: दक्षिणी रोल्पाको चुन ढुंगा उत्खनन कार्यलाई स्थानीयले मंगलबारदेखि रोक लगाएका छन्। त्रिवेणी गाउँपालिका–३ को रानागाउँमा सिमेन्ट उद्योगका लागि चुन ढुंगा निकाल्ने कार्यलाई स्थानीय र संघर्ष समितिले रोक लगाएका हुन्।
सम्झौताविपरीत खानी सञ्चालन गरिएको भन्दै गाउँलेले खानी स्थलमै गएर डोजर र ढुवानीका साधन सञ्चालन हुन नदिएका हुन्। खानी सञ्चालन भएपछि स्थानीय र आसपासको क्षेत्रलाई पीडित बनाएको गाउँलेको आरोप छ। ‘खानी सञ्चालन गर्दा स्थानीयलाई पीडित बनाउने काम भएको छ’, संघर्ष समितिका संयोजक ओमराज घर्तीले भने, ‘नियम विपरीत चुन ढुंगा निकाल्ने काम भएको छ। समस्या समाधानका लागि पटकपटक कम्पनीलाई अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि खानी सञ्चालनमा रोक लगाउनु परेको हो।’
पीडित स्थानीयका मागको खानी सञ्चालकले बेवास्ता गरेको गाउँलेको दाबी छ। रोल्पा चुनढुंगा खानी प्रालिले रानागाउँ खानी सञ्चालन गर्दै आएको थियो। यहाँको चुनढुंगा उत्खनन गरेर दाङ लैजाने गर्छ। दाङमा सञ्चालनमा रहेको सगरमाथा सिमेन्टका लागि चुनढुंगा लैजाने गरेको गाउँले बताउँछन्। २०७४ देखि खानी सञ्चालनमा थियो। बेलाबेला खानी सञ्चालक कम्पनी र स्थानीयबीच विवाद हुँदै आएको थियो।
संघर्ष समितिका अनुसार कम्पनीले खानी क्षेत्र वरिपरिको व्यक्तिका जग्गा जमिन किन्नेगरी गरेको सम्झौता समेत पालना गरिएको छैन। करिब ७० घर रहेका खानी क्षेत्रका घर र जग्गाधनीको बारी किन्ने गरी सम्झौता गरेको भएपनि आधा बढीको जग्गा कम्पनीले किन्न आनाकानी गरिरहेको गाउँलेको आरोप छ।
जग्गा किन्नका लागि बयान स्वरूप स्थानीयलाई थोरैथोरै रकम समेत बुझाएको थियो। १० महिना भित्रमा जग्गा किन्ने शर्तमा बयानका दिइएको भएपनि चार वर्ष बितिसक्दा समेत जग्गा नकिनिदिएको गाउँले बताउँछन्। ‘गाउँको वस्ती नै सबै किन्छौं भनेर थोरै रकम बयान दियो, तर चार वर्ष बितिसक्दा पनि जग्गा किनेको छैन।’, ५८ वर्षीय स्थानीय नोखिराम कामी भन्छन्, ‘सम्झौता बमोजिम जग्गा नलगेपछि चुन ढुंगाको धूलो रोगी बनाईसक्यो। दिनरात खानी उत्खननको डोजरको आवाजले काम बहिरा हुने अवस्था भइसक्यो।’
जग्गा पुरै बिक्री गरेकाहरूले गाउँ छोडिसकेका छन्। जग्गाको बयानमा मात्र बुझेकाले घरबारी छोड्न नसक्दा पीडित हुनु परेको छ। १ लाख बयान बुझेकी ३२ वर्षीय भावना घर्तीले पनि खानीले दुख दिएको पीडा सुनाउँछिन्। ‘उत्खनन भइरहेको क्षेत्रका ५ रोपनी किनिदियो। त्यसको नजिकैको ३० रोपनी जति बारी पनि किन्ने भनेर बयान रकम दियो। अहिलेसम्म किनिदिएको छैन’, भावना भन्छिन्, ‘त्यसै छोडेर कतै जाने पैसापनि छैन। खानी उत्खननको कर्कश आवाज र धूलो गाउँमा बसिसक्नु छैन।’
स्थानीयको पीडा देखेर र रोयल्टी समेत छलि गरिरहेको भन्दै यहाँका गाउँपालिका, राजनीतिक दल समेत आक्रोशित देखिएका छन्। समस्या समाधानका लागि आग्रह गर्दा समेत बेवास्ता गरिएपछि सर्वदलीय संयन्त्रले पनि चिढिएको छ। नियम विपरीत खानी चलाइएको र समस्या समाधान गर्न कम्पनीले आनाकानी गरेकोप्रति त्रिवेणी गाउँपालिकाका सर्वदलीय प्रतिनिधि दुर्योधन रानाले आक्रोश पोख्छन्।
स्थानीय पीडित एवं शिक्षिका जानकी बुढामगरले दिन रात डोजरको ट्वाकट्वाक आवाजले नजिकैका विद्यालयमा पठनपाठन गराउन समेत गाह्रो हुने गरेको सुनाउँछन्। खानी सञ्चालन गर्न पूर्व वातावरणीय प्रभाव मूल्यांकनको कागजात समेत नक्कली खडा गरिएको गाउँलेको आरोप छ।
कम्पनीले स्थानीय गाउँपालिका र संघीय सरकारलाई तिनुपर्ने रोयल्टी समेत ठगी गरेको संघर्ष समितिको आरोप छ। संघर्ष समितिले ९ बुँदे माग राखेर आन्दोलन सुरु गरेको संयोजक ओमराज घर्तीले जानकारी दिए। चुनढुंगा खानी प्रभावित स्थानीयको एकमुस्ट जग्गा खरिद गर्नुपर्ने, खानी तथा भूगर्भ विभागले पटकपटक दिएको निर्देशनको पालना गर्नुपर्ने, खानी सञ्चालन भएयताको चुनढुंगा उत्खननको एकिन गरी राजस्व बुझाउनुपर्ने, आसपासका प्रभावित विद्यालयलाई सहयोग गर्नु पर्ने लगायतका माग छन्।
संघर्ष समितिले वार्ताबाट समस्याको समाधान नभएसम्मका लागि खानी सञ्चालनमा रोक लगाउने जनाएको छ। संघर्ष समितिले सोमबार विज्ञप्ति निकालेर खान सञ्चालन रोक लगाएको जनाएको हो। खानी स्थलमै पत्रकार सम्मेलन समेत गरिएको थियो।