मुख्य समाचार
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीविरुद्ध अब मुद्दा नचल्ने
मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीविरुद्ध अब मुद्दा नचल्ने

— मानव तस्करीको गिरोहसँग मिली किर्ते परिचयपत्रसमेत बनाइदिएर तीन युवालाई आफूसँगै जापान पुर्‍याएका कोशी प्रदेशका तत्कालीन कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिने सरकारी वकिलको कार्यालयको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ । अब उनीविरुद्ध मुद्दा चल्ने छैन ।

उक्त प्रकरणमा अधिकारीको पनि संलग्नताको अदालती परीक्षण हुनुपर्ने तथ्य सरकारी वकिलबाट अस्वीकार भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यही मंसिर १५ मा सर्वोच्चमा रिट दायर गरेका थिए । तर सर्वोच्चका रजिस्ट्रारले रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेका थिए ।

दरपीठको निर्णय सर्वोच्चको आफ्नै नजिरविरुद्ध भएकाले खारेज गरी अधिकारीविरुद्ध मुद्दा चलाइपाऊँ भनी त्रिपाठीले बिहीबार अर्को निवेदन दिएका थिए । आइतबार निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले दरपीठ आदेश सदर हुने ठहर गरेको हो ।

‘यो आदेशले गलत नजिर बसेको छ,’ त्रिपाठी भन्छन्, ‘जस्तै अपराध गरे पनि सरकारी वकिलले चाहे जोसुकै चोखिन सक्छ भन्ने सन्देश गएको छ ।’ कसैलाई मुद्दा लगाउने वा नलगाउने भन्ने निर्णय सरकारी वकिलले तजबिजका आधारमा गर्न सक्दैनन् भन्ने नजिर यसअघि नै बनेको उनले निवेदनमा उल्लेख गरेका थिए ।

साथै, न्याय पाउने हकबाट वञ्चित गर्न कसैलाई पनि नमिल्ने भएकाले रिट दरपीठ गर्ने अधिकार सर्वोच्च प्रशासनलाई नभएको उनले तर्क राखेका थिए । मानव तस्करीमा संलग्न भएको प्रमाणसहित फेला परेका मन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने हुनाले दरपीठ आदेश खारेज गरी रिट दर्ता हुनुपर्ने त्रिपाठीको माग थियो ।

सुन्तली धामीदेखि अफताब आलमसम्मको मुद्दामा कसैलाई मुद्दा लगाउने वा नलगाउने भन्ने निर्णय सरकारी वकिलले तजबिजका आधारमा गर्न सक्दैनन् भन्ने नजिर यसअघि भए पनि त्यसलाई अनदेखा गरेर काठमाडौं जिल्ला न्यायाधिवक्ताको कार्यालयले गत मंसिर १० मा अधिकारीलाई उन्मुक्ति दिएको थियो । जबकि, प्रहरीको रायसहितको प्रतिवेदनमा मन्त्री दोषी देखिएकाले उनलाई पनि मुद्दा चलाउनुपर्ने उल्लेख छ ।


गिरोहसँगको मिलेमतोमा तत्कालीन मन्त्री अधिकारीले कात्तिक १३ मा रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राईलाई आफूसँगै जापान उडाएका थिए ।

ती युवाले गिरोहलाई कुल ३१ लाख ५५ हजार रुपैयाँ बुझाएका थिए । कागजपत्र शंकास्पद देखिएपछि जापानको अध्यागमनले चारै जनालाई विमानस्थलबाटै फर्काइदिएको थियो । फर्कंदा तीन युवालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो भने आफू मन्त्री भएको बताउँदै अधिकारी उम्कन सफल भएका थिए ।

तीनै जना युवा हाल थुनामा छन् । ती युवाले जापान जान महेश भण्डारी, वीरबहादुर सुनुवार र दावा शेर्पालगायतको समूहलाई रकम बुझाएका थिए । उनीहरूको बयानपछि पक्राउ परेका भण्डारी, सुनुवार र शेर्पा पनि थुनामै छन् ।

उनीहरूविरुद्ध पनि सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको छ । मन्त्रीलाई मुद्दा नचलाउने निर्णयले पीडित थप पीडामा परी मानवअधिकार हनन भएको भन्दै त्यसविरुद्ध छानबिन गर्न राष्ट्रिय मानवअधिकार आयोगमा पनि उजुरी पनि परेको छ । आयोगले बुधबारदेखि अनुसन्धान थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— भदौ २४ गतेको प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट हतियार लुटपाट गर्ने बालकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । प्रहरीले पोखरा महानगरपालिका–४ मा डेरा गरेर बस्ने १६ वर्षीय बालकलाई दुई महिनापछि आइतबार पक्राउ गरेको हो । नाबालक भएका कारण प्रहरीले उनको पहिचान गोप्य राखेको छ । उनको परिवर्तित नाम २०८२/८३ कास्की–३१ राखिएको छ । प्रहरी कार्यालय ...
— मुस्ताङमा रहेको कोरला नाका हुँदै पवित्र तीर्थस्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल थालिएको छ । कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन् । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले गृह मन्त्रालय, अध्यागमन विभागसँग समन्वय गरेर दुईवटा स्थानीय तहका जनप्रतिनिधि तिब्बती ...
— यातायात व्यवस्था विभागको भवन आगजनी भएर क्षति भएको दुई महिनापछि नयाँ लाइसेन्सका लागि आवेदन खुला गरिएको छ । २४ भदौमा भएको प्रदर्शनपछि उक्त सेवा ठप्प थियो । विभागका अनुसार आइतबार उपत्यकाका दुई वटा यातायात व्यवस्था कार्यालय सानोभर्‍याङ र भक्तपुरको राधेराधेबाट यो सेवा सुरु भइसकेको छ । त्यस्तै सोमबारबाट चाबहिल र एकान्तकुना कार्यालयबाट पनि सेवा ...
: कोरियन भाषा परीक्षाको तालिका सार्वजनिक भएको छ। ईपीएस कोरिया शाखाले आज परीक्षा तालिका सार्वजनिक गरेको हो। परीक्षा मंसिर १ गतेदेखि सुरु हुने छ। सुरुमा उत्पादनमुलक क्षेत्रको परीक्षा सञ्चालन हुने छ। रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ। शाखाले साउन २६ गतेदेखि ३१ ...
— भदौ २४ गते प्रदर्शनका क्रममा प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका-८ जगातीस्थित रहेको प्रहरी वृत्त जगाती, चाँगुनारायण नगरपालिका-७ स्थित प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी ...