मुख्य समाचार
अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ
अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ

— अमेरिकाको भर्जिनियास्थित च्यान्टिलीमा भएको कार दुर्घटनामा दुई नेपाली युवाको ज्यान गएको छ । कमाउनका लागि ११ महिनाअघि अवैध बाटो हुँदै अमेरिका पुगेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेश केसी र पढाइका लागि छात्रवृत्ति पाएर अमेरिका पुगेका बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको हो ।



उनीहरूसँगै कारमा सवार अर्का एक युवक घाइते छन् । उनको भने पहिचान खुलिसकेको छैन । कार चालक विजय तामाङलाई भने सामान्य चोट मात्र लागेको त्यहाँको प्रहरीले बताएको छ ।


स्थानीय समयअनुसार बिहीबार राति १२:३० बजे भएको कार दुर्घटनापछि प्रहरीले ३० वर्षीय चालक तामाङलाई हिरासतमा लिएको छ । न्युयोर्कबाट प्रकाशित हुने नेप्योर्क अनलाइनका अनुसार प्रहरीले विजयलाई मद्यपान गरी सवारी चलाउँदा दुई जनाको ज्यान गएको अभियोगमा हिरासतमा लिएर मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।दुर्घटनामा मृत्यु भएको खबर प्राप्त भएसँगै सुरेश र विवेकको परिवार शोकमा डुबेको छ । अवैध बाटो हुँदै अमेरिका पुगेका आठबिसकोट नगरपालिका–७ औली गाउँका सुरेशको घरमा भेला भएका आफन्तजन बोल्न सकिरहेका छैनन् ।
अमेरिका जान भनेर २०७९ फागुन १८ मा घरबाट हिँडेका सुरेश २०८० पुस २० मा पुगेका थिए । बुबा हरिबहादुर खत्रीका अनुसार त्यहाँ पुगेर सुरेश रेस्टुरेन्टमा काम गर्थे । सधैंझैं कामबाट डेरामा फर्कने बेला कार दुर्घटना हुँदा सुरेशसहित बर्दिया मधुवनका २२ वर्षीय विवेक सुवेदीको ज्यान गएको जानकारी उनले पाएका थिए ।


उता, बर्दियामा विवेकको मृत्युको खबर पाउनासाथ मूर्छित आमा कुसुम सुवेदी अझै पूर्ण रूपमा होसमा आउन सकेकी छैनन् । बर्दिया मधुवनको कुसुम्बा बजारमा सामान्य पान पसल सञ्चालन गरेका यमप्रसादले उच्च शिक्षाका लागि एक्ला छोरा विवेकलाई अमेरिका पठाएका थिए । गेरुवा गाउँपालिका मनाउस्थित घरमा ०५७ कात्तिक १७ मा अढाई वर्षीया छोरी रेवतीको घरनजिकै कुलोमा डुबेर मृत्यु भएको घटनापछि बसाइँ सरेका सुवेदी परिवार हाल मधुवन नगरपालिका–८ गाउँ नम्बर १ मा बसोबास गर्दै आएको छ ।

रुकुमका सुरेश करिब ८० लाख रुपैयाँ दलाललाई बुझाएर तल्लो बाटो (विभिन्न देश हुँदै स्थल र जलमार्गबाट) अमेरिका पुगेका थिए । यसबीच उनले ११ महिनामा करिब १४ लाख रुपैयाँ घरमा पठाएको बाबु हरिबहादुरले बताए । ‘३ देखि ५ प्रतिशत ब्याजमा ऋण काढेर छोरालाई अमेरिका पठाएँ, कमाइरहेकै थियो, एक दिन ऋण तिरेर सकिएला र फेरि बचत होला भन्ने सोचेका थियौं,’ भक्कानिँदै उनले भने, ‘घटना हुनु दुई दिनअघि छोरासँग कुरा भएको थियो, त्यही नै अन्तिम सम्पर्क भयो ।’



पछिल्लोपल्ट कुरा हुँदा छोराले केही दिनमा तलब आउँछ अनि पठाउँछु भनेको सुरेशकी आमा रामकुमारी खत्रीले सुनाइन् । ‘८० लाख ऋणको ब्याजसहित तिर्नुपर्ने रकम करोड नाघेको छ, अहिलेसम्म थोरै मात्र तिरेका छौं,’ छोराको मृत्युको खबर पाएदेखि मुखमा अन्नपानी नहालेकी उनले रुँदै भनिन्, ‘लाख पनि मुस्किलले देखेका हाम्रा थाप्लामा करोडको ऋण आइलाग्यो । कमाउने मान्छेसमेत गुमायौं ।’ सुरेशको परिवारमा आमा, बुबा, तीन बहिनी र ३ वर्षका एक भाइ छन् । अमेरिकामा रहेका सुरेशका साथी सरेश गौतमले त्यहाँको प्रहरीले घटनाबारे छानबिन गरिरहेको जानकारी गराउँदै अहिलेसम्म शव अस्पतालमै रहेको बताए । ‘शुक्रबारसम्म अन्त्येष्टिका लागि शव दिने भनिएको छ, त्यसपछि हामी दाहसंस्कार गर्ने प्रक्रियामा लाग्छौं,’ उनले भने ।

सुरेशका फुपाजु तप्तबहादुर बटालाले उता दाहसंस्कारको काम अघि बढेपछि यता कुशको शव बनाएर विधिपूर्वक अन्त्येष्टि गर्ने सल्लाह भएको बताए । अकल्पनीय शोक र करोडको ऋणमा डुबेको पीडित परिवारलाई सहयोगको खाँचो रहेको छिमेकी दीपक केसीले बताए । ‘एक–दुई हजारले समस्या टर्ने देखिन्न, ठूलो मात्रामा सहयोगको खाँचो छ,’ उनले भने, ‘देशविदेशमा रहेका साथीभाइ र आफन्तबाट सहयोग हुने अपेक्षा गरेका छौं ।’

केही वर्षयता रुकुमका विभिन्न गाउँबाट युवालाई मानव तस्करले अमेरिका पुर्‍याउने गरेका छन् । त्यहाँ पुगेपछि काम नपाउनेदेखि अपेक्षित कमाइ नभएर मानसिक तनाव व्यहोरेका र विभिन्न दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या बर्सेनि थपिँदै गएको छ । तर पनि अमेरिका जानेको संख्या दिननानुदिन बढिरहेको छ । आफ्नो टोलबाट मात्र १४ युवा अवैध बाटो भएर अमेरिका गएको केसीले बताए । ‘एकपछि अर्को गर्दै अमेरिका जाने लहर चलेको छ, गएकामध्ये केहीले वर्षौंपछि ऋण तिर्न भ्याएका छन् । कमाइ गरेर घरपरिवारको सुख त धेरै परको कुरा भयो, अमेरिका भन्नु मात्रै रहेछ ।’

छोराको दुर्घटनामा मृत्यु भएको खबर सुनेयता बर्दियामा कुसुम बेलाबेला अचेत छन् । ‘बिहीबार छोराले फोनमा सञ्चै छु, खाना खान जाँदै छु भनेको थियो,’ बुबा यमप्रसादले भने, ‘त्यसपछि कुरै हुन पाएन, त्यहीँ कुराकानी नै अन्तिम भयो ।’ एक मात्र छोरा पनि गुमाएपछि सन्तानविहीन भएको पीडा सहन नसकेर यमप्रसाद र कुसुम भक्कानो छाडेर रोइरहन्छन् । विवेकको मृत्युले गाउँ शोकमग्न भएको आफन्त विष्णु गौतमले बताए । पढाइमा निकै जेहेन्दार विवेक छात्रवृत्ति पाएर गत वर्ष असोज ४ मा अमेरिका गएका थिए । त्यहाँस्थित वासिङ्टन युनिभर्सिटीमा कम्प्युटर साइन्स विषयमा स्नातकोत्तर प्रथम वर्षमा अध्ययन गरिरहेका थिए ।

‘छोराले फुर्सदको समयमा एउटा रेस्टुरेन्टमा काम गर्दै आएको बल्ल मात्र थाहा पाएँ,’ यमप्रसादले भने, ‘पढाइ सकेर घर आउने कुरा हुन्थ्यो, अब सबै सपना चकनाचुर भयो । अन्तिम पटक छोराको मुख हेर्न पाए हुन्थ्यो । छोराको दाहसंस्कार गर्न अमेरिका जाने अवस्था नभएकाले सरकारले शव यहाँ ल्याउने व्यवस्था गरिदिए हुन्थ्यो ।’

दुर्घटनाको खबर शुक्रबार राति थाहा पाए पनि त्यसबाहेक केही बुझ्न नसकेको उनले बताए । ‘कारको पछाडि सिटमा बसेका छोरा विवेक र रुकुमका एक जनाको ज्यान गएको खबर पाएको छु । कारको अगाडि बसेका व्यक्ति सुरक्षित रहेको सुन्नमा आएको छ,’ उनले भने, ‘आफू सम्हालिने कि श्रीमती सम्हाल्ने ? कि छोरालाई के कसो भएको हो बुझ्ने ? केही भेउ पाउन सकेको छैन ।’

सुवेदीले छोरालाई अमेरिका पठाउन ३० लाख जति खर्च भएको बताए । अध्ययनमा निकै अब्बल विवेकले नेपालगन्जस्थित पब्लिक मार्डेन निजी आवासीय विद्यालयबाट कक्षा १२ सम्म पढेका थिए । उनी त्यहाँका सर्वोत्कृट विद्यार्थी भएका कारण उक्त विद्यालयले अध्ययनका लागि काठमाडौं जाने बेलामा १५ हजार पुरस्कारसमेत दिएको थियो । काठमाडौंमा स्नातक सकेर उनी अमेरिका गएका थिए । विवेकलाई गुमाउँदा गाउँमा चार दिनदेखि सन्नाटा छाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भारत उत्तराखण्डको उत्तरकाशी जिल्लाको हर्षिल क्षेत्रको धरालीमा दुई साताअघि आएको बाढीमा बेपत्ता भएका नेपालीहरूका आफन्त घर फर्किन थालेका छन् । दुई सातासम्म खोजी गर्दा पनि बेपत्ता भएकाहरू नभेटिएपछि आफन्त घर फर्किन थालेका हुन् । आफन्तहरू धरालीबाट एक दिन पैदल हिँडेरै उत्तरकाशीसम्म र त्यहाँबाट बसमा आउने तयारीसहित हिँडेका हुन् । ‘दुई सातासम्म बगरमा डुल्दा–डुल्दा केही भेटिएन, ...
। अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको छ । अमेरिकाको संघीय पुनरावेदन अदालतले ट्रम्प प्रशासनको पक्षमा निर्णय गरेपछि टीपीएस सुविधा खारेज गर्ने निर्णय कार्यान्वयनको बाटो खुलेको हो । यससँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै आएका करिब ७ हजार नेपाली स्वदेश फर्किनैपर्ने भएको छ । नेपालमा सन् २०१५ मा आएको ...
: संयुक्त राज्य अमेरिकाका इजरायलस्थित राजदूत माइक हकाबीले बिपिन जोशीका आमा र बहिनीसँग भेटवार्ता गरेका छन्। राजदूत हकाबीले जोशी परिवारप्रति ऐक्यबद्धता जनाउँदै अपहरित सबै बन्दीहरूको तत्काल रिहाइको लागि दबाब बढाउनुपर्ने बताए। 'हमासको कब्जामा रहेका प्रत्येक बन्दीलाई तुरुन्त मुक्त गराउन हाम्रो पनि माग छ। हामीले निरन्तर यसप्रति दबाब दिँदै आएका छौं,' भेटका क्रममा उनले भने। कृषि अध्ययनका ...
: वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन्। गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो। राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ...
। दक्षिण कोरियामा कोमा रहेका उदयपुरको चौदण्डीगढी-५ बेल्हा निवासी कमल चौधरीको निधन भएको छ । विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमामा अचेत अवस्थामा रहेका चौधरीको निधन भएको हो । एकाएक ढलेपछि अस्पताल पुर्‍याइएका उनी अचेत अवस्थामै थिए । उपचारकै क्रममा उनको निधन भएको कोरियमा रहेका उनका सालो पुरूषोत्तम चौधरीले जानकारी दिए । कमल चौधरी कसरी र ...