: महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) पूर्ण कार्यान्वयनका लागि प्रतिवद्ध रहेको बताएका छन्।
सिडको छाँया प्रतिवेदन तयारीको लागि महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले बिहीबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय परामर्श कार्यक्रममा मन्त्री सुडीले सिड महिला समानता र विकाससम्बन्धी सबै पक्षहरू समेटी संयुक्त राष्ट्र संघको महासभाले पारित गरेको अन्तर्राष्ट्रिय दस्तावेज भएकाले यसको कार्यान्वयनमा सरकारले ध्यान दिने बताए।
सिड समितिमा नेपाल सरकारले ७ औं आवधिक प्रतिवेदन बुझाइसकेको र उक्त प्रतिवेदनमा रहेर सिड समितिले नेपालको लागि प्रश्नहरूको सूची पठाएको उनले जानकारी दिए। उनले यससम्बन्धी कार्यमा मन्त्रालय सधैं सहकार्य र समन्वय गर्दै अघि बढ्न तत्पर रहेको बताए।
मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नागरिक समाजले तयार पारेको छाँया प्रतिवेदनमा वकालत गर्ने अवसर दिएको बताए।