— प्रहरीले सुनको सिक्री लुटपाटमा संलग्न रहेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ धुनिबेंसी नगरपालिका–२ घर भई नागार्जुन नगरपालिका–४ बस्ने गोरे तामाङ र काठमाडौं महानगरपालिका–१५ विजेश्वरी बस्ने बाबु भन्ने कृष्णप्रसाद श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार नागार्जुन नगरपालिका–६ टोखेल बस्ने ७२ वर्षीया वृद्धाले लगाएको करिब २ तोला सुनको सिक्री बा९६ प ५७१७ नम्बरको मोटरसाइकलमा आएका उनीहरुले बिहीबार दिउँसो लुटपाट गरी फरार बनेका थिए । दुवै जनालाई प्रहरी वृत स्वयम्भूबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।