मुख्य समाचार
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित

— अमरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प टाइम म्यागेजिनको वर्ष व्यक्ति घोषित भएका छन् । ट्रम्प दोस्रोपटक टाइम वर्ष व्यक्ति बनेका हुन् । यसअघि उनी सन् २०१६ मा राष्ट्रपतिमा निर्वाचित भएपछि टाइम वर्ष व्यक्ति चयन भएका थिए ।

टाइम म्यागेजिनका प्रधान सम्पादक साम ज्याकोब्सले 'ऐतिहासिक राजनीतिक पुनरागमन, विश्वमा अमेरिका र अमेरिकी राष्ट्रपतिको भूमिका परिवर्तनका लागि' डोनाल्ड ट्रम्पलाई टाइमको सन् २०२४ को वर्ष व्यक्ति घोषित गरिएको जनाएका छन् ।


ट्रम्पले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, वेल्सकी राजकुमारी क्याथरीन, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, मेक्सिकन राष्ट्रपति, क्लाउडिया सेइनबाउम, अर्बपति इलन मस्क र पोडकास्टर जो रोगनलाई पछि पारेका हुन् ।

टाइम म्यागेजिनले हरेक वर्ष विश्वव्यापी घटनाहरूलाई नाटकीय रूपमा आकार दिने व्यक्तिहरूलाई वर्ष व्यक्ति घोषणा गर्ने गर्दै आएको छ । वर्ष व्यक्तिको सूचीमा विश्व नेताहरूदेखि सांस्कृतिक क्रान्तिकारीहरू समावेश हुने गरेक छन् । फ्रान्कलिन डी रुजवेल्टदेखि यताका जेराल्ड फोर्डबाहेक अन्य अमेरिकी राष्ट्रपति कम्तीमा एकपटक टाइम वर्ष व्यक्ति छनोट भएका छन् ।

वर्ष व्यक्तिको अन्तिम सूचीमा छनोट गरेसँगै सार्वजनिक गरेको विवरणमा टाइमले ट्रम्पले 'एक आश्चर्यजनक राजनीतिक पुनरागमन गर्दै २०२४ को चुनाव जितेको' उल्लेख गरेको थियो । 'उनले अमेरिकी मतदातालाई पुन: आकार दिएका छन् । उनले युवा मतदाताहरूलाई सक्रिय पारेका छन् र हरेक स्विङ स्टेटलाई रेड स्टेटमा परिणत गरेका छन्,' टाइमले भनेको छ ।

ट्रम्पको विजय विभिन्न तरिकाले इतिहास बनेको टाइमले जनाएको छ । 'ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा धेरै उमेरको राष्ट्रपति हुनुहुनेछ । ट्रम्प राष्ट्रपतिमा निर्वाचित हुने पहिलो दोषी ठहर व्यक्ति हुनुहुन्छ ।' ट्रम्पमाथि न्यूयोर्कको अदालतले ३४ वटा ठगीको मुद्दामा दोषी ठहर गरेको थियो ।

गत अप्रिलमा चुनावी अभियानका क्रममा ट्रम्पले टाइम म्यागेजिनलाई अन्तर्वार्ता दिएका थिए । व्यापक छलफलका क्रममा ट्रम्पले अमेरिकी अध्यागमन प्रणाली सुधार गर्ने र लाखौं मानिसहरूलाई देश निकाला गर्ने लक्ष्यसहित दोस्रो कार्यकालका लागि आफ्ना योजना सुनाएका थिए ।




आफूले राष्ट्रपतिको पद सम्हालेसँगै आधिकारिक रूपमा क्यापिटोल हिल आक्रमणमा अभियोग लगाइएकाहरूलाई माफी दिने निर्णय लिने ट्रम्पको भनाइ छ । 'यो पहिलो घण्टामा सुरू हुन गइरहेको छ,' उनी भन्छन्, 'सायद पहिलो नौ मिनेटमै ।'

अन्तर्वार्ताका क्रममा नवनिर्वाचित राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्ने योजना पनि सार्वजनिक गरेका छन् । 'रुस र युक्रेनमा भइरहेको युद्धभन्दा मध्यपूर्व (पश्चिम एसिया) तनाव अन्य गर्न सजिलो समस्या हो । जताततै युद्धमैदानमा लडिरहेका जवानहरूको संख्या कहालीलाग्दो छ । यो पागलपन हो,' उनले भने, 'म रूसमा सयौं माइल टाढा क्षेप्यास्त्रहरू पठाउने कुरामा असहमत छु । हामी किन त्यसो गरिरहेका छौं ? हामी यो युद्धलाई बढाउँदैछौं र यसलाई अझ खराब बनाउँदैछौं ।'

अमेरिकाले युक्रेनलाई दिँदै आएको सहयोग रुससँगको युद्ध अन्त्य गर्नका लागि प्रयोग गर्ने ट्रम्पको भनाइ छ । 'म एक सम्झौतामा पुग्न चाहन्छु,' उनले भने, 'सम्झौतामा पुग्ने एक मात्र तरिका भनेको लगातारको प्रयास नै हो ।'

टाइमले सन् १९२७ देखि 'वर्ष व्यक्ति' घोषणा गर्न थालेको हो । त्यसयता म्यागेजिनले वर्षभरिका घटनालाई प्रभावित गर्ने एक व्यक्तिलाई वर्ष व्यक्ति घोषणा गर्दै आएको छ ।

यसअघिक जलवायु परिवर्तन अभियन्ता ग्रेटा थनबर्ग, अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा, मेटाका सीईओ मार्क जुकरबर्ग, पप फ्रान्सिस र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की पनि वर्ष व्यक्ति भइसकेका छन् । वर्ष व्यक्तिको छनोट भने टाइम म्यागेजिनका सम्पादकहरूले गर्छन् ।

यसअघि सन् २०१५ मा राष्ट्रपतिको दौडमा रहेका बेला म्यागेजिनले आफूलाई वर्ष व्यक्ति नबनाएको गुनासो गरेका थिए । त्यतिबेला जर्मन चान्सलर एन्जेला मर्केल टाइम वर्ष व्यक्ति भएकी थिइन् । तर चुनाव जितेपछि भने ट्रम्प वर्ष व्यक्ति घोषित भए र त्यसलाई उनले ‘महान सम्मान’ भनेका थिए ।

'यसको धेरै अर्थ छ, विशेषगरी म टाइम म्यागेजिन पढ्दै हुर्किएको हुँ । र, तपाईंलाई थाहा छ, यो धेरै महत्त्वपूर्ण पत्रिका हो,' त्यतिबेला उनले भनेका थिए । यद्यपि यसवर्ष टाइम वर्ष व्यक्तिको सूचीमा अमेरिकी गायिका टेलर स्विफ्ट परेकोमा भने उनले म्यागेजिनको आलोचना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ । बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ । अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फ्लोरिडामा भएको भेटवार्तालाई ‘उत्कृष्ट’ र ‘शानदार’ भनेका छन् । जेलेन्स्कीका अनुसार २० बुँदे शान्ति योजनामा करिब ९० प्रतिशत सहमति भइसकेको छ । ट्रम्पले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीको विषय पनि करिब ९५ प्रतिशतसम्म टुंगिएको बताएका छन्। तर अमेरिकी राष्ट्रपतिले ‘एक–दुई अत्यन्तै जटिल विषय’ अझै बाँकी रहेको पनि बताएका ...
— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैनिक बल प्रयोगबाट रुसले युक्रेनमा लक्ष्य हासिल गर्ने चेतावनी दिएका छन् । ।शनिबार रुसी सशस्त्र बलको एक कमान्ड पोस्टको भ्रमणपछि युद्धको शान्तिपूर्ण निकासमा युक्रेनले चासो नदिएको आरोप उनले लगाए । 'युक्रेनलाई शान्तिपूर्ण निकासमा हतार भएजस्तो देखिन्‍न, ' राष्ट्रपति पुटिनले भने, 'यदि किभ शान्ति चाहँदैन भने रुसले सैन्य माध्यमबाट विशेष सैन्य अपरेसनका सबै ...
— बुल्गेरियाले बिहीबारदेखि युरो मुद्रा प्रयोगमा ल्याउँदैछ । तर यस कदमप्रति देशभर डर र अनिश्चितता पनि उत्तिकै देखिएको छ । धेरै नागरिकले युरो अपनाउँदा मूल्यवृद्धि हुने र सामाजिक तथा आर्थिक अस्थिरता बढ्न सक्ने आशङ्का व्यक्त गरिरहेका छन् । युरोपेली युनियनकै गरिब राज्यका रुपमा चिनिने बुल्गेरिया युरो प्रयोगमा ल्याउने २१ औं राष्ट्र हो । यस वर्ष ‘बुल्गेरियाली लेभ ...
— मलेसियाका पूर्व प्रधानमन्त्री नाजिब रजाकलाई सम्पत्ति शुद्धिकरणसँग जोडिएको मुद्दामा अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ । शुक्रबार क्वालालम्पुर उच्च अदालतले फैसला सुनाएको हो । ७२ वर्षीय नाजिब शक्ति दुरुपयोगको चार वटा तथा सम्पत्ति शुद्धिकरणको २१ वटा अभियोगमा दोषी ठहर भएका हुन् । अभियोजकहरूले नाजिबमाथि एक दशकभन्दा बढी समयअघि प्रधानमन्त्री, अर्थमन्त्री र वान एमडीबी सल्लाहकार ...