— कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ ।
३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि नेपाल नागरिक उडान प्राधिकरणमा अनुमतिका लागि पठाएको कतारको शीतकालीन उडान तालिकाको प्रस्तावलाई आइतबार स्वीकृति प्रदान गरिएको हो । प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले कतारलाई दैनिक उडान अनुमति दिएको छ ।
‘दोहाबाट क्यूआर–६४८ उडान नम्बरको विमान हरेक दिन दिउँसो २:४५ बजे भैरहवा अवतरण हुनेछ,’ प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘दोहाबाट आउने तराई क्षेत्रका यात्रुलाई त्यहाँ ओरालेपछि दोहा हुँदै तेस्रो मुलुक जाने यात्रु राखेर त्यो विमान ४:४५ बजे काठमाडौंस्थित त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । काठमाडौंबाट टिकट भएका दोहा र त्यसउता अन्य अन्तर्राष्ट्रिय गन्तव्यका यात्रुलाई क्यूआर–६४९ उडान नम्बरबाट ६:५५ बजे दोहा पुर्याउन कतार एयरवेजलाई अनुमति दिइएको छ ।’
कतारले दोहा–भैरहवा रुटमा एकतर्फी हवाई टिकटको शुल्क न्यूनतम ८ सय १० देखि अधिकतम १६ सय ५३ अमेरिकी डलर हुने भनेको छ । ०७९ जेठदेखि अन्तर्राष्ट्रिय वायुसेवाका लागि धावनमार्ग खुला भए पनि यस वर्षको भाइटीकाको दिनदेखि भैरहवा विमानस्थल चलयमान भएको हो । त्यस दिन बैंककबाट थाई एयर एसियाले सातामा दुई दिन सोमबार र बिहीबारका लागि उडान थालेको थियो ।
यसपछि दोस्रोमा शनिबार बिहान ७:३० बजे कुबेतबाट जजिरा एयरवेजले उडान गरेको थियो । विमानस्थल उद्घाटनपछि अन्तर्राष्ट्रिय वायुसेवातर्फ पहिलो उडान गर्दै आएको जजिराले ०८१ वैशाखसम्म १ सय १० वटा उडान गरेर त्यहाँको स्टेसन बन्द गरेर काठमाडौं फर्किएको थियो । यसले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने अनुमति पाएको छ ।
शनिबारैदेखि फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं उडान थालेको छ । यसले भैरहवामा हरेक दिन उडान अनुमति पाएको छ । नेपाल वायुसेवा निगमले पनि भैरहवाका लागि उडान अनमति पाएको छ । शनिबारैदेखि यसले सातामा पाँच दिन काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान थालेको छ । यसले गत जेठअघिसम्म करिब एक वर्ष सातामा एक दिन मंगलबार मलेसियाबाट फर्किंदा भैरहवा हुँदै उडान गरेर त्यो सेक्टर बन्द गरेको थियो । अब भैरहवामा ५ वटा वायुसेवाले एक सातामा २४ वटा उडान गर्नेछन् ।
यी वायुसेवाबाहेक सारजाहबाट काठमाडौं उडान गर्दै आएको एयर अरेबिया पनि भैरहवा उडानका लागि अध्ययनमा रहेको प्राधिकरणले जनाएको छ । भारतीय वायुसेवा कम्पनी भने अझै पनि भैरहवा र पोखरामा उडान गर्ने मनस्थितिमा छैनन् । ‘भारतीय वायुसेवा कम्पनीले भैरहवा र पोखराप्रति अझै सकारात्मक धारणा बनाइसकेका छैनन्,’ प्राधिकरणमा अन्तर्राष्ट्रिय उडानसँग सम्बद्ध एक अधिकारीले भने, ‘अब कतारको भैरहवा उडानपछि यी वायुसेवा पनि तयार हुन सक्छन् ।’
पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न मन्त्रिपरिषद्ले साउन अन्तिम साता सहुलियतसहितको कार्ययोजना ल्याएको थियो । जसमा भैरहवा उडान गर्ने वायुसेवाले त्यहाँ ल्यान्डिङ, पार्किङ र न्याभिगेसन शुल्क पूर्ण रुपमा ०८३ भदौसम्मलाई छुट पाउँछन् । अन्तर्राष्ट्रिय यात्रुले पनि हवाई टिकटमा लागू भएको ३ हजार रुपैयाँको यात्रु सेवा शुल्क तिर्नुपर्दैन । विदेशी पर्यटकले बुझाउनुपर्ने १ हजार रुपैयाँ पर्यटक शुल्क पनि छुट छ । नेपाल वायुसेवा निगमले जहाजको भुमिस्थ व्यवस्थापन गर्दा लिने ग्राउन्ड ह्यान्डलिङ शुल्क पनि ७५ प्रतिशत छुट दिइएको छ ।
गौतमबुद्ध विमानस्थलमा एकपछि अर्को विदेशी वायुसेवा कम्पनीले उडान सुरु गर्न थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायी र सरोकारवाला उत्साहित छन् । काठमाडौंमा उडानको चाप बेहोर्दै आएका आन्तरिक वायुसेवा कम्पनीले पनि यो रुटमा व्यापारको सम्भावना रहेको जनाउँदै उडान बढाउने संकेत गरेका छन् । यती एयरलाइन्सले मंगलबारदेखि नै पोखराबाट भैरहवा दैनिक उडान थाल्ने भएको छ । उसले सोमबार विज्ञप्ति जारी गर्दै एकतर्फी भाडा २५ सय रुपैयाँ लिने जनाएको छ ।