मुख्य समाचार
कोप २९ : जलवायुजन्य संकट सामना गर्न अपिल
कोप २९ : जलवायुजन्य संकट सामना गर्न अपिल

। अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप २९) को आज उद्घाटन भएको छ ।

उद्घाटनमा जलवायुले निम्त्याएका समस्याको सामना गर्न विश्व समुदायबीच एकता र सहकार्यताको लागि अपिल गरियो । २२ तारिख (मङ्सिर ७ गते) सम्म चल्ने कोपमा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रप्रमुख रामचन्द्र पौडेल बाकु पुगेका छन् ।

कोपको उद्घाटन सत्रमा बोल्ने तीन वक्ताहरु कोप २९ का अध्यक्ष मुख्तार बाबायेभ, निवर्तमान कोप २८ का अध्यक्ष सुल्तान अल जाबेर, संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले जलवायु परिवर्तनको समस्या समाधानमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

सम्मेलन उद्घाटनका क्रममा कोप २९ का अध्यक्ष बाबायेभले जलवायु परिवर्तनका कारण विश्व नै विनासको मार्गमा पुगेकाले समस्या समाधानमा एकता र सहकार्यमा जोड दिनुपर्ने बताए । उनले जलवायुजन्य समस्या समाधानका लागि र जलवायु जोखिमले ल्याउन सक्ने सम्भावित समस्याहरुको विषयमा एकजुट भएर समाधान गर्नुपर्नेमा जोड दिए । ‘जलवायुजन्य समस्या निराकरणका लागि पेरिस सम्झौता कडाइका साथ कार्यान्वयन गर्न र सबैले आआफ्नो प्रतिबद्धता पूरा गर्न जरुरी छ, सबै मुलुकले निर्धारण गरेका लक्ष्यहरू पूरा गर्न प्रतिबद्ध हुनुपर्छ’, उनले भने ।

सबै मुलुकहरु नीतिगत मात्रै नभई तोकिएका लक्ष्य पुरा गर्न प्रभावकारी कार्यन्वयनमा जुट्नुपर्ने उनको भनाइ छ । ‘तपाईंले देख्नु नभए पनि, जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमका कारण विश्वका मानिसहरू पीडामा छन्, तिनीहरू कष्ट भोग्दै छन् । अब तिनीहरूलाई केवल सहानुभूति, प्रार्थना वा कागजी प्रक्रिया मात्र होइन, कोप–२९ सबैका लागि नयाँ मार्ग पहिल्याउने अपरिहार्य क्षण हो’, अध्यक्ष बाबायेभले थपे, ‘विश्वमा देखिएको जलवायु परिवर्तनको समस्या समाधान गर्न सबैबाट सहयोग आवश्यक छ ।’

निवर्तमान कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेरले जलवायु समस्या निराकरण गर्न भाषणले मात्रै नहुने स्पष्ट पार्नुभयो । ‘म तपाईंलाई अन्तिम सन्देश दिन चाहन्छु, सकारात्मकताले जलवायुजन्य समस्या समाधान प्रक्रियालाई बलियो बनाउन सकोस्’, उनले भने ।

संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तन कार्यकारी सचिव साइमन स्टियलले कोपमा उपस्थित हरेक मुलुकका राजनीतिक पार्टीहरूले जलवायुका समस्याबाट बाहिर निस्कने उपाय खोज्न आवश्यक रहेकोमा जोड दिए । ‘जलवायुजन्य समस्या समाधानका लागि हामी बाकुमा छौँ, हामीले नयाँ जलवायु वित्त लक्ष्यमा सहमति गर्नै पर्छ । यदि कम्तीमा दुई तिहाई राष्ट्रहरू छिटो उत्सर्जन कटौती गर्न सक्दैनन् भने हरेक राष्ट्रले त्यसको मूल्य चुकाउनु पर्नेछ’, उनले भने ।

स्टियलका अनुसार महत्वाकांक्षी नयाँ जलवायु वित्तको लक्ष्य अझै ठूलो र धनी राष्ट्रको हितमा छ । ‘जलवायु लक्ष्यमा सहमति मात्र पर्याप्त छैन । हामीले विश्व वित्तीय प्रणालीलाई पुनः परिमार्जन गर्न कोसिस गर्नुपर्छ । आवश्यक राष्ट्रहरूलाई वित्तीय सहयोग दिनुपर्नेछ’, उनले भने, ‘बाकुमै हामीले अन्तर्राष्ट्रिय कार्बन बजार सञ्चालनमा ल्याउन, पेरिस सम्झौताको अनुच्छेद ६ लाई अन्तिम रूप दिनैपर्छ । पूर्वनिर्धारित लक्ष्य अनुसार अघि बढ्नै पर्छ ।’

तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ । ‘कोपमा नै अनुकूलन लक्ष्यमा सहमति गर्नुपर्छ । तपाईंले मापन नगरी व्यवस्थापन गर्न सक्नुहुन्न,’ उनले थपे, ‘यो विश्वव्यापी सहकार्यलाई पुनः सक्षम बनाउने समय हो । त्यसैले म सबैलाई अनुरोध गर्दछु, आउनुहोस्, एकसाथ उठौँ ।’

उनले जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा परेको नकारात्मक असरको विषय उठान गरे ।

कोप २९ मा भाग लिन बाकु पुगेका राष्ट्रपति पौडेलका वन तथा वातावरण सल्लाहकार डा. प्रमेश्वर पोखरेलले जलवायु परिवर्तनले निम्त्याएका समस्या समाधानका लागि कोपले निचोड निकाल्ने बताए।

‘कोप–२९ मा नेपालले नयाँ जलवायु वित्त लक्ष्यको अपनाउन जोडदार माग गरेको छ र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा तल सीमित राख्ने स्पष्ट मार्गनिर्देशनको आवश्यकता उठाएको छ’, जलवायुविद् मञ्जित ढकालले भने, ‘नेपाल पर्वतीय प्राथमिकतासँग सम्बन्धित छलफलमा सक्रिय सहभागी छ र पहाडी क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव सम्बोधन गर्न विशेष छलफलको माग गरिरहेको छ ।’

अर्का जलवायु अभियन्ता राजन थापाले उद्घाटनकै दिन पर्वतीय क्षेत्रको सुरक्षाको प्रसङ्ग प्रवेश भएकाले नेपालले उठान गर्न लागेको पर्वतीय क्षेत्रको एजेण्डा कोपमा समावेश गर्न सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रमा गरिएको ८४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८०८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्म रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दीन शारीले विदेशी श्रमिकको अनियन्त्रित ...
: युक्रेनले रूसलाई भूमि सुम्पिने सम्झौता गर्नबाट बच्न खोज्दै ह्वाइट हाउसलाई संशोधित शान्ति योजना प्रस्तुत गर्ने तयारी गरिरहेको छ । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेरि भूमि सुम्पिने कुरा अस्वीकार गरेपछि किभले विकल्पहरू प्रस्ताव गर्ने तयारी गरेको हो । उनले युक्रेनी वा अन्तर्राष्ट्रिय कानुनअन्तर्गत त्यसो गर्ने अधिकार नभएको पनि जनाएका छन् । उनको टोलीले चाँडै नै अमेरिकीहरूलाई नयाँ प्रस्ताव पठाउन ...
— हङकङमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १६० जना पुगेको छ । मंगलबार प्रहरीले एक अतिरिक्त शवको पहिचान भएपछि मृतक संख्या बढेको पुष्टि गरेको हो । यस घटनामा अझै ६ जना बेपत्ता रहेका छन् । गत महिनाको अन्त्यतिर आवासीय भवनमा लागेको आगलागी १९८० यताकै विश्वकै सबैभन्दा घातक आवासीय भवन आगलागी ठहरिएको छ । प्रभावित भवनहरूमा ...
: थाइल्याण्ड र कम्बोडियाबीच सोमबार राति पनि लडाइँ जारी रह्यो। कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सोमबार र मंगलबार मध्यरातपछि थाई सेनाले सीमा नजिकै रहेको बान्टेय मिन्चे प्रान्तमा गोलीबारी गरेको थियो। कम्बोडियाको रक्षा मन्त्रालयले घटनामा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको जनाएको छ। सोमबार थाइल्याण्डले आफ्ना एक सैनिकको मृत्यु भएको बताएपछि दुई देशबीचको पछिल्लो झडपमा मृत्यु ...
— अबको ५ वर्षमा भोकमरी अन्त्य गर्ने गरी ‘जिरो हंगर’ लक्ष्य लिइएको भए पनि नेपालमा पछिल्लो एक वर्षमा भोकमरीको वृद्धिदर थप बढेको देखिन्छ । विश्व भोकमरी सूचकांक २०२५ प्रतिवेदनअनुसार नेपालमा भोकमरीको स्थिति र बाल पुड्कोपनाको दर बढेको हो । यसले खाद्य तथा पोषण सुरक्षाको प्रगति कमजोर रहेको देखाउने मात्र नभई अवस्था यस्तै रहे २०३० भित्र दिगो विकासको ‘जिरो ...