। प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले काठमाडौंको कीर्तिपुर नगरपालिकामा हुने उपचुनावका लागि उम्मेदवार घोषणा गरेको छ ।
मनोनयन दर्ता हुने समय पाँच दिन बाँकी रहँदै माओवादी केन्द्रले बुधबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुको उपस्थितिमा उम्मेदवार घोषणा गरेको हो । प्रा. डा. शिवशरण महर्जनलाई मेयर पदमा उम्मेदवार घोषणा गर्दै प्रचण्डले यसपटक कीर्तिपुरमा कीर्तिमान रचिने बताए ।
कीर्तिपुर नगरपालिकामा माओवादीले मेयर जितेको इतिहास छैन । बरु वामपन्थी किल्ला मानिने कीर्तिपुरसमेत पर्ने काठमाडौं–१० बाट प्रचण्डले आफैंले २०६४ सालमै संविधान सभा सदस्य जितेका थिए ।
०७० सालको दोस्रो संविधान सभा चुनावमा भने प्रचण्ड यही क्षेत्रबाट पराजित भएका थिए । ०७४ मा पनि माओवादीले हितमान शाक्य जस्तो उच्च तहकै नेतालाई उम्मेदवार बनायो । तर पहिलो संविधान सभाबाहेक अरु चुनाव माओवादीले जित्न सकेको छैन ।
त्यसैले प्रचण्डले कीर्तिमान रच्ने कुरा गरेका हुन् । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं । अब हामी बदलिन चाहन्छौं, अवसर दिनुस् भनेर जनताको बीचमा जानुस्, टोलटोल र घरघरमा पुग्नुस्’ प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए ।
आगामी १६ मंसिरमा हुने उपचुनावबाट कीर्तिपुरमा माओवादीले कीर्तिमान रच्ने प्रचण्डको घोषणा स्थानीय नेताहरुको रिपोर्टिङमा समेत आधारित थियो । ‘कीर्तिपुरको अवस्थाबारे अध्यक्ष आफैं पनि राम्रो जानकार हुनुहुन्छ । त्यहाँका नेताहरुले पनि यसपटक माओवादीले जित्न सक्ने रिपोर्टिङ गरेका छन्’, प्रचण्ड निकट स्रोतले भन्यो ।
प्रचण्डलाई भएको रिपोर्टिङ अनुसार २०७९ को स्थानीय चुनाव हुँदा भन्दा राजनीतिक परिस्थिति फरक भएकाले यसपटक माओवादीले जित्ने सम्भावना छ ।
‘अघिल्लोपटक हामीले खुलेर प्रतिस्पर्धा गर्नै पाएनौं । तीन वटा वडामा त माओवादीको उम्मेदवार नै थिएन’, पार्टी केन्द्रीय सदस्य पार्वती थापाले भनिन्, ‘वडामा उम्मेदवार नहुँदा मेयरलाई मत माग्न सबै ठाउँ नपुगिने रहेछ ।’
०७९ को चुनावमा माओवादीले ५, ६ र ९ नम्बर वडामा उम्मेदवारी नै दिएको थिएन । अर्थात् कीर्तिपुरको १० मध्ये ३ वटा वडामा माओवादी मतदानअघि नै हारिसकेको थियो । ‘हाम्रा मेयरका उम्मेदवारलाई सहयोग गर्ने भनेकाले ती वडाहरुमा उम्मेदवारी दिएनौं । तर अन्तिममा सहमति नजुट्दा माओवादीलाई धोका भयो’ एक स्थानीय नेता भन्छन्, ‘यसपटक त्यस्तो गल्ती गर्ने पक्षमा छैनौं ।’
गठबन्धन हुने आशामा मेयरदेखि वडा सदस्यसम्म उम्मेदवार तयार पार्न नसकेकैले ०७९ को चुनावमा माओवादीले अपेक्षित मत पाउन नसकेको ती नेता तर्क गर्छन् । ‘तर अघिल्लो पटकको गल्ती दोहोरिन नदिन आफ्नो उम्मेदवार घोषणा गरेर बाँकी छलफल गर्ने नीति लिएका छौं’, उनी भन्छन् ।
अरु दलहरुसँग सहकार्यमा सहमति नजुटेपनि एक्लै लड्ने नीति लिएरै यसपटक मनोनयनको मिति आउनु ५ दिन अगाडि मेयर पदमा शिवशरण महर्जन, १ नम्बर वडाको वडाध्यक्षमा अष्टमान महर्जन र ४ नम्बर वडाको अध्यक्षमा ई. नारायण विष्टलाई माओवादीले उम्मेदवार घोषणा गरेको छ ।
सहकार्यको पहल
बेलैमा उम्मेदवार घोषणा गरेर प्रचार थालेपनि विगतका चुनावी नतिजा हेर्दा भने माओवादीलाई मेयरसहित वडाध्यक्षहरु जित्न सजिलो देखिँदैन ।
०७९ वैशाखको चुनावमा एउटा वडामा मात्र माओवादी दोस्रो स्थानमा आएको थियो । कीर्तिपुर–१० मा कांग्रेसका नरेश महर्जनले ९०१ मत ल्याएर वडाध्यक्ष जित्दा माओवादीकी संगीता श्रेष्ठ (उप्रेती) ले ८५९ मत पाएकी थिइन् । बाँकी वडामा माओवादी प्रतिस्पर्धी नै बनेन ।
१, २, ३ र ७ नम्बर वडामा निकै फराकिलो अन्तरले माओवादी उम्मेदवार तेस्रो भए । १ नम्बरमा २७३, २ नम्बरमा ३३०, ३ नम्बरमा २५२ र ७ नम्बरमा ४६ मत सहित तेस्रो भयो । स्वतन्त्र उम्मेदवारले जितेको ४ नम्बर वडामा माओवादीका उम्मेदवारले ७३ मत पाएर पाँचौं र ८ नम्बर वडामा १८७ मत सहित चौथो बनेको थियो ।
मेयर पदमा खसेको मत आधारमा पनि माओवादी निकै फराकिलो अन्तरले तेस्रो शक्ति हो । कांग्रेसका राजकुमार नकर्मीले ९ हजार ४३ मत ल्याएर मेयर जित्दा एमालेका केशरत्न महर्जन ५ हजार ५०७ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेका थिए । माओवादीका मेयर उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले भने ४ हजार ९० मत ल्याएका थिए । अर्थात् माओवादीले यो चुनाव जित्न दोब्बर भन्दा धेरै मत थप्नुपर्नेछ ।
तर माओवादीका स्थानीय नेताहरुले चुनाव जित्ने परिस्थिति रहेको रिपोर्टिङ गरिरहेका छन् । उनीहरुमध्ये एक, केन्द्रीय सदस्य पार्वती थापा राजनीतिक समीकरण पहिलेजस्तो नहुनु एउटा बलियो आधार भएको बताउँछन् ।
‘त्यसबेला हामी कांग्रेससहितको गठबन्धनमा थियौं । खुलेर आफ्नो कुरा राख्न सकेनौं । अन्तिमसम्म सहकार्य भन्यौ, मत माग्न जानै पाएनौं’, उनी भन्छन्, ‘तर अहिले हामी जनताको घरघर पुगेर आफ्नो कुरा राख्दैछौं । उम्मेदवार चिनाउनेछौं ।’
०७९ को चुनावमा कांग्रेसले कीर्तिमानी जित निकाल्न राजनीतिक समीकरणले समेत साथ दिएको उनी बताउँछन् । ‘जनता समाजवादी पार्टीसँग कांग्रेसले गठबन्धन नै गर्यो । हामी र एकीकृत समाजवादी सत्ता गठबन्धनमा भएकाले खुलेर कुरा राख्ने अवस्थामा थिएनौं’, थापा भन्छन् ।
त्यसबेला एमाले फुटेर बनेको एकीकृत समाजवादीले छुट्टै प्यानल उम्मेदवारी दिएकाले पनि कांग्रेस उम्मेदवारलाई मतान्तर बढाउन सहयोग पुगेको माओवादी नेताहरुको विश्लेषण छ । त्यो चुनावमा एकीकृत समाजवादीका बटुकृष्ण थापाले मेयरमा १ हजार १५३ मत पाएका थिए ।
यो उपचुनावमा सत्ता साझेदार कांग्रेस र एमालेले अलग–अलग प्रतिस्पर्धा गर्ने नीति लिएका छन् । यसको लाभ उठाउने योजना माओवादीले बनाएका छन् ।
प्रचण्डले उम्मेदवारी घोषणाकै क्रममा त्यो रणनीति सार्वजनिक गरे । ‘अन्य राजनीतिक दलसँग पनि मेरो लगातार कुरा भइरहेको छ । त्यसकारण यसपटक कीर्तिपुरमा नयाँ इतिहास रच्न सकिन्छ’, प्रचण्डले भनेका छन् ।
नेताहरुका अनुसार अघिल्लो पटक कांग्रेसले उठाएको लाभ यसपटक माओवादीले उठाउने गरी नेताहरु लागेका छन । २७ कात्तिकमा प्रदेश नेतृत्वमा रहेका नेताहरुले चुनावी सहकार्यको पहल गर्ने जिम्मेवारी दिइएको छ ।
‘एकीकृत समाजवादीको समर्थन लिन माधव नेपालसँगको कुरा सकारात्मक छ । विप्लव र जसपा नेपाल (उपेन्द्र यादव नेतृत्वको) सँग कुरा हुँदैछ’, प्रचण्ड निकट एक नेताले भने, ‘रास्वपाको समेत समर्थन लिनेगरी कुरा अगाडि बढाएका छौं ।’
ती नेताका अनुसार विगतमा मोहन वैद्यतिर लागेका केही नेताहरु समेत अहिले पार्टीमा फर्किएका छन् । ‘यसपटक तुलनात्मक रुपले माओवादी बढी एकताबद्ध छ । निरन्तर मत बहिष्कार गर्ने विप्लवको साथ पाउने अवस्थाले कार्यकर्तामा उत्साह आउनेछ’, उनी भन्छन् ।
मेयर पदका उम्मेदवारको पृष्ठभूमिलाई पनि माओवादीले जितका लागि बलियो पक्ष मानेका छन् । शिक्षा र सामाजिक सेवाको क्षेत्रमा लामो योगदान गरेका प्रा.डा. शिवशरणलाई उम्मेदवार बनाउनुको पछाडि पनि माओवादीले जित्न सकिने आँकलन गर्नु रहेकै नेताहरु बताउँछन् ।
०३५/०३६ सालबाटै राजनीतिमा जोडिएका महर्जनले जीवनको महत्वपूर्ण समय त्रिभुवन विश्वविद्यालयमा बिताए । शिक्षा शास्त्र संकायका पूर्वप्रमुख रहेका प्रा.डा. महर्जनले मंगल बहुमुखी क्याम्पस, मंगल मावि, शिशु निकेतन एकेडेमीको नेतृत्व गरेका थिए । त्रित्रि अनुदान कोष र महिला छात्राबासको पनि उनले नेतृत्व गरेका थिए ।
‘शैक्षिक क्षेत्र मात्र नभएर सामाजिक क्षेत्रमा पनि उहाँको भूमिका कीर्तिपुरबासीले राम्रोसँग बुझेका छन्’, स्थानीय उपेश महर्जन भन्छन्, ‘कीर्तिपुर यातायात सञ्चालनको नेतृत्व गर्नुभएको छ । सहकारीमार्फत् जनताको आर्थिक अवस्था सुधारमा काम गर्नुभएको छ ।’
हुनत ०७९ वैशाखको स्थानीय चुनावमा पनि माओवादीबाट यिनै महर्जन उम्मेदवार थिए । तर माओवादीको मत सुधार हुन सकेको थिएन । २०७४ को स्थानीय चुनावमा हिराबहादुर महर्जनले मेयर पदमा ल्याएकै मत प्रा.डा. शिवशरणले पाएका थिए । ०७४ को चुनावमा हिराबहादुर ४ हजार ९ मत पाएर तेस्रो भएका थिए भने ०७९ मा पनि शिवशरणले ८१ मत बढी (४ हजार ९०) ल्याएका थिए ।