— एक सातादेखि रुपन्देही र आसपास बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि हवाई उडान प्रभावित हुन थालेका छन् ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र बाह्य उडानको संख्या बढिरहेका बेला खराब मौसमले प्रभावित तुल्याएको छ ।
एकसातादेखि भैरहवाबाट काठमाडौं र पोखराका लागि हुने उडान प्रभावित भएका छन् । बाक्लो कुहिरो लाग्न थालेपछि बिहानको समयमा हुने अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित छन् ।
बिहीबार बिहान यहाँको विमानस्थल नखुलेर ‘भिजिबिलिटी’ अपुग भएपछि थाइल्यान्डबाट आएको थाइ एयर एसियाको विमान एक घण्टा आकाशमा फन्को मारेर काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । त्यस्तै बिहान उडान तालिका भएको कुवेतको जजिरा एयरवेजको जहाज अवतरण गर्न नसकेर काठमाडौं फर्किएको विमानस्थलले जनाएको छ ।
बिहीबार दिउँसो आकाश खुलेपछि एकैपटक चारवटा अन्तर्राष्ट्रिय वायु सेवाका विमान भैरहवा अवतरण गरेका थिए । थाइ एयर एसिया, जजिरा एयरवेज, फ्लाई दुबई र कतार एयरवेजका जहाज क्रमश: अवतरण गरेका थिए । आन्तरिक तर्फका उडान र अवतरण गर्ने जहाज मध्याह्नसम्म प्रभावित भएका थिए । जसले गर्दा यात्रु विमानस्थलमा कुर्न बाध्य भए ।
विभिन्न मुलुकमा लुम्बिनी र आसपास आउने पर्यटक प्रभावित बनेको यहाँस्थित टाइगर प्यालेस रिसोर्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक लेखकले जानकारी दिए । ‘कात्तिकबाटै हुस्सु र कुहिरोले हवाई यात्रा असहज हुन थाल्यो,’ लेखकले भने, ‘मंसिर, पुस, माघ र फागुन कसरी कटाउने होला ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार शुक्रबार बिहान पनि बाक्लो कुहिरोका कारण विमानको उडान र अवतरण सम्भव भएको छैन । बिहान ११ बजेसम्म मौसम नखुलेका कारण सबै उडान ‘डिले’ भएका छन् । रुपन्देहीमा बयान सकेर बिहीबार साँझै पोखरा लैजाने तयारी भए पनि उडान नभए पनि रास्वपा सभापति रवि लामिछानेलाई भैरहवामै राखिएको छ । उनलाई शुक्रबार बिहानै विमानबाट भैरहवा लैजाने तयारी थियो । मौसमका कारण भैरहवा–पोखरा उडान प्रभावित भएपछि शुक्रबार मध्याह्नसम्म लामिछाने भैरहवामै रहेका छन् ।
गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले यस वर्ष कात्तिक अन्तिममै कुहिरोले सताउन थालेको बताए । विगतमा पुस महिनामा मात्रै हुस्सु र कुहिरोको प्रभाव रहने गरेकोमा यसपटक ‘अर्लि विन्टर’मै देखिएको रावतले बताए । ‘बिहानको समयमा मौसमले दु:ख दिन थालेको छ,’ उनले कान्तिपुरसित भने, ‘प्रायः दिउँसो मौसम सुधार हुने गरेको छ ।’
अहिले भिजिबिलिटीमा सुधार देखिन थालेकाले दिउँसोबाट उडान/अवतरण सहज हुनसक्ने उनले बताए ।