: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका कारण देशमा राणा शासन र राजतन्त्रको अन्त्य भएको बताएका छन्। नेपाली कांग्रेस ठूलो इतिहास बोकेको पार्टी भएको बताउँदै महामन्त्री शर्माले कांग्रेसलाई कसैले दबाउन खोजे आफैं समाप्त हुने बताए।
उपनिर्वाचनको प्रचारप्रसारको क्रममा मधेस झरेका कांग्रेस महामन्त्री शर्माले बिहीबार रौतहटको इशनाथ नगरपालिका-७ मा आयोजित पार्टीको चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताए।
उनले भने, 'यो देशमा नेपाली कांग्रेस नभएको भए राणा शासन र राजसंस्थाको अन्त्य हुने थिएन। कांग्रेसले गरेको आन्दोलनका कारण तानाशाह राणाको अन्त्य भएको र राजतन्त्र ढलेर प्रजातन्त्र स्थापना भएको हो।'
कांग्रेसले राणा र राजा फालेर देशमा इतिहास रचेको पार्टी भएकोले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई अत्यधिक मत दिएर विजयी बनाउन उनले सबैलाई आग्रह गरे।