: विश्व बैंकको सहयोगमा सरकारले प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम अन्तर्गतको पहिलो चरणको कामको शुभारम्भ गरेको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच १७ अर्ब १५ करोड रुपैयाँ बराबरको प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत पहिलो चरणको काम शुभारम्भ गरिएको हो ।
यस परियोजनाले नेपालको प्रादेशिक र स्थानीय सडक सञ्जालको कनेक्टिभिटी,सुरक्षालाई अभिवृद्धि गर्नुका साथै सडक सञ्जाल व्यवस्थापन गर्ने बताइएको छ । सहरी विकास मन्त्रालयले प्रदेश र स्थानीय तहसँगको समन्वयमा कार्यक्रम कार्यान्वयन गर्नेछ ।
सुदूरपश्चिम,कर्णाली र मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्रीहरुको उपस्थितिमा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले आयोजनाको शुभारम्भ गरेका हुन् । कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री सिंहले उक्त परियोजनाले दिगो पूर्वाधार विकासमा टेवा पुराउने विश्वास व्यक्त गरे।
आयोजनाको पहिलो चरणमा छनोट भएका प्रदेशका १८० किलोमिटर सडक र पुलको स्तरोन्नति, ४ सय किलोमिटर र ७ सय किलोमिटर अवस्थित प्रादेशिक सडक र पुलहरूको मर्मतसम्भार हुने बताइएको छ ।
तीन चरणको आयोजनामध्ये पहिलो चरण सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशका साथै १३ नगरपालिकामा कार्यान्वयन गरिने शहरी विकास मन्त्रालयले जनाएको छ ।
कार्यक्रममा आयोजना कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय सरकार सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेश सरकारबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।