— सशस्त्र विद्रोहलाई दबाउने नाममा १४ वर्षदेखि बर्बर दमन गर्दै आएका सिरियाका राष्ट्रपति बसर अल–असद मुलुक छाडेर रुसको मस्को पुगेका छन् । विद्रोहीले राजधानी दमास्कस नियन्त्रणमा लिएका छन् तर गृहयुद्धले थलिएको देशको भविष्य के हुने भन्ने अन्योल उस्तै छ ।
सन् २०११ को ‘अरब स्प्रिङ’ यता चलेको गृहयुद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाइसकेका छन् । तीमध्ये कम्तीमा ३० हजार बालबालिका छन् । करिब अढाई करोड जनसंख्या रहेको सिरियामा आधाजसो जनसंख्या कुनै न कुनै रूपमा विस्थापित छ । तर पनि सर्वसाधारणको समर्थनमा सशस्त्र विद्रोही हाबी हुँदै गएपछि राष्ट्रपति भागेका हुन् ।
सन् २०११ को विद्रोह दबाएयता राष्ट्रपति असदले विद्रोहीबाट लगातार चुनौती सामना गर्दै आएका थिए । उनको पक्षमा रुस र विद्रोहीको पक्षमा अमेरिकाले सिरियाली बस्तीहरूमा बम हमला गर्दै आएका थिए । तर पछिल्लो समय विद्रोही प्रभावशाली भएपछि असद संकटमा परेका हुन् । रुसी विदेश मन्त्रालयले सिरियाली विद्रोहीसँग वार्ता गरेपछि राष्ट्रपतिले देश छाडेका हुन् । यद्यपि रुसले औपचारिक रूपमा मध्यस्थतालाई अस्वीकार गरेको छ ।
इस्लामवादी हायात तहरिर अल–साम (एचटीएस) ले नेतृत्व गरेको विद्रोही समूह पछिल्लो समय नाटकीय रूपमा आक्रामक भएको हो । गत अक्टोबर २४ सम्म टर्कीसँगको सीमा क्षेत्रमा पर्ने इडलिब मात्र एचटीएसको नियन्त्रणमा थियो । विद्रोही समूहले गत मंगलबार दोस्रो ठूलो सहर अलेप्पो कब्जा गरेको थियो । त्यस्तै बिहीबार तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपमा स्वतन्त्र’ पारेको केही घण्टामा उनीहरू राजधानी दमास्कस प्रवेश गरेका थिए । अन्ततः शनिबार राति राजधानी दमास्कसमा झन्डा फहराएका हुन् ।
दमास्कसमाथि नियन्त्रण कायम गरेलगत्तै विद्रोही फौजले सरकारी टेलिभिजनको प्रसारण बन्द गरेको थियो । विद्रोही अगाडि बढेपछि सरकारी फौज पछाडि हटेको थियो । विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा सनाय जेलबाट हजारौं बन्दी मुक्त भएको देखिन्छ ।
उक्त जेलमा असद प्रशासनले आफ्ना विरोधीलाई यातना र मृत्युदण्ड दिने गरेको थियो । विश्वभर प्रभाव विस्तार गर्न खोजिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि असदको पतनले ठूलो झट्का लागेको छ । सिरियाको विद्रोह दबाउने भनेर पश्चिम एसियामा सक्रिय रुसका लागि अब यो बहाना भने बाँकी रहेन ।
उसका मुख्य सहयोगी असद नै मस्कोको शरणमा पुगेका छन् । असदलाई एक दशकभन्दा लामो समयसम्म सघाउन रुसले ठूलो शक्ति परिचालन गरेको थियो ।
पछिल्लो समय युक्रेनसँगको युद्धमा केन्द्रित भएकाले पनि रुसले असदलाई सहयोग नगरेको वा गर्न नसकेको ठानिएको छ । सिरियाली भूमिमा अमेरिका र रुसबीच भइरहेको लामो ‘प्रोक्सी वार’ मा पुटिनको पराजित भएको खबरले युक्रेनलाई खुसी दिएको छ । तर रुसले सिरियामा रहेका सैनिक र सैन्य उपकरण बाहिर निकाल्यो भने तिनलाई युक्रेनमा तैनाथ गर्ने सम्भावना छ ।
सिरियाका विपक्षी नेता हदी अल–बहराले ‘असदको शासन ढलेको र सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको’ प्रतिक्रिया दिएको अल–अरेबियाले जनाएको छ । बहराले सिरियाली आन्दोलन र विपक्षी फौजको गठबन्धनको नेतृत्व गरिरहेका छन् ।
बीबीसीका अनुसार उनले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन् । ‘जबसम्म तपाईंहरू आफ्नै घरमा बस्नुहुन्छ र कुनै नागरिकविरुद्ध हतियार उठाउनु हुन्न, तपाईं सुरक्षित हुनुहुन्छ,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘सिरियामा बदला वा प्रतिशोध र मानवअधिकार उल्लंघनको कुनै घटना हुने छैन । मानिसको मर्यादाको सुरक्षा हुनेछ र सम्मान गरिनेछ ।’
सिरियाली प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले आफू पदमै रहेर मुलुकमा सरकारविहीनताको अवस्था आउन नदिन तयार रहेको बताएका छन् । उता विद्रोही एचटीएस नेता अबु मोहम्मद अल–जवाल्नीले आफ्ना लडाकुलाई राजधानी दमास्कसका सरकारी संस्थामा प्रवेश नगर्न आदेश दिएका छन् । आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकाय प्रधानमन्त्रीको निगरानीमा रहने उनको भनाइ छ ।
एचटीएसले ऐतिहासिक जित हासिल गरेको उल्लेख गर्दै अल–जवाल्नीले आत्मसमर्पण गर्ने कसैलाई पनि कुनै हानि नपुर्याउन निर्देशन दिएका छन् । तर दमास्कसस्थित इरानी दूतावासमा आक्रमण भएको छ । विद्रोहीले दमास्कसस्थित इटालीको दूतावासमा पनि आक्रमण गरेका छन् । बीबीसीका अनुसार सशस्त्र समूहले दूतावासमा आक्रमण गरेर तीन वटा कार लगेको तर राजदूत र अन्य कर्मचारीलाई भने केही नगरेको इटालीका विदेशमन्त्री एन्टोनियो टजानीको भनाइ छ । त्यहाँस्थित इराकी दूतावास भने खाली गरिएको छ ।
विद्रोहीले कब्जा गरेसँगै दमास्कसमा स्थानीयले खुसीले नाराबाजी गरेका थिए । शनिबार गोली चलेको र विस्फोटनको आवाज सुनिएको भए पनि आइतबार तुलनात्मक रूपमा राजधानी शान्त रहेको बीबीसीले जनाएको छ । रात्रिकालीन समयमा भने विद्रोहीले दमास्कसमा कर्फ्यु घोषणा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य अधिकारीले सिरियाको अभूतपूर्व घटनाक्रमलाई निगरानी गरिरहेको जनाएका छन् । राष्ट्रपति कार्यालय ह्वाइटहाउसले जारी गरेको विज्ञप्तिमा बाइडेन प्रशासन आफ्ना क्षेत्रीय साझेदारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले भने यसअघि सामाजिक सञ्जालमा सिरियाको युद्धसँग अमेरिकाको कुनै सरोकार नभएको बताएका थिए । ‘त्यो हुन दिनुस् । यो हाम्रो लडाइँ होइन,’ उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
बेलायत, फ्रान्स, जर्मनीलगायतका पश्चिमी देशले सिरियामा असद शासन पतनको स्वागत गरेका छन् । ‘अन्ततः बर्बर राज्य सत्ताको पतन भएको छ,’ फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले एक्समा लेखेका छन्, ‘म सिरियाली जनतालाई, उनीहरूको साहस र धैर्यलाई सम्मान अर्पण गर्छु । अनिश्चितताको यस घडीमा सिरियामा शान्ति, स्वतन्त्रता र एकताको कामना गर्छु ।’
जर्मन चान्सलर ओलाफ स्कोल्जले ‘असदको पतन राम्रो समाचार’ भएको प्रतिक्रिया दिएका छन् । उनले सिरियामा राजनीतिक स्थिरताका लागि समाधान खोज्नुपर्ने बताएका छन् । ‘बसर अल–असदले आफ्ना जनतालाई क्रूर रूपमा दमन गरे । उनले धेरै मानिसलाई देश छाडेर भाग्न बाध्य पारे र तीमध्ये धेरै जर्मनी आइपुगेका छन्,’ उनले भनेका छन् ।
बेलायतका प्रधानमन्त्री केअर स्टार्मरले पनि असदको बर्बर शासनको पतनलाई स्वागत गरेका छन् । उनले सिरियामा शान्ति र स्थिरताका लागि आह्वान गरेका छन् । ‘पछिल्लो समय सिरियामा भएको घटनाक्रम अभूतपूर्व छ । यस क्षेत्रका हाम्रा साझेदारसँग कुरा गरिरहेका छौं र स्थितिलाई नजिकबाट निगरानी गरिरहेका छौं,’ उनले भनेका छन् । उपप्रधानमन्त्री एन्जेला रेनरले असद शासन पतन भएको समाचारलाई बेलायतले स्वागत गर्ने बताएकी छन् ।
सन् २००० जुलाई १७ मा सिरियाको राष्ट्रप्रमुख बनेका असदले सन् २०११ यता विपक्षीमाथि बर्बर दमन गर्दै आएका थिए भने विद्रोहीलाई परास्त गर्न भन्दै आफ्नै देशका संरचनामाथि बमबारी गर्दै आएका थिए । असदका पिता हाफिज अल–असदले पनि सिरियामा ३० वर्ष शासन गरेका थिए । सन् २००० जुन १० मा हाफिजको मृत्यु भएकै दिन संविधान संशोधन गरेर राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर ४० वर्षको साटो ३४ वर्ष बनाउँदै असदलाई राष्ट्रपति बन्ने बाटो खुला गरिएको थियो । लगत्तै उनलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारूढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो ।
संसद्ले सोही वर्ष राष्ट्रपतिमा असदलाई चयन गरेसँगै जुलाई १० मा जनमतसंग्रह गरिएको थियो । ९५ प्रतिशत मतदान भएको जनमतसंग्रहमा ९९.७ प्रतिशत मत उनको पक्षमा परेको दाबी गरिएको थियो । यसरी बाबुछोराले समग्रमा ५४ वर्ष सिरियामा शासन गरे ।
असद सुरुमा सुधारवादी नेताका रूपमा परिचित थिए । तर विरोधीलाई दबाउन उनी तानाशाह बने । सन् २००० सेप्टेम्बर २७ मा ९९ सिरियाली बुद्धिजीवीले विभिन्न माग राख्दै वक्तव्य जारी गरेका थिए, जसमा सन् १९६३ देखि लागू सैनिक शासन तथा संकटकालको अन्त्य, राजनीतिक बन्दीलाई माफी तथा रिहाइ, देशनिकाला गरिएकालाई फर्कने अनुमति, वाक् तथा सभा सम्मेलन गर्न पाउने स्वतन्त्रतालगायतका माग राखिएका थिए ।
सिरियाका प्रख्यात वृत्तचित्र फिल्म निर्माता ओमर अमिरालयले फिल्म निर्माता उसामा मुहम्मद र लेखक तथा राजनीतिज्ञ मौअफाक नाइराबियासँग मिलेर मागको मस्यौदा तयार पारेका थिए । ‘स्टेटमेन्ट अफ ९९’ भनिने उक्त मागसँगै सिरियामा ‘दमास्कस स्प्रिङ’ सुरु भएको थियो । ‘स्टेटमेन्ट अफ ९९’ का आधारमा सिरियामा विभिन्न राजनीतिक तथा सामाजिक बहस भए । त्यससम्बन्धी अधिकांश क्रियाकलापलाई असद नेतृत्वको सरकारले दमन गरेका थियो । तर उक्त अभियानमा थप बुद्धिजीवी जोडिँदै गए र २००१ मा ‘स्टेटमेन्ट अफ १०००’ जारी गरियो । यसले बाथ पार्टीको एकदलीय शासनको कडा आलोचना गर्दै स्वतन्त्र न्यायपालिका, महिलाविरुद्ध जारी भेदभाव अन्त्य, बहुदलीय लोकतन्त्रलगायतका माग राखेको थियो ।
२००५ फेब्रुअरीमा लेबनानका प्रधानमन्त्री रफिक हरिरीको हत्यापछि सुरु भएको ‘सिडार रेभोलुसन’ ले लेबनानमा सिरियाली अतिक्रमणको अन्त्य गर्यो । त्यही वर्ष अप्रिलमा २९ वर्षको सैन्य र राजनीतिक प्रभुत्वको अन्त्य गर्दै सिरियाली सेना लेबनानबाट बाहिरियो । लेबनान र पश्चिमा देशले हरिरीको हत्यामा सिरिया जिम्मेवार रहेको बताउने गर्छन् ।
विपक्षी पार्टीहरूले सन् २००५ अक्टोबरमा संयुक्त रूपमा ‘दमास्कस घोषणापत्र’ जारी गर्दै असदको ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’ को कडा आलोचना गरेका थिए । तर सरकारले विपक्षी कार्यकर्ता र बुद्धिजीवीमाथि व्यापक दमन गरेपछि लोकतन्त्र पक्षधरको आन्दोलन थप चर्कियो । सन् २००७ डिसेम्बरबाट भने असद नेतृत्वको सरकारले लोकतन्त्र पक्षधरमाथि व्यापक धरपकड गर्यो ।
सन् २०११ मा फैलिएको ‘अरब स्प्रिङ’ का बेला असदको तानाशाही शासन प्रदर्शनकारीविरुद्ध निर्मम रूपमा उत्रियो । अमेरिका, युरोपेली संघ र अरब लिगले असदलाई राजीनामा दिन सुझाव दिएका थिए । सन् २०११ मा जनविद्रोहविरुद्धको कारबाहीको प्रतिक्रियास्वरूप सिरियालाई अरब लिगबाट बर्खास्त गरियो । तर रुसको सहयोगमा प्रदर्शनकारीमाथि चरम दमन गर्दै असद सत्ता टिकाउन सफल भए । खासगरी रुस र इरान समर्थित लेबनानी सिया लडाकु समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका कारण असद सत्तामा टिक्न सफल भएका थिए ।
नागरिक समाजका तर्फबाट सुरु भएको विरोध प्रदर्शनमा पछि कट्टर इस्लामवादी समूहहरू हाबी भएका थिए । सन् २०११ मार्चमा असद प्रशासनले ‘आतंककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु गर्यो, जसका कारण सिरियामा गृहयुद्ध सुरु भयो । एक दशकभन्दा लामो युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिका साथै विभिन्न जिहादी समूह पनि सामेल भए । असद देशलाई टुक्र्याउन चाहने पश्चिमी शक्तिले उनीहरूलाई उक्साएको दाबी गर्थे ।
असद विद्रोही पकड क्षेत्रमा रासायनिक अस्त्रको प्रयोग र अन्य विभिन्न अत्याचारमा पनि जोडिएका छन् । सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमण गरेको थियो । विद्रोहीविरुद्ध धेरै पटक रासायनिक हतियार प्रयोग गरेको आरोप लागे पनि असद प्रशासनले बारम्बार खण्डन गर्दै आएको छ ।
सन् २०१३ मा रासायनिक आक्रमण गरेर मानवताविरुद्धको अपराधमा संलग्न रहेको भन्दै फ्रान्सले सन् २०२३ नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जीसमेत जारी गरेको थियो । यस्तै, अन्तर्राष्ट्रिय फौजदारी अदालतले सिरिया सरकारलाई यातना तथा क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो ।
विपक्षीको तीव्र विरोध र बहिष्कारबीच सिरियामा २०२१ मे २६ मा राष्ट्रपतीय चुनाव गरिएको थियो । चुनावमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि निर्वाचित भएका थिए । सन् २०२३ मेमा रुस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो । शनिबार राति भने असद परिवार र सिरियन बाथ पार्टीको झन्डै आधा शताब्दीभन्दा लामो शासन अन्त्य भएको छ ।
(एजेन्सीहरूको सहयोगमा)