कीर्तिपुर । ‘ल है नमस्कार !’ डा. सुरेन्द्र मानन्धरको थेगो बनिसक्यो, यो वाक्य ।
सोमबार कीर्तिपुर नगरपालिकाको वडा नम्बर १, २ र ३ मा घरदैलो गरेका सुरेन्द्रले अधिकांश स्थानीयसँग अभिवादनसहित संवाद सुरु गर्छन् ।
चुनावी प्रचारप्रसारको गतिविधि नियालिरहेका ढाल्पाका ६७ वर्षीय बुद्धिबहादुर महर्जन मेयरका अधिकांश उम्मेदवार स्थानीय समस्यासँग जानकार रहेको बताउँछन् । कीर्तिपुरमा खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता समस्या परिपूर्ति नभएको भन्दै उनले समस्याका पोका फुकाउन थाले ।
कुनै पनि काम गर्नका लागि पैसा चाहिने भएकाले स्थानीय तहको नेतृत्वले संघीय सरकारसँग कुरा गर्न सक्नुपर्ने उनको बुझाइ छ । ‘योजनाका लागि पैसा चाहियो, पैसाका लागि संघीय सरकारसँग राम्रो सम्बन्ध हुनुपर्छ । सुरेन्द्रको यो प्लस प्वाइन्ट छ,’ बुद्धिबहादुरले मेयर उम्मेदवार सुरेन्द्रको प्रशंसा गरे ।
जागरुक कार्यकर्ता, उत्साही मतदाता
कीर्तिपुर–३ स्थित ढल्पा चोकमा सोमबार बिहान साढे सात नबज्दै नेता/कार्यकर्ता जम्मा भएका थिए । बिहानैबाट सुरु घरदैलो बिहान ११ बजेसम्म चल्यो । सुरेन्द्र अघि–अघि मतदाता भेट्दै हिंडिरहँदा पछि–पछि नेता/कार्यकर्ताले पछ्याइरहेका थिए । कोही गीत बजाउँदै, कोही नारा लगाउँदै मत मागिरहेका देखिन्थे ।
अधिकांशको नारा एउटै थियो, ‘वल वल, डा. सुरेन्द्र वल ।’
दुई वटा स्पिकरमा गीत बजिरहेको थियो– ‘वृद्ध भत्ता घरघरमै पठाउने, युवाहरूलाई स्वदेशमै खटाउने । समृद्धिको नक्सा कोर्ने कलम एमालेको, दीन–दुःखीको पीडामा नि मल्हम एमालेको ।’
मठमन्दिर, पार्टीपौवाका साथै नेवारी संस्कृतिले भरिपूर्ण नगर हो कीर्तिपुर । ठाउँ–ठाउँमा ठूला ठूला पोखरी र चौतारा भेटिन्छन् । उम्मेदवारहरू यिनै सांस्कृतिक धरोहर पुगेर आसपासका नागरिकसँग संवाद गर्नुका साथै मतदाताको घरघरमा पनि पुगिरहेका छन् ।
एमालेबाट मेयरका प्रत्यासी सुरेन्द्र जब मन्दिरको छेवैमा पुगेर अल्मलिन्थे, तत्काल मन्दिर दाहिने पारेर हिंड्न कार्यकर्ताहरू अघि सर्थे । यसो गर्दा शुभ हुन्छ भन्ने उनीहरूको विश्वास रहेछ ।
कीर्तिपुरबासीको साझा चिन्ताको विषय पूरानो संस्कृति र सांस्कृतिक धरोहरको जर्गेना पनि हो । स्थानीय निरोज तण्डुकार कीर्तिपुरको पहिचान कायम राख्दै समग्र नगरको विकासका लागि जनप्रतिनिधिहरूले काम गर्नुपर्ने बताउँछन् ।
यी कामप्रति लगाव र प्रतिबद्धता देखाउने उम्मेदवारलाई मत दिने उनीहरूको मनसाय देखिन्छ । ‘कीर्तिपुरको पहिचान भनेकै यहाँको सांस्कृतिक पक्ष हो । यसको जर्गेना हाम्रो प्राथमिकता हो । जसले अर्को हजारौं वर्ष कीर्तिपुर आफ्नो पहिचानसहित रहिरहन सकोस्,’ स्थानीय निरोज तन्डुकारले भने ।
तन्डुकारका अनुसार कीर्तिपुरमा परम्परादेखि चल्दै आएका गथांमुगः गथुप्याखः इन्द्रायणीजात्रा, गाइजात्रा, दशैं र तिहार जस्ता चाडपर्व छन् । प्रसिद्ध बाघभैरव मन्दिर र टौ दहलाई समेत जोडेर पर्यटक भित्र्याउन सकिने र स्थानीय चाडपर्व, संस्कृति र सांस्कृतिक धरोहरको जगेर्ना गरेरै समृद्ध नगर बनाउन सकिने उनको विश्वास छ ।
पूर्वाधारको दूरावस्था
कीर्तिपुर–३ निवासी बिन्दु महर्जन खानेपानीकै चरम अभाव रहेको गुनासो गर्छिन् । ‘मेलम्चीको पानी आउँदा हप्तामा एक दिन धारामा पानी पाइन्छ’ उनी भन्छिन्, ‘नभए त्यही पनि पाइँदैन ।’
पानीको मुहान व्यवस्थित गर्न अग्रसरता लिने व्यक्ति नभएर यस्तो समस्या भएको उनलाई लाग्छ । ‘सिम छ, दूधपोखरी छ । पानीको दीर्घकालीन समाधान खोज्न सकिने अवस्था छ । तर, काम हुन सकेको छैन’ महर्जनले सुनाइन् । उनी अब यसमा पहल लिने उम्मेदवारले जित्नुपर्छ भन्छिन् ।
उनको नजरमा कीर्तिपुरको अर्को ठूलो समस्या फोहोर व्यवस्थापन हो । उनी थप्छिन्, ‘फोहोर व्यवस्थापन गर्न महिनाको पाँच सय तिर्नुपर्छ, तै पनि समयमा आउँदैन ।’
कीर्तिपुरमा निजी क्षेत्रबाट फोहोर संकलनको काम भइराखेको छ । निजी कम्पनीले स्थानीयसँग शुल्क लिएर फोहोर संकलन गर्छ । ‘फोहोर संकलन गर्ने दायित्व नगरपालिकाको भएकाले उसैले जिम्मेवारी लिनुपर्छ,’ उनी भन्छिन् ।
कीर्तिपुरवासीले निशुल्क फोहोर संकलन गर्न नगरपालिकालाई आग्रह गर्दै आएका छन् । घरदैलोकै क्रममा मेयर प्रत्यासीहरूसँग उनीहरूले यस्तै प्रतिबद्धता खोजिरहेका छन् ।
सडकको खाल्डाखुल्डीले कीर्तिपुरवासीलाई बेस्करी बिथोलिरहेको छ । स्थानीय निरोज तन्डुकार थप्छन्, ‘अबको मेयरले सडक पूर्वाधारमै पनि काम गर्नुपर्नेछ ।’
शैक्षिक गुणस्तर सुधार स्थानीय तहको अर्को एजेन्डा हुनुपर्ने तन्डुकार बताउँछन् । ‘सरकारी स्कुलहरूमा विद्यार्थी कम छन्’ उनी भन्छन्, ‘स्थानीय कला, संस्कृति र भाषा सिकाउँदै विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन नगरको लक्ष्य हुनुपर्छ ।’
नेपालको पहिलो र ठूलो त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नगरपालिकामै छ । ‘त्रिभुवन विश्वविद्यालय रहेको नगरमै शिक्षाको गुणस्तरमा प्रश्न उठिरहेको छ । यस्तो किन भएको ?’ हाम्रो प्रश्नमा तन्डुकारले घोत्लिएर भने, ‘सायद नीतिगत रूपमै सम्बोधन गर्नुपर्ने हुनसक्छ । स्थानीय सरकारले अधिकार प्रयोग गर्न पाएको छैन । संघीय सरकारले ध्यान पुर्याएको देखिएन ।’
निराशा घटाउने प्रतिबद्धता
मेयरका उम्मेदवार डा. मानन्धर कीर्तिपुरका जनतामा अन्यत्र जस्तै निराशा रहेको स्वीकार गरे । निराशाको प्रमुख कारण रोजगारसँग जोडिएको उनलाई लाग्छ ।
डा. मानन्धर भन्छन्, ‘पढेलेखेका युवाहरू रोजगारीसँग जोडिन नसकेको कारणले राज्यप्रति नै फ्रस्ट्रेसन जस्तो अवस्था देखा परेको छ ।’ युवाहरूलाई प्रावधिक तालिम दिने, महिलाहरूलाई सिपमुलक तालिमहरू दिने र आर्थिक उर्जानसँग जोड्दा निराशा घट्ने उनको बुझाई छ ।
उनले घरदैलोमा नगरपालिकाभित्र उत्पादित सबै वस्तुहरुको बजारीकरणको जिम्मा नगरपालिकाले लिने बताउन छाड्दैनन् । संघीय सरकारले प्रावधिक तालिम केन्द्र बनाएजस्तै कीर्तिपुरमा प्रावधिक शिक्षालय स्थपना गर्ने उनको प्रतिबद्धता छ । उनी भन्छन्, ‘त्यहाका जनशक्तिको व्यवस्थपनको जिम्मेवारी पनि स्थानीय सरकारले लिन्छ ।’
कीर्तिपुरमो कला, सम्पदा, संस्कृतिको जगेर्ना गर्दै त्यसलाई समेत आर्थिक उपार्जनसँग जोड्ने उनको योजना छ । उनी भन्छन्, ‘शिल्पसिद्ध हातहरू अब युवामा सर्नेछ । जो हस्तकलासँग सम्बन्धित छ ।’
खानेपानीको समस्या, सडक पूर्वाधार अदिका कारणले समेत नागरिकमा निराशा रहेको उल्लेख गर्दै उनी यी समस्याको दिर्घकालीन समाधान खोजिने बताउँछन् ।
नगरपालिकाको सहकारी विभागलाई नयाँ ढंगले लाने र समस्या अनुसार सहकारीको वर्गीकरण गरेर तीन वटै तहको सरकारसँग मिलेर समस्या समाधान गर्ने उनको योजना छ ।
२०४३ देखि राजनीतिमा सक्रिय मानन्धर कीर्तिपुरका रैथाने हुन् । २०५७ का बीएलमा नेपाल टप गरेका मानन्धरले कानुनमा एलएलएम गरेका छन् । २०७० सालदेखि कानुन व्यवसाय र प्राध्यापन छाडेर राजनीतिक दौडमा लागेको भएपनि उनले जनप्रतिनिधिको भूमिका पाएका छैनन् ।
२०७० सालमा संविधानसभाको सदस्यका लागि प्रत्यासी उनी निकटतम प्रतिस्पर्धी भए । माओवादी केन्द्रबाट उम्मेदवार रहेका पुष्पकमल दाहाल प्रचण्ड तेस्रो हुँदा नेकपा एमालेका उम्मेदवार रहेका सुरेन्द्र दोस्रो भए । चुनावी परिणाम भने नेपाली कांग्रेसका राजन केसीको पक्षमा गयो ।
२०७४ र २०७९ सालमा सोही क्षेत्रबाट मानन्धर प्रतिनिधि सभा सदस्यको आकांक्षी बने पनि टिकट हात पार्न सकेनन् । मंसिर १६ गतेको उपनिर्वाचनले उनलाई कीर्तिपुरको मेयरको उम्मेदवार बनाएको छ ।
संविधान सभाको सदस्य भएर संविधान लेख्नमा प्रत्यक्ष भूमिका खेल्न नपाएता पनि संविधानतः स्थानीय सरकारको अधिकार प्राप्तिका लागि लड्ने डा. सुरेन्द्रको प्रतिबद्धता छ ।
उनी भन्छन्, ‘खासगरी संघीय सरकार, प्रदेश र स्थानीय सरकारलाई अधिकार दिन तयार नभएको जस्तो मनोविज्ञान पाइरहेका छौं । यसलाई नचिरी हुँदैन । अन्यथा, राजनीतिप्रति वितृष्णा, दलहरुप्रति उदासिनता जुन खालको निराशा वा आक्रोश देखा परेको छ यो अझ बढ्न सक्छ ।’
संविधान आनुसार तीन वटै तहको सरकारलाई बलियो ढंगले अगाडि बढाउन आवश्यक रहेको भन्दै उनी थप्छन्, ‘स्थानीय सरकारको अधिकार जे हो त्यो अधिकार प्राप्तीका लागि जे गर्नुपर्ने हो त्यो काम म गर्नेछु ।’
२०७९ साल वैशाखको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको गत साउन ११ गते निधन भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । २०७९ मा निर्वाचित सरकारको आधाभन्दा समय व्यतीत भइसकेकाले अब निर्वाचित हुने मेयरले करिब अढाई वर्ष स्थानीय सरकार सञ्चालन गर्न पाउनेछन् ।
डा. सुरेन्द्रलाई चुनाव जित्न २०७९ वैशाखको चुनावमा एमालेले पाएको मत बढाउन मिहिनेत गर्नुपर्नेछ । त्यसबेला कांग्रेसका राजकुमार नकर्मी ९०४३ मत ल्याएर विजयी हुँदा एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत मात्र पाए । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका शिवशरण महर्जनले ४०९० मत ल्याएका थिए ।