मुख्य समाचार
राष्ट्र बैंकद्वारा निर्देशन संशोधन : भुक्तानीसम्बन्धी सेवाका सब–एजेन्ट खारेज
राष्ट्र बैंकद्वारा निर्देशन संशोधन : भुक्तानीसम्बन्धी सेवाका सब–एजेन्ट खारेज

: सब—एजेन्टमार्फत पनि भुक्तानीसम्बन्धी सेवा प्रवाह गर्दै आएकोमा नेपाल राष्ट्र बैंकले यसलाई खारेज गरेको छ। हाल विभिन्न पसललगायतलाई हजारौंको संख्यामा सब—एजेन्ट बनाएकोलाई खारेज गर्दै त्यसलाई तीन महिनाभित्रमा आधिकारिक प्रतिनिधिमा परिणत गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ।


केन्द्रीय बैंकले बुधबार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८० लाई संशोधन गर्दै बैंक तथा वित्तीय संस्थाबाहेकका भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधिसम्बन्धी व्यवस्था गरेको हो। यससँगै एजेन्ट शब्दलाई ‘आधिकारिक प्रतिनिधि’ को रूपमा परिभाषित गरिएको छ। यसअनुरूप अब एजेन्ट र सब—एजेन्ट दुवै आधिकारिक प्रतिनिधिको रूपमा परिणत हुनुपर्नेछ।

केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी सेवा प्रवाह गर्न नियुक्त गरिएका आधिकारिक प्रतिनिधिको निगरानी गर्ने जिम्मेवारी भुक्तानी सेवा प्रदायक संस्थालाई दिएको छ। हाल सञ्चालनमा २६ वटा भुक्तानी सेवा प्रदायक (पीएसपी) संस्थाहरू छन्। केन्द्रीय बैंकका अनुसार आधिकारिक प्रतिनिधिद्वारा ग्राहकलाई प्रदान गरिने सम्पूर्ण भुक्तानीसम्बन्धी सेवाको अन्तिम जिम्मेवारी भुक्तानी सेवा प्रदायक संस्थालाई नै दिइएको छ। ‘भुक्तानी सेवा प्रदायक संस्थाले आधिकारिक प्रतिनिधिमार्फत भुक्तानीसम्बन्धी सेवा प्रवाह गर्दा आधिकारिक प्रतिनिधि छनोटका लागि सक्षमता परीक्षण गरी दुई पक्षबीच सम्झौता गरेको हुनुपर्नेछ। यसरी सम्झौता गर्दा अन्य भुक्तानी सेवा प्रदायक संस्थाको आधिकारिक प्रतिनिधि भई काम गर्न प्रतिबन्ध लगाउने गरी सर्त राखेर सम्झौता गर्न पाइने छैन,’ जारी निर्देशनमा उल्लेख छ।



यसैक्रममा, भुक्तानी प्रणाली विभागका कामु कार्यकारी निर्देशक किरण पण्डित अब आधिकारिक प्रतिनिधिले सब–एजेन्ट वा कुनै प्रतिनिधि नियुक्त गर्न नपाउने व्यवस्था गरेको बताए। ‘अहिलेसम्म हजारौंको संख्यामा पसललगायतलाई भुक्तानीको सब—एजेन्ट बनाइएको थियो। तर अब यो खारेज गरियो। सबैलाई एकरूपता ल्याउन अब एजेन्ट अर्थात् आधिकारिक प्रतिनिधिको रूपमा भुक्तानी सेवा प्रदायकसँग दर्ता हुनुपर्छ,’ उनले अन्नपूर्णसँग भने, ‘यो निर्देशन जारी (२०८१÷०८÷१८) हुनुअघि भुक्तानी सेवा प्रदायकका आधिकारिक प्रतिनिधिसँग आबद्ध सब—एजेन्ट÷प्रतिनिधिलाई यो व्यवस्था लागू भएको तीन महिनाभित्र भुक्तानी सेवा प्रदायकका आधिकारिक प्रतिनिधिको रूपमा परिणत गरिसक्नु पर्ने वा सम्झौता रद्द गरी यस्तो सेवा बन्द गर्नुपर्नेछ।’

आधिकारिक प्रतिनिधिमा परिणत भएका वा सेवा बन्द भएका सब—एजेन्ट÷प्रतिनिधिको विवरण केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागमा पेस गर्नुपर्नेछ।

भुक्तानी सेवा प्रदायक संस्थाले नियुक्त गरेको प्रतिनिधिले भुक्तानीसम्बन्धी सेवाअन्तर्गत ग्राहकका वालेट वा प्रि–पेड कार्डजस्ता भुक्तानी उपकरणमा नगद जम्मा गर्ने वा भुक्तानी गर्न पाउनेछन्। तर, आफ्नो बैंक खातामा वा भुक्तानी सेवा प्रदायकको बैंक खातामा नगद जम्मा गराई आफ्नो वालेट खर्च गरी बैंक खातामा वा ग्राहकबाहेक अन्य व्यक्तिको वालेट खातामा रकम जम्मा गर्न पाइने छैन। यस्तै, ग्राहकको तर्फबाट खानेपानी, बिजुली, इन्टरनेट, मोबाइल रिचार्जजस्ता सेवाबापतको बिल भुक्तानी एवं सरकारी सेवाबापतको शुल्क वा कर भुक्तानीको लागि सहजीकरण गर्न सक्नेछन्। ग्राहकको वालेटको मौज्दात तथा कारोबारको विवरण प्रदान गरी प्रचलित कानुनको पालना गरी सुरक्षित तवरले विद्युतीय ग्राहक विवरण इलेक्ट्रोनिक केवाईसी लिने तथा उक्त विवरण अध्यावधिक गर्ने र रिमोट अनबोर्डिङ गरी ग्राहकको वालेट खाता खोलिदिने गर्न पाउँछन्। ती प्रतिनिधिले केन्द्रीय बैंकले समय समयमा निर्देशन दिएका अन्य सेवाहरू प्रदान गर्ने र यस्तो सेवा प्रदान गर्दा अनिवार्यरूपमा वालेट खाताको प्रयोग गर्नुपर्नेछ। आधिकारिक प्रतिनिधिले आफ्नो वालेटमा रकम जम्मा गर्दा अनिवार्य रूपमा बैंक खाताको प्रयोग गर्नुपर्ने छ।

‘आधिकारिक प्रतिनिधि’ भन्नाले राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र प्राप्त संस्थाले नियुक्त गरेको आधिकारिक प्रतिनिधि हो। साथै, यस निर्देशनको प्रयोजनका लागि ‘ग्राहक’ भन्नाले भुक्तानी सेवा प्रदायक संस्थाले जारी गरेका वालेट तथा प्रिपेड कार्ड प्रयोग गर्ने व्यक्ति तथा संस्था हुन्। तोकिएका सेवा प्रदान गर्दा सेवाग्राहीबाट कुनै पनि अतिरिक्त शुल्क लिन पाइने छैन। आधिकारिक प्रतिनिधिको लागि भुक्तानी सेवा प्रदायक संस्थाले तालिम तथा सचेतना अभिवृद्धिका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— विश्व व्यापार स‌ंगठनले सन् २०२६ मा विश्वको वस्तु व्यापार वृद्धिदर घटेर १.९ प्रतिशतमा खुम्‍चिने प्रक्षेपण गरेको छ । संगठनले बिहीबार सार्वजनिक गरेको 'ग्लोबल ट्रेड आउटलुक एन्ड स्टाटिक्स' ले विश्व बजारमा ऊर्जाको मूल्यमा आउने उत्तारचढाव बाहेकको आधारभूत वृद्धि दर प्रक्षेपण गरेको हो । सन् २०२५ मा ४.६ प्रतिशत रहेको विश्वव्यापी वस्तु व्यापार वृद्धि दर सन् २०२६ ...
। मध्यपूर्व तनाव (इरान र इजरायल युद्ध) को बाछिटा नेपालमा पनि देखिन थालेका छन् । आयातमा आधारित अर्थतन्त्र त्यसमा पनि पेट्रोलियम पदार्थको हिस्सा करिब १७ प्रतिशत भएकाले मुद्रास्फीति तथा आपूर्ति शृङ्खला प्रभावित हुने जोखिम देखिएको हो । नेपालको कुल आयातमध्ये करिब १७ प्रतिशत पेट्रोलियम पदार्थको छ । कुल आयातको करिब ६५ प्रतिशत हिस्सा भारतबाट हुने गर्छ ...
। यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२/८३ को हालसम्ममा रु ४८ करोड १९ लाख ५१ हजार राजस्व संकलन गरेको छ । विभिन्न शीर्षकबाट सो राजस्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालयका प्रमुख भुवन जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी सवारीसाधनको करबाट रु ३७ करोड ८३ लाख र सबैभन्दा कम व्यावसायिक रजिष्ट्रेसन दस्तुरबाट रु ...
— रूपन्देही प्रशासनले उपभोक्ताको बढी गुनासो आउने गरेको बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र सैनामैना नगरपालिका क्षेत्रमा सरोकारवाला निकायहरूसहितको सहभागितामा संयुक्त अनुगमनलाई तीव्रता दिएको छ । इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख श्रीनाथ पौडेलले उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो आएपछि संयुक्त अनुगमन कार्यलाई तीव्र पारिएको बताए । उनका अनुसार सोमबारदेखि ग्यास अभावलाई मध्यनजर राख्दै संयुक्त बजार ...
— तरकारी उत्पादनमा प्रविधिको प्रयोग गर्दै आय आर्जन बढाउन सहयोग पुर्‍याउन १० जना कृषकलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ जितपुरद्वारा सहकारीमा आधारित कृषकद्वारा गरिने चकलाबन्दी कार्यक्रमअन्तर्गत मिनिटिलर प्रदान गरिएको हो । कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख राकेश ओझाले बुद्धभूमि नगरपालिका–१० मा रहेको धनकौली कृषि सहकारी संस्थाका अध्यक्ष ...