: नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) नेकपा एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भएको बताएका छन्। शुक्रबारको एमाले सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट मेयर शाह एमालेविरुद्ध परिचालित भएको प्रष्ट रूपमा बुझिएको महासचिव पोखरेलले दाबी गरेका हुन्।
कार्यक्रम समापन पछि संकलन गरिएको फोहोर उठाउन महानगरपालिकालाई गाडी पठाइदिन अनुरोध गर्दा त्यसको साटो मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको उनले बताए। ‘काठमाडौं महानगरका मेयर बालेन नेकपा(एमाले)का विरुद्ध परिचालित छन् भन्ने कुरा आजको सभापछि सार्वजनिक गरिएको जरिवाना पर्चाबाट बुझ्न सकिन्छ।’ महासचिव पोखरेलले भने, ‘कार्यक्रम समापन भएपछि त्यहाँको सरसफाई आयोजकका तर्फबाटै भइरहेको थियो। संकलन गरिएको भएको फोहोर उठाउनका लागि महानगरलाई गाडी पठाइदिन अनुरोध गरिएको थियो। अनुरोधलाई स्विकार गरेर सहयोग गर्नुको साटो फोहोर गरेको भनेर जरिवानाको प्रचार गरियो मेयरको निर्देशनमा।’
उनले मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टबाजीमा भएको टिप्पणी गरे। उनले भने,‘जतिबेला महानगरका नाममा जरिवाना पर्चा सार्वजनिक गरियो त्यतिबेला स्वयम् सेवकहरु कार्यक्रम थलोमै फोहर संकलन गरेर गाडीमा राख्दै थिए। मञ्च र मञ्चमा प्रयोग गरिएका सामाग्री हटाउने काम सँगसँगै जारी नै थियो। तर पनि मेयरको ध्यान सरसफाईमा होइन जरिवानाको स्टण्टवाजीमा थियो। जुन समय अगावै सार्वजनिक गरियो।’
नेकपा (एमाले) पार्टी आफ्नो कार्यक्रमपछि कार्यक्रम स्थल सफा गर्दछ भन्ने कुरा हेक्का समेत मेयर बालेनलाई नभएको उनले बताए। महासचिव पोखरेलले जागरण सभा यस प्रकारका स्टण्टबाजी गर्नेहरुलाई सचेत बनाउनका लागि पनि भएको स्पष्ट पारे।
शुक्रबार दरबारमार्गमा आयोजित जागरण अभियानका दौरान फोहोरमैला गरेर वातावरण प्रदूषण गरेको भन्दै महानगरले एमालेलाई एक लाख जरिवाना गरेको पत्र सार्वजनिक भएको थियो। काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम प्रशासकीय अधिकृतको निर्देशनबमोजिम एमालेलाई एक लाख जरिवाना गराइएको नगर प्रहरी निरीक्षक लिलाराज गाछाले जानकारी दिए।