मुख्य समाचार
उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ
उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ

। नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ गर्न थालेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको तथा पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण देखाउँदै प्राधिकरणले उद्योगहरूमा लोडसेडिङ सुरु गरेको हो ।

अनलाइनखबरले पूर्वको मोरङ–सुनसरी करिडोरदेखि पश्चिमको नेपालगञ्ज–कोहलपुर करिडोरसम्मका उद्योगीहरूसँग गरेको कुराकानीका आधारमा उद्योगहरूमा कम्तीमा साढे ६ घण्टादेखि बढीमा १० घण्टासम्म दैनिक लोडसेडिङ भइरहेको देखिएको छ ।


उद्योगहरूमा दैनिक कम्तीमा साढे ६ घण्टाको दरले लोडसेडिङ भइरहेको कुरा नेपाल विद्युत् प्राधिकरणका विभिन्न तीनवटा स्रोतले पनि पुष्टि गरेका छन् । ‘सबैभन्दा कम लोडसेडिङ गर्दा पनि बिहान ६ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि साढे ८ बजेसम्म उद्योगहरूमा विद्युत् आपूर्ति गर्न सकिने अवस्था नै छैन,’ प्राधिकरण स्रोतहरूले भनेका छन् ।

अघिल्ला वर्षहरूमा पुसपछि मात्रै उद्योगहरूमा विद्युत् कटौती हुने गरे पनि यसपटक भने मंसिरको मध्यदेखि नै विद्युत् कटौती सुरु भएको हो ।



‘बाढीले क्षति पुर्‍याएको पिकिङ रन अफ द रिभर आयोजना मर्मतका लागि अहिले पूर्ण रूपमा बन्द छ, भारतबाट पनि पिक आवरमा विद्युत् आयात हुन सकेको छैन, त्यसले औद्योगिक क्षेत्रमा केही घण्टा विद्युत् कटौती गर्नुपर्ने अवस्था छ,’ प्राधिकरणका प्रवक्ता चन्दन घोषले अनलाइनखबरसँग भने ।

भारतले पिक आवरमा नेपालमा विद्युत् निर्यात नगर्ने कुरा उल्लेख गर्दै नेपालमा आयातको अनुमति दिएको छ । मार्च १५ देखि मे अन्तिमसम्म भने सन आवर (अर्थात् दिउँसो) मात्रै विद्युत् दिने गरी नेपालले अनुमति प्राप्त भएको छ ।



यस्तो अवस्थामा ब्याकबोनका रूपमा रहेको तामाकोसी परियोजनाको उत्पादन बन्द हुँदा आपूर्तिमा समस्या भएको प्रवक्ता घोषले स्वीकार गरे ।

त्यसका अतिरिक्त प्रसारण लाइनमा भएको अवरोधले पनि कुनैकुनै दिन विद्युत कटौतीको समय बढ्ने गरेको उनले बताए ।

‘नेपालमा अधिकांश परियोजनाहरू बहावमा आधारित (रन अफ द रिभर) भएकाले हिउँदमा उत्पादन १० देखि ३० प्रतिशतसम्म झर्छ, यस्तो अवस्थामा बर्खा याममा विद्युत् बढी भए पनि हिउँदमा भने माग धान्न सक्दैन,’ उनले भने ।

विगत केही दिनयता बर्दघाट–न्यु बुटवल प्रसारण लाइन तथा नवलपुर–ढल्केबर प्रसारण लाइनमा अवरोध आएकाले केही बढी लोडसेडिङ भएको हुन सक्ने उनले बताए ।

तर, उद्योगीहरू भने सबै दिन समान हिसाबले दिनको ८ घण्टा जति लोडसेडिङ भइरहेको बताउँछन् ।

‘लोडसेडिङ त छँदै छ, विद्युत् दिएको अवस्थमा पनि लोड घटाएर मात्रै उद्योग चलाउन भनेर पटकपटक फोन आउँछ, त्यसो गरिरहनुपरेको छ,’ एक उद्योगीले भने ।

प्राधिकरणले बरु घोषणा नै गरेर लोडसेडिङ गरेको भए आफूहरूलाई उद्योग चलाउन सजिलो हुने उद्योगीहरू बताउँछन् । ‘प्राधिकरण लोडसेडिङ घोषणा पनि गर्दैन, अनियमित रूपमा विद्युत् काटिरहन्छ,’ उनले दुखेसो गरे ।

उद्योगहरूमा पटक-पटक विद्युत् अवरोध हुने (ट्रिपिङ) को समस्या पनि अत्यधिक रहेको उद्योगीहरू बताउँछन् । ‘विद्युत् आपूर्तिमा एकरूपता नहुँदा ट्रिपिङको गुनासो पनि धेरै आउने गरेको छ,’ प्राधिकरणको एक वितरणकेन्द्र प्रमुखले अनलाइनखबरलाई भने ।

नेपाल विद्युत् प्राधिकरणको भारप्रेसण केन्द्रको बिहीबारको तथ्यांकअनुसार नेपालमा अहिले पिक समयमा ३ सय ३० मेगावाट विद्युत् अपुग भइरहेको देखिन्छ ।

पिक समयमा १८ सय ८३ मेगावाट विद्युतको माग रहेकोमा नेपालको उत्पादन र भारतबाट आयात समेत गरेर १५ सय ५३ मेगावाट मात्रै आपूर्ति भएको तथ्यांक बिहीबारको छ ।

‘अहिले माग र आपूर्तिको सरदर अवस्था यही नै हो, त्यसो हुँदा उद्योगमा लोडसेडिङ गर्नुको विकल्प नै छैन,’ प्राधिकरण स्रोतले भन्यो ।



तामाकोसी आयोजनामा बाढीले क्षति गरेपछि प्राधिकरणले यसअघि नै हिउँदमा लोडसेडिङ हुनसक्ने प्रक्षेपण गरेको प्रवक्ता घोष बताउँछन् । यसबारे प्राधिकरणले सञ्चारमाध्यमका बाध्यमबाट पनि जानकारी गराएको उनको भनाइ छ ।

अहिले रातिको समयमा केही विद्युत् भारत निर्यात भइरहे पनि अन्य समयमा भने निर्यात नगरेको उनले बताए ।

यो वर्ष भारतबाट ५० मेगावाटबाट विद्युत् आयात सुरु गरे पनि अहिले त्यो बढेर साढे २ सय देखि ३ सय मेगावाट पुगेको जानकारी पनि उनले दिए ।

त्यसभन्दा बढी विद्युत् आयात गरेर वितरण गर्न कठिन रहेको पनि उनले बताए । ‘विभिन्न प्रसारण लाइनहरू निर्माण हुन सकेका छैनन् । हेटौंडा–ढल्केबर प्रसारण लाइन १२ वर्षदेखि निर्माण भइरहे पनि सम्पन्न हुन सकको छैन । स्थानीयको अवरोध छ,’ उनले भने, ‘त्यसले पनि विद्युत् आपूर्तिमा समस्या भएको छ ।’

उद्योगहरूले विद्युत् खेर जानेबेला बढी उत्पादन गरेर कम आपूर्तिको बेला आपूर्ति गर्ने गरी योजना बनाउनुपर्ने सुझाव पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— कृषि सामग्री कम्पनीले ग्लोबल टेन्डरमार्फत भित्र्याइरहेको युरिया मल नियमित रूपमा आउन थालेपछि वीरगन्ज र रक्सौलको रेल्वे स्टेसनमा मल बोकेको रेल्वे र्‍याकको चाङ नै लाग्न थालेको छ । हाल वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह र सीमापारि भारतीय रेल्वे स्टेसन रक्सौलमा गरी ५ रेल्वे र्‍याक युरिया मल एकसाथ आई पुगेको हो । तीमध्ये सुक्खा बन्दरगाहमा २ र ...
: पूर्वी नेपालमा निरन्तर परेको वर्षाले धानबालीमा ठूलो क्षति पुगेको छ। बुधबार रातिदेखि सुरु भएको अविरल वर्षा बिहीबार बिहानसम्म जारी रहेपछि धान काट्न तयार भएका किसानहरू चिन्तित छन्। वर्षाको कारण खेतभरी पाकेको धान काट्न नपाएपछि किसान चिन्तित बनेका छन्। काटिसकेको धान पनि पानीले भिजाएपछि धेरै ठाउँमा बिग्रने अवस्था आएको छ। कोशी प्रदेशका १४ वटै जिल्लामा बुधबारदेखि ...
। नेपाल र चीनबीच लामो समयदेखि सञ्चालनमा रहेका दुई व्यापारिक नाका रसुवागढी र तातोपानीमा पहिरोले अवरोध गर्दा मुस्ताङस्थित कोरला नाका विकल्पका रूपमा तयार भएको छ । भन्सार विभागका अनुसारका चालु आर्थिक वर्ष २०८२/८३ पहिलो त्रैमासमा यो नाका हुँदै ५ अर्ब रुपैयाँभन्दा बढीको आयात–निर्यात भएको छ । मुस्ताङ नाकाबाट ५ अर्ब २७ करोडको वस्तु आयात भएको छ भने ...
— चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले भारत र चीनसँग मात्रै ३ खर्बभन्दा बढीको व्यापार घाटा बेहोर्नुपरेको छ । निर्यातभन्दा आयात चुलिँदा नेपालले छिमेकी दुई देशसँग ३ खर्ब ४ अर्ब ४५ करोड रुपैयाँको व्यापार घाटा बेहोरेको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास (साउन–असोज)सम्म भारतबाट नेपालले २ खर्ब ५८ अर्ब ८७ करोड रुपैयाँको ...
— अन्य समयको तुलनामा दसैं–तिहारमा खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री बढी हुन्छ । व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैं–तिहारमै हुन्छ । चाडपर्वका समयमा स–साना खुद्रा पसलदेखि ठूला–ठूला पसलदेखि आउटलेटहरूमा खरिद–बिक्री बढी हुन्छ । व्यवसायीले पनि चाडपर्वलााई लक्ष्य गरी बढी नै सामान आयात गर्छन् । भन्सार विभागको तथ्यांकले पनि सोही क्रमलाई दर्शाउँछ । चालु आर्थिक वर्षको पहिलो तीन महिना ...