: पूर्वराज्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पदमबहादुर राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिइएको छ। त्यसक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टीका नेता राईलाई पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्। उपचारका क्रममा शनिबार साँझ वीर अस्पतालमा निधन भएका राइको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आइतबार बिहान माओवादी पार्टी कार्यालय पेरिसडाडाँ राखिएको थियो ।
पार्टी कार्यालयमा अध्यक्ष प्रचण्ड लगायत माओवादीका नेता, कार्यकता तथा शुभेच्छुकहरुले राइप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्वर्गीय राई २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री बनेका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए। माओवादीले राईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेको छ ।
राईको निधनले कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति हुन पुगेको माओवादी केन्द्रले जनाएको छ।
राईको जन्म २०२३ साल पुष १५ गते भोजपुरको षडानन्द नगरपालिका १४ साविक बोया गाविसमा बुबा लालबहादुर राई र आमा दौलती राईको कोखबाट भएको थियो । उनका दुई दाजु, १ भाइ र ६ जना दिदी छन्। उनले विद्योदय मावि भोजपुरबाट एसएलसी उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालयअन्तरगत जनता क्याम्पस सुनसरीबाट स्नातक तहसम्मको अध्ययन गरेका थिए।
उनको राजनीतिक जीवन २०४६ सालबाट अनेरास्ववियु छैटौंको सदस्यता प्राप्त गरी विद्यार्थी संगठनको इकाई र जिल्ला समिति हुदै तेह्रौ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य भई कार्य गरेका थिए। २०४७ सालमा पार्टी सदस्यता प्राप्त गरी पार्टीको स्थानीय इकाई हुँदै २०५२ सालमा सुनसरी मोरङ जिल्ला पार्टी सदस्य, भोजपुर जिल्ला सचिव हुँदै २०५६ मा भोजपुर-तेह्रथुम-संखुवासभाको इन्चार्ज, २०६१ सालमा जनमुक्ति सेनाको ब्रिगेड कमिसार, पार्टी केन्द्रीय समिति सदस्य हुँदै विगतमा पार्टी पोलिट्व्यूरो सदस्यसम्मको भुमिका निर्वाह गरेका थिए।
उनी २०६३ को अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा भौतिक योजना राज्यमन्त्री बनेका थिए। २०६४ सालको संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए।