। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका पर्यटनमन्त्री पाण्डेमाथि कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएर क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका छन् । मन्त्री पाण्डेले भने केही मानिसले पर्यटन क्षेत्रबाट नाजायज लाभ लिनका लागि आफूमाथि आरोप लगाएको बताएका छन् ।
स्वच्छ चरित्र लिएर मन्त्रालयमा आएकोे र त्यसरी नै बाहिरिन चाहेको भन्दै पाण्डेले भने, ‘पार्टीबाटै निर्वाचित एकजना सांसदले त्यो तहमा ओर्लिएर टिप्पणी गर्ने कुराबाट म आश्चर्यचकित भएको छु ।’
आफ्नो इमान र निष्ठामाथि धावा बोल्नेविरुद्ध कानुनी लडाइँ लड्ने पनि उनले बताए । उनले भने, ‘सरकार र पार्टीलाई मैले केही गरेँ कि भन्ने लाग्छ भने सरकार र पार्टीले ममाथि गहिरो गरी छानबिन गरोस् ।’
मन्त्री पाण्डेले अगाडि भने, ‘मबाट कुनै पनि खालको कमजोरी जानेर/नजानेर त्यो प्रकारको कमजोरी भएको छ भनेदेखि जुनसुकै बेला म सरकारको स्वच्छताका लागि सरकारबाट बाहिरिने, पार्टीको स्वच्छता र पार्टीको आदर्शका लागि पार्टीबाट बाहिरिन पनि हरदम जुनसुकैबखत पनि तयार छु ।’