: नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रको विकास र समृद्धिको यात्रामा पार्टीले जनता र राष्ट्रको हितका पक्षमा काम गर्दै आएको बताएका छन्। शुक्रबार पार्टीको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले विकास र समृद्धिको यात्राको नेतृ्त्वमा नेकपा एमाले सदैव अगाडि रहने बताए।
उनले राष्ट्रलाई संकटबाट माथि उठाउन संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमाले एक ठाउँमा आएको बताए। उनले सरकार मुलुकमा राजनीतिक स्थायीत्वको आधार तयार गर्दै विकास र समृद्धिको बाटो तय गरेर अगाडि बढिरहेको बेला अनेक षडयन्त्र भइरहेको आरोप लगाए।
'राष्ट्रलाई संकटबाट माथि उठाउने अठोटका साथ दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर मुलुकलाई संकटबाट निकाल्ने र मुलुकमा राजनीतिक स्थायीत्वको आधार तयार गर्दै विकास र समृद्धिको बाटो तय गने उद्देश्यका अगाडि बढिरहेको बेला यो प्रयासलाई असफल बनाउने उद्देश्यका साथ नेपाली राजनीतिमा भ्रम र षडयन्त्रको प्रयास भइहेको छ,'उनले भने,' यसलाई चिरेर मुलुकलाई विकासको यात्रामा बढाउनका लागि जागरण सभा गरिएको हो।
उनले मुलुकलाई सही दिशामा लैजान हरेक यात्रामा एमालेले पहलकदमी गर्दै आएको बताए। तैपनि पार्टीका विरुद्ध चौतर्फी घेराबन्दी आक्रमण भइरहेको उनको भनाइ छ। महासचिव पोखरेलले महाकाली सन्धीलाई अगाडि बढाउन खोज्दा पार्टीलाई बदनाम मात्रै गर्न खोजिएन विभाजन गर्ने प्रयास समेत भएको जिकिर गरे। उनले भने,' अहिले पार्टीलाई समाप्त पार्नका लागि अनेक प्रपञ्च गरिएका छन्। कहिले महाकाली सन्धीका नाममा यो पार्टीलाई विभाजित गर्न दुष्कर्म गर्न खोजियो। महाकाली सन्धी नेपालको राष्ट्रिय हितका विपक्षा थियो भने उहिल्यै खारेज भइसक्या हुन्थ्यो। महाकाली सन्धीलाई अगाडि बढाउन खोज्दा पार्टीलाई बदनाम मात्रै गर्न खोजिएन विभाजन गर्ने प्रयास भयो।'
विभिन्न नाममा राष्ट्रलाई भ्रममा पार्ने षडयन्त्रका विरुद्ध एमालले जागरण सभा आयोजना गरेको उनले बताए। सहकारी छानबिनमा व्यक्ति केन्द्रित नभएर घटना केन्द्रित भएर छानबिन गरौँ भन्ने दल एमाले भएको स्मरण गराउँदै उनले व्यक्ति केन्द्रित भएर अनुसन्धान गरौँ भन्ने रवि लामिछाने अहिले आफैँ अनुसन्धानको दायरामा रहेको बताए ।
त्यसको दोष समेत अहिले एमाले माथि लगाउने काम भइरहेको पोखरेलले सुनाए । एमालेले रेलका कुरा गर्दा कागजको रेल बनाएर उडाउने काम गरिएको बताउँदै उनले चीनले र भारतले नेपालमा रेललाई विस्तारको लागि चासो दिएको स्मरण गराए।
उनले नेकपा एमाले जनता र राष्ट्रको हृदयमा रहेको बताए।