मुख्य समाचार
साउदीमा ज्यान गुमाएका १०९ श्रमिकका परिवारलाई २७ करोड क्षतिपूर्ति
साउदीमा ज्यान गुमाएका १०९ श्रमिकका परिवारलाई २७ करोड क्षतिपूर्ति

— साउदी अरबमा कार्यस्थलमै ज्यान गुमाएका नेपाली कामदारका परिवारले बल्ल क्षतिपूर्ति पाउन थालेका छन् । साउदीको रियादस्थित नेपाली दूतावास र साउदीको सामाजिक सुरक्षा बिमा (गोसी) बीच समन्वय र सहजीकरण भएपछि क्षतिपूर्ति वितरण हुन थालेको हो । गोसीसमक्ष मृतक श्रमिकका तर्फबाट पूरै कागजात पेस नगरिँदा २००२ देखि परिवारले क्षतिपूर्ति पाएका थिएनन् ।



रियादस्थित नेपाली दूतावासका अनुसार साउदीमा मृत्यु भएका मध्ये पछिल्लो एक वर्षमा गोसीबाट १ सय ९ कामदारका हकवालाले करिब २७ करोड रुपैयाँ क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगार बोर्डका अनुसार साउदीमा आर्थिक वर्ष २०६५/६६ यता ३ हजार ७ सय ९३ नेपाली कामदारको मृत्यु भइसकेको छ । तीमध्ये कार्यस्थलमा दुर्घटना भई मृत्यु भएका मध्ये करिब ७ सय जनाका हकवालाले गोसीमार्फत क्षतिपूर्ति पाउन बाँकी थियो । दूतावासले करिब ६ सय कामदारको परिवारलाई क्षतिपूर्ति दिलाउने प्रक्रिया चलिरहेको जनाएको छ ।


साउदी सरकारले कामसँग सम्बन्धित दुर्घटनामा परी घाइते, अंगभंग भएका वा मृतक श्रमिकका परिवारलाई गोसी र ब्लडमनी रकम गरी दुईवटा क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । तर झन्झटिलो र लामो प्रक्रियाका कारण मृत्यु भएका कामदारका परिवारले क्षतिपूर्तिका लागि वर्षौं सघंर्ष गर्नुपर्छ । गोसीबापत पाउने रकम पाउन हकवालाका तर्फबाट कागजात पेस गरेपछि पाइने व्यवस्था छ । ब्लडमनीका लागि भने दूतावासले वकिलमार्फत अदालतमा मुद्दा लड्नुपर्छ ।

तेह्रथुमका दलमर्दन कामीले साउदीमा भाइ अजुदाको मृत्यु भएको १५ वर्षपछि मात्र गोसीको रकम (क्षतिपूर्ति) पाउन सकेको सुनाए । अजुदाको २०६६ पुस २८ मा सवारी दुर्घटनामा परी ज्यान गएको थियो । ‘त्यतिखेर अजुदाको मासिक तलब ८ सय ५० रियाल (१६ हजार रुपैयाँ) थियो । म

आफैंले २ लाख ऋण खोजेर पठाएको थिएँ । ऋण तिरेकै थिएन । त्योभन्दा ठूलो त भाइ नै रहेन,’ दलमर्दनले भने । अजुदाको शव डेढ महिनापछि आइपुगेको थियो । त्यति बेला क्षतिपूर्ति पनि तुरुन्तै हात लाग्छ भन्ने दलमर्दनलाई लागेको थियो ।


‘जे नहुनु थियो, त्यो भयो । साउदीबाट ब्लडमनी र क्षतिपूर्ति आउला, त्यसले ऋण तिरौंला, बचेको पैसाबाट बुबाआमा र बुहारीको जसोतसो जीवन चल्ला भन्ने सोचेको थिएँ,’ उनले भने, ‘कन्सुलर विभागमा सबै कागजातको रीत पुर्‍याएर साउदीमा क्षतिपूर्ति दाबी गरें । हाम्रो परिवारले हार मानिसकेको थियो । मैले त काठमाडौंस्थित साउदी दूतावासमा गएर मुद्दा लड्न जान भिसा मागेको थिएँ ।’ गोसीले १५ वर्षपछि २४ लाख रुपैयाँ पठाइदिएको दलमर्दनले बताए । ‘पाउँदै नपाउनुभन्दा केही पाउनु ठीकै हो । तर यो रकम निकै कम हो,’ उनले भने ।

साउदीको श्रम कानुनअनुसार रोजगारदाताले श्रमिकलाई अनिवार्य रूपमा गोसीमा आबद्ध गराउनुपर्छ । यसरी आबद्ध भएका श्रमिकको प्रत्येक महिनाको तलबबाट दुई प्रतिशतले हुने रकम सामाजिक सुरक्षा बिमाबापत कट्टा गरिएको हुन्छ । मृत्यु भएका श्रमिकको परिवारका हकवालाले गोसीमार्फत ८४ महिना बराबरको तलब वा बढीमा ३ लाख ३० हजार साउदी रियाल प्राप्त गर्ने व्यवस्था छ । त्यस्तो रकम मृतकको हकवाला एक जना मात्र भए ५० प्रतिशत मात्र, दुई जना भए ७५ प्रतिशत मात्र र तीन जना वा सोभन्दा बढी भए सय प्रतिशत रकम दामासाहीले उनीहरूको बैंक खातामा सोझै भुक्तानी गर्नुपर्छ । हकवालामा भने मृतकको पत्नी वा पति, छोरा, अविवाहित छोरी, बुबा–आमा, हजुरबुबा–हजुरआमा, दाजु–भाइ, अविवाहित दिदी–बहिनी, नाति तथा अविवाहित नातिनी पर्छन् ।



साउदीको सडकमा रङ लगाइरहेका बेला रामेछापका २८ वर्षीय विज्ञान लामाको २०७७ चैत २३ मा गाडीको ठक्करबाट मृत्यु भयो । उक्त दुर्घटनामा अरू ३ श्रमिकको पनि घटनास्थलमै ज्यान गएको थियो । विज्ञानकी आमा, श्रीमती र छोराले तीन वर्षपछि गत साउनमा क्षतिपूर्तिबापत २९ लाख ३१ हजार रुपैयाँ पाएका छन् । विज्ञानकी श्रीमती आशा लामाले क्षतिपूर्तिका लागि धेरै हन्डर खानुपरेको सुनाइन् ।

‘हामी गाउँमा बस्नेलाई सहरमा कहाँ कुन अफिस छ, थाहा हुँदैन । कागजात नमिल्दा धेरै दुःख पाएँ । हार मानेर बसिरहेको बेला रामेछाप सम्पर्क समाज, कतारका अध्यक्ष ललित तामाङले प्रक्रिया अगाडि बढाइदिनुभयो, दूतावाससँग समन्वय गरिदिनुभयो,’ आशाले भनिन् । क्षतिपूर्तिको रकम मुद्दती खातामा राखेको र त्यसको ब्याजले घर खर्चमा सहयोग पुगेको उनले बताइन् । ‘हाम्रो त एक रुपैयाँ आउने ठाउँ छैन । मेरा लागि त यो पैसा धेरै हो,’ उनले भनिन् ।

साउदीका लागि कार्यवाहक राजदूत डमरुबल्लभ पौडेलले गोसीको क्षतिपूर्तिका लागि कागजात जुटाउन निकै चुनौतीपूर्ण रहेको बताए । ‘गोसीले मागेजति कागजात पूरै जुटाउनुपर्छ,’ उनले भने, ‘कागजात पूरा नभएसम्म गोसी कार्यालयले हेर्दैन ।’ अहिले गोसी प्रमाणीकरण भएका र नभएका ‘केस’ पहिचान गरिरहेको उनले जानकारी दिए । ‘यसका लागि दूतावासका प्रथम सचिव टीकाराम उपाध्यायले निकै सक्रियपूर्वक कागजात जुटाइरहनुभएको छ,’ उनले भने ।

पौडेलका अनुसार दूतावासले कन्सुलर विभाग र सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गतको आप्रवासन स्रोत केन्द्रमार्फत गाउँगाउँबाट हकवालाको कागजात जुटाइरहेको छ । ‘हामीले दुई दशक अगाडिदेखिका फाइलहरू गोसीमा पेस गरिरहेका छौं । क्षतिपूर्ति पाउने कुनै समयसीमा निर्धारण नगरी गोसीबाट सिधै हकवालाको खातामा क्षतिपूर्ति पठाइरहेको छ । हामी गोसीप्रति आभारी छौं,’ उनले भने, ‘यही रफ्तार अगाडि बढेमा सबै हकवालालाई छिट्टै क्षतिपूर्ति दिलाउन सक्नेछौं ।’

दूतावासका अनुसार साउदीमा १५ वर्षयता कार्यस्थलमा मृत्यु भएका ७ सय कामदारमध्ये कार्यस्थल दुर्घटनामा परेको भनी गोसीबाट प्रमाणीकरण भएका १ सय ६५ जना छन् । गोसीमा कागजात पेस भएर रकम भुक्तानी हुन बाँकी परिवारको संख्या १ सय १५ छ । दुर्घटना दर्ता नगरिएको र क्षतिपूर्तिका लागि दिएको निवेदन अस्वीकृत भई पुनः दर्ता गर्नुपर्ने परिवारको संख्या २ सय ६ छ ।

कार्यस्थल दुर्घटनाको प्रमाणीकरणको प्रक्रियामा रहेका परिवार २५, क्षतिपूर्तिबापत पाएको चेकको म्याद गुज्रेर नयाँ चेक जारी गर्नुपर्ने एक, दुर्घटनाको कारण पहिचान नभएका १७ र आंशिक रकम पाएर बाकी रकम पाउने प्रतीक्षामा रहेका परिवारको संख्या २८ छ । बाँकीको अपुग कागजात जाँच भइरहेको छ ।

साउदीका लागि पूर्वराजदूत सुवेदीले आफ्नो पालामा गोसीमा थन्किएको फाइललाई फेरि व्यवस्थित रूपमा ब्युँताइएको बताए । ‘गोसीमा धेरै समयदेखि फाइल थन्किएका थिए । दूतावासको टिम लिएर गोसीको प्रमुखलाई भेटें । अनि हाम्रा सरोकारमा ध्यानार्षण गराएँ । उहाँले पुराना सबै फाइल हेरिदिने प्रतिबद्धता जनाएपछि प्रक्रिया अघि बढ्यो,’ उनले भने ।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई वैदेशिक रोजगार बोर्डले कल्याणकारी कोषबाट पनि क्षतिपूर्ति दिँदै आएको छ । साउदीमा कार्यस्थल दुर्घटनामा परेका श्रमिकबाहेकका परिवारलाई क्षतिपूर्ति दिने कानुनी व्यवस्था छैन । साउदीमा मृत्यु भएका नेपाली कामदारमध्ये करिब २० प्रतिशत मात्र गोसीको क्षतिपूर्तिका लागि समेटिने गरेका छन् । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले भने रोजगारी क्रममा जुनसुकै कारणले मृत्यु भए पनि क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएका छन् । श्रमिकहरूको २४ घण्टा नै बिमा हुनुपर्ने उनीहरूको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...