बैठकमा नेपाल वायुसेवा निगमका साथै अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्ने विभिन्न विदेशी वायुसेवा कम्पनीका प्रतिनिधि उपस्थिति थिए । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले तोकेको मापदण्ड तथा नेपाल सरकारको गुरुयोजनाअनुसार विमानस्थलको स्तरवृद्धि गर्ने विषयमा नौ महिनाअघि नै अनौपचारिक/औपचारिक जानकारी दिइएको प्राधिकरणले उल्लेख गरेको थियो ।
वायुसेवा कम्पनीले ठूला ट्राभल एजेन्सीलाई एकमुष्ट टिकट बिक्री (टीबीए) को अधिकार हस्तान्तरण गर्छन् । तर सबै टिकट ट्राभल एजेन्सीलाई एकमुष्ट बिक्री गर्न प्राधिकरणले रोक लगाएको छ । तोकिएको सेवा शुल्क मात्र लिने गरी ट्राभल एजेन्टलाई निश्चित संख्यामा मात्र टिकट बिक्रीको अधिकार दिन वायुसेवा कम्पनीलाई प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरणले विशेष गरी श्रम गन्तव्यमा उडान भर्ने वायुसेवा कम्पनीलाई यो निर्देशन अनिवार्य पालना गर्न भनेको छ ।
ITPF
City Express Sep 17
Sunrise bank
वायुसेवा कम्पनीलाई आफ्नो उडान हुने वृत्तमा न्यूनतम/अधिकतम भाडा सूची तोक्न र सार्वजनिक गर्न पनि प्राधिकरणले निर्देशन दिएको छ । ‘तोकिएबमोजिमको हवाई भाडा मात्र कायम राख्ने जिम्मेवारी वायुसेवा सञ्चालकको हुनेछ,’ बैठक पुस्तिकामा लेखिएको छ । आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा वायुसेवा कम्पनी वा ट्राभल एजेन्टले अत्यधिक चर्को भाडा लिए प्राधिकरणको प्रधान कार्यालय सिनामंगलमा फोन वा इमेल गर्न पनि प्राधिकरणले आग्रह गरेको छ । प्राधिकरणले यसका लागि वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेल (फोन नं ९८४२१७०७२९) लाई सम्पर्क व्यक्ति तोकेको छ । चर्को भाडा लिने विदेशी वायुसेवा कम्पनीलाई नेपाल उडानमा रोक लगाउने चेतावनी प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिएका छन् ।
काठमाडौं विमानस्थलमा हाल तीन चिनियाँ ठेकेदार कम्पनीले १५ अर्ब रुपैयाँ हाराहारीका फरक–फरक ठेक्कामा काम गरिरहेका छन् । विमानस्थलको उत्तरतर्फको अन्तर्राष्ट्रिय एप्रोन तथा ट्याक्सी–वे सम्बन्धी काममा चिनियाँ कम्पनी एभिक इन्टरनेसनल, पूर्वमा रहने ह्यांगर, एप्रोन तथा ट्याक्सी–वेमा एभिक–सीसीईसीसी जेभी र समानान्तर ट्याक्सी–वेमा गान्सु मेकनाइज इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनले ठेक्का लिएका छन् ।
यी सबै काम अबको २२ महिनाभित्र सकिसक्नुपर्ने छ । धावनमार्गसँग जोडिएका संवेदनशील काम भने चैत १८ सम्म सक्नुपर्नेछ । यसैका लागि शुक्रबारदेखि १० घण्टा विमानस्थल बन्द गरेर धानवमार्ग क्षेत्र नजिक निर्माण थालिएको हो ।