— वीर अस्पतालले झन्डै ९ करोड रुपैयाँमा किनेका अत्याधुनिक २३ वटा आईसीयू बेड र ३१ वटा भेन्टिलेटर वर्षौंदेखि थन्काएर राख्दा गम्भीर अवस्थाका बिरामीले उपचार सेवा पाउन सकिरहेका छैनन् । कैयौं बिरामीलाई चिकित्सकले अन्य अस्पतालमा रेफर गर्दै आएका छन् ।
बागबजारकी पूर्णदेवी शाहीलाई अचानक श्वासप्रश्वासमा समस्या आयो । आफन्तले वीरको इमर्जेन्सीमा पुर्याए । उनको मुटुलगायत विभिन्न अंगको शल्याक्रिया गराइसकेकाले आईसीयूमै उपचार गर्नुपर्ने चिकित्सकले बताए । तर आईसीयू बेड नभएका कारण इमर्जेन्सीमै छटपटिनुपर्यो । अस्पतालमा मंगलबार भेट भएका उनका आफन्त शाहीको हृदयविदारक अवस्थाका कारण निकै चिन्तामा देखिन्थे ।
आईसीयूमै राखेर उपचार गर्नुपर्ने अवस्थाकी रामेछाप मन्थलीकी ७० वर्षीया पार्वती माझी पनि इमर्जेन्सीमै छटपटाइरहेकी थिइन् । रामेछाप जिल्ला अस्पतालबाट रेफर गरिएकी दमकी बिरामी उनलाई आईसीयू बेड अभावमा औषधि र अक्सिजनका भरमा इमर्जेन्सीमै राखिएको छ । चिकित्सकका अनुसार आईसीयूमै उपचार गर्नुपर्ने अवस्थाका बिरामी वीरमा दैनिक ४–५ जना आउँछन् । तीमध्ये केहीलाई चिकित्सकले महाराजगन्जस्थित शिक्षणलगायतका अस्पतालमा रेफर गर्ने गरेका छन् भने कतिपय बिरामीलाई आफन्तले नै अन्य अस्पतालमा लैजान्छन् ।
वीरमा ६७ वटा आईसीयू बेड छन् । तीमध्ये सर्जिकल भवनको पहिलो तलका ९ र दोस्रो तलाका ९ आईसीयू तथा ३१ वटा भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन् । चौथो तलामा रहेको सर्जिकलका १८ र न्युरोका ९ गरी २३ आईसीयू बेडमध्ये ५ वटा आईसीयू पनि सञ्चालनमा छैनन् ।
आईसीयू र भेन्टिलेटरका यी अत्याधुनिक उपकरण कोभिड महामारीका बेला सरकारी बजेटबाट खरिद गरिएको हो । वीरका खरिद शाखाका एक कर्मचारीका अनुसार कोभिडका बेला सर्वत्र हाहाकार भएकाले सबै उपकरण महँगोमा किनिएको थियो । त्यतिबेला खरिद गर्दा प्रतिभेन्टिलेटर करिब २५ लाख रुपैयाँ र प्रतिआईसीयू बेड ५ लाख रुपैयाँ परेको छ । करिब १ करोड १५ लाख रुपैयाँमा किनिएका आईसीयू बेड र ७ करोड ७५ लाखमा खरिद भएका भेन्टिलेटर उपयोगविहीन भएर थन्किएका छन् ।
आईसीयू, भेन्टिलेटर जडित वार्डमा ताला लगाइएको छ । दूरदराजबाट आएका गम्भीर रोगका गरिब सर्वसाधारण बिरामीले उपचार नपाएर बिजोग अवस्था छ । इमर्जेन्सीमै बसेर औषधि र अक्सिजनका भरमा उपचार गराउन बाध्य छन् । केहीलाई चिकित्सकले रेफर गर्छन् भने कोही आफैं अन्य अस्पतालमा जान्छन् ।
आईसीयु र भेन्टिलेटर अभावका कारण विशेष गरी दीर्घ तथा घातक रोग लागेका बिरामी मर्कामा छन् । जटिल रोग लागेका बिरामी महँगो शुल्क तिरेर निजीमा जानुको विकल्प छैन । गरिब सर्वसाधारण निःशुल्क पाउने सेवाबाट पनि वञ्चित भएका छन् ।
न्युरो सर्जरी विभाग प्रमुख डा. राजीव झाले आईसीयू र भेन्टिलेटर अभावका कारण बिरामी भर्ना गर्ने/नगर्नेदेखि लिएर शल्यक्रियासम्मका उपचार सेवा प्रभावित भएको बताए । ‘चिकित्सकले भेन्टिलेटर र आईसीयू बेड संख्या हेरेर मात्र बिरामीको शल्यक्रिया गर्ने योजना बनाउनुपर्ने हुन्छ । आईसीयू र भेन्टिलेटर सञ्चालनमा नल्याइएकै कारण शल्यक्रिया पनि हुन सकिरहेका छैनन्,’ उनले भने, ‘आपत्कालीन शल्यक्रिया समेत अस्पतालभित्रकै अर्को विभागले आईसीयू वा भेन्टिलेटर उपलब्ध गराएमा मात्र सम्भव हुन्छ, नत्र रेफर गर्नु वा फर्काउनुको विकल्प छैन ।’
‘गम्भीर अवस्थाका कतिपय बिरामीलाई समयमै आईसीयूमा राख्न नसकेमा ज्यान नै जाने जोखिमसमेत हुन्छ,’ उनले भने ।
राजधानीमा रहेका प्रायः निजी अस्पतालमा आईसीयूको दैनिक शुल्क १२ देखि १५ हजार रुपैयाँ छ । त्यो पनि डाक्टरको चार्ज, इन्सुलेसन, अक्सिजनलगायतका सेवाका शुल्कबाहेक । वीरमा भने सबै गरेर आईसीयू शुल्क दैनिक ३ हजार रुपैयाँ मात्र छ । वीरकै केही चिकित्सक भने अस्पतालका सबै आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याएमा निजी अस्पतालको व्यापार घट्ने भएकाले चलाउन नदिन ठूलो चलखेल रहेको आरोप लगाउँछन् ।
वीरमा ५ सय बेडको सर्जिकल भवनसहित ९०६ बेड सञ्चालन गर्ने सरकारको योजना छ । त्यसमा सय बेडको आईसीयू सञ्चालन गर्ने लक्ष्य छ । अस्पतालले भने जनशक्ति अभावका कारण सबै आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन नसकेको जनाएको छ । वीरका निर्देशक डा. सन्तोष पौडेलले स्वास्थ्य मन्त्राययले एकै पटक अस्पतालमा करारमा कार्यरत डाक्टर, नर्स, ल्याब टेक्निसियन, बायो मेडिकल इन्जिनियर, रेडियोग्राफर, इलेक्ट्रिसियनलगायत गरेर २२१ जना स्वास्थ्यकर्मीलाई सेवाबाट हटाइएकाले सेवा बन्द गर्न बाध्य भएको बताए । ‘बीचमा केही कर्मचारी करारमा भर्ना लिएर सेवा पुनः सुचारु गर्ने प्रयास गरेका थियौं,’ उनले भने, ‘अस्पतालका सबै आईसीयू र भेन्टिलेटर सञ्चालनमा ल्याउन अझै २ सयभन्दा बढी स्वास्थ्यकर्मी आवश्यक छ ।’ उनले स्वास्थ्य मन्त्रालयलाई करार सेवा निरन्तरता दिन र पारिश्रमिक रकम विनियोजन गर्न पटकपटक अनुरोध गर्दा पनि नमानेकाले सेवा बन्द गर्नुपरेको बताए ।
स्वास्थ्य मन्त्रालयले भने अस्पताललाई करारमा कार्यरत कर्मचारी आन्तरिक स्रोतबाट राख्नुपर्ने बताउँदै आएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले उपकरण खरिद गर्दा वा कतैबाट प्राप्त गर्दा सञ्चालन गर्न सक्ने स्थिति भए/नभएको बारे यकिन गरेर मात्र लिनुपर्ने बताए । ‘सञ्चालन गर्न सक्ने क्षमताको मूल्यांकन नगरीकन उपकरण खरिद गरेकाले समस्या आएको हो,’ उनले भने, ‘अस्पतालले आफ्नै आम्दानीबाट कर्मचारी करारमा भर्ना गर्नुपर्छ ।’ उनले केही कर्मचारी लोक सेवाबाट पनि माग गरिसकेको बताए ।