— कांग्रेस महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने कम्पनीलाई मुनाफा बाहिर लैजाने क्रममा सरकारले अवरोध गर्दा वैदेशिक लगानी नआएको बताएका छन् । सरकारको नीतिका कारण विदेशी कम्पनी नेपालमा लगानी गर्न डराइरहेको थापाको भनाइ थियो ।
मानवअधिकार तथा शान्ति समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा महामन्त्री थापाले नेपालमा लगानीमैत्री वातावरण बनाउन नसकिएको बताए ।
'नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरूलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरू र अन्य कम्पनीहरू पनि नेपालमा लगानी गर्न डराइरहेका छन् । ती कम्पनीहरूको नाम लिन म पनि डराइरहेका छु,' थापाले भने, 'हामीलाई फाइदा चाहिएको छ तर हामीले वातावरण बनाउन सकिरहेका छैनौं ।’
नेपालले विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिदेओस् भन्ने चाहेरमात्र उनीहरू लगानी गर्न नआउने थापाको भनाइ थियो । सरकारले विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो ।
रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उनले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने धारणा राखे । ‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौं । तर त्यसका लागि हामीले के गरेका छौं ? यसका लागि के गर्ने त अब ? हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौं,' थापाले भने, 'राजस्व र विकास निर्माणमा जोड्छौं, यसरी हुदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ । कसैले दया गरेर त लगानी आउँदैन । नीजि क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्वीकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन ।'
थापाले एमाले र कांग्रेसको सरकारले रोजगारीको मुद्दालाई प्रतिस्पर्धाको विषय बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरूले २०८४ को मात्र कुरा गर्ने भन्दै अहिलेको जिम्मा कसले लिने हो ? भन्दै प्रश्न गरेका थिए ।
सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका नेपाली कम्पनीहरूलाई विदेशी मुद्रा सटही गरेर नेपाल बाहिर पनि लगानी गर्न दिनुपर्ने थापाको सुझाव थियो । सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका कम्पनीको लागि बाहिर लगानी गर्न राष्ट्र बैंकले बाटो खोलिदिनुपर्ने उनले बताए ।