: प्रधानमन्त्री केपी शर्मा ओली नै भइरहेका काम कारबाहीबाट असन्तुष्ट देखिएका छन् । सुशासन र विकासका काम सोचेअनुसार अघि बढ्न नसक्नुमा प्रशासन नै अल्झन भएको उनको टिप्पणी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र मातहतका निकायको चालु आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले सुशासन र विकासमा अघि बढ्न नसक्नुको कारण भ्रष्टाचार, कमिसनतन्त्र रहेको बताए ।
जनताका काम सहज र सरल बनाउनको साटो अप्ठ्यारो बनाइने गरेको भन्दै उनले रोष प्रकट गरे । ‘जनताका काम रोक्ने होइन, सहज गरिने हो, त्यहाँ अप्ठ्यारो पारिने काम पो हुन्छ,’ उनले भने । सेवा प्रवाहमा एक पैसा नलिइकन जनताका काम गरिन पनि उनले निर्देशन गरे । उनले कर्मचारीको सरुवा बढुवामा कसैले पनि एक पैसा खुवाउनु नपर्ने स्पष्ट पारे । ‘तपाईंहरूले सरुवा बढुवामा एक पैसा खुवाउनु पर्दैन, तपाईंले किन पैसा खाने, तपाइँले नखाएपछि तलकाले पनि खाँदैनन्,’ उनले भने ।
उनले बैठकमा जनताले महसुस हुने गरी काम गर्न कडा निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्तन गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले देश विकास गर्न प्रतिबद्धताका साथ लागेर स्वच्छ र पारदर्शीरूपमा काम गर्न आग्रह गरेका छन् । उनले सुशासन कायम, राजस्व चुहावट नियन्त्रण, गरिबी निवारण, मुलुकको छवि अन्तर्राष्ट्रियस्तरमा अभिवृद्धि र साधन स्रोतको उपयोग बढाउने गरी काम गर्न स्पष्ट निर्देशन दिए । उनले भने ‘भोलिदेखि नै परिवर्तन आउने गरी काम गर्नुस् । बैठकहरूको औचित्य सिद्ध गर्नुस् । अर्काे बैठकमा आउँदा यो यो परिवर्तन भयो भन्ने लिएर आउनुस् । सुशासन र विकासमा कुनै कानुनले व्यवधान खडा गरेको छ भने सरकार छिटो बाटोबाट कानुनको संशोधन गर्न पनि तयार छ ।’
भन्सार, अध्यागमन, सेवा प्रवाहलगायतका काममा भोलिदेखि नै सुधार नै देखिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले राज्य सम्पूर्ण प्रयास उत्पादन वृद्धिमा हुनुपर्ने बताए । ‘हाम्रा स्रोत साधन जति छन्, तिनीहरूको वैज्ञानिक ढंगले उपयोग गर्नुपर्छ । सूचना र प्रविधिको प्रयोग गरी विकासको गतिलाई तीव्रता दिनुपर्छ ।’ उनले भने ।
अयोधिप्रसाद यादव प्रमुख आयुक्त हुँदा किनिएको निर्वाचन आयोगमा ल्याएको मेसिन थन्क्याएको विषयमा उनले चासो राखेका छन् । त्यो किन किनेको भन्ने प्रश्न गरे । उनले त्यो मेसिन प्रयोग हुने स्थान दिन पनि निर्देशन दिए । उनले यो विषयमा छानबिन पनि गर्नुपर्ने बताए । राम्रो काममा कानुन लाग्छ भन्ने भ्रम रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले उद्योगहरू बन्द हुनको कारणबारे पनि सोधेका थिए । उनले गम्भीर भएर काम गरेमा धेरै गर्न सक्ने बताए । उनले कर्मचारीतन्त्रमा भइरहेका ढिलासुस्ती, भ्रष्टाचार नियन्त्रण भएमा मात्रै काम प्रगति देखिने पनि बताए । ‘उपलब्धि किन भएन भने त मैले ब्युरोक्रेसीलाई सोध्ने हो,’ उनले भने, ‘योजना क्षेत्रमा कति काम भयो त ? ’ उनले युवा जमातलाई सन्तुष्ट बनाउने सक्ने गरी काम गर्नु पर्ने बताए ।
बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक मामिला सल्लाहकार डा. युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल र सचिवहरू, मातहतका कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।