। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा कोष उपलब्ध गराउने सेवाको दायरा विस्तार गर्ने घोषणा गरेका छन् ।
सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कोषको उपचार सेवा विस्तार गर्ने घोषणा गरेका हुन् ।
कोषले योगदानकर्ता अस्पतालमा भर्ना भई उपचार गर्दा हाल १ लाख रुपैयाँ उपचार सुविधा उपलब्ध गराउँदै आएको छ । अब भने १० लाख रुपैयासम्मको उपचारमा ५० प्रतिशत कोषले बेहोर्ने छ ।
अहिले औपचारिक योगदानकर्ताको श्रीमान् र श्रीमतीमा रहेको स्वास्थ्य उपचार सेवा अब योगदानकर्ताका १८ वर्ष सम्मका छोराछोरीमा समेत विस्तार भएको छ । कोषले आफ्नो योगदानकर्ताका लागि विभिन्न सुविधा दिँदै आएको छ । त्यसमध्ये प्रधानमन्त्री ओलीले दुई सुविधा घोषणा गरेका हुन् ।
कोषको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म १९ हजार ७६९ रोजगारदाता सामाजिक सुरक्षा कोषमा सूचिकृत छन् । वैदेशिक रोजगारीमा गएका समेत १७ लाख ९७ हजार ६४० श्रमिक कोषमा आवद्ध छन् । कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान भइसकेको छ ।