: हाल विद्युत्को उच्च माग छ– करिब १८ सय मेगावाट। तर, उत्पादन भइरहेको छ– करिब १५ सय मेगावाट मात्रै। छिमेकी भारतले पनि साँझको समय (पिक डिमान्ड)मा नेपाललाई विद्युत् नदिने जनाएको छ। त्यसैकारण, उद्योग क्षेत्रमा लोडसेडिङ गर्नुपर्ने अवस्था आएको विद्युत् प्राधिकरणको भनाइ छ। तर, उद्योगीले भने प्राधिकरणको नियत नै खराब रहेको प्रतिक्रिया दिएका छन्।
प्राधिकरणले विद्युत्को माग र आपूर्तिबीचको सन्तुलन नहुँदा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्ने जनाएको छ। साँझको समयमा हुने उच्च माग (पिक डिमान्ड)को समय केही घन्टा औद्योगिक क्षेत्रमा विद्युत् कटौती गर्नुपर्ने कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्। विद्युत्को कुल जडित क्षमता भने करिब ३४ सय मेगावाट पुगेको छ। तर, हिउँदमा नदी÷खोलामा पानी कम हुँदा विद्युत् उत्पादन पनि ह्वातै घटने गरेको छ।
साँझको समयमा भारतबाट पनि आपूर्तिको अनुमति नहुँदा विद्युत् कटौती गर्नुपर्ने घिसिङले जानकारी दिए। गत असोजमा आएको बाढीले माथिल्लो तामाकोशी आयोजना बन्द हुँदा ४५६ मेगावाट राष्ट्रिय प्रसारणबाट बाहिरिँदा त्यसको असर आपूर्ति व्यवस्थापन देखिएको घिसिङले बताए।
‘४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन सुरु नभएसम्म बढी विद्युत् माग हुने साँझको समय (पिक)मा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने देखिएको छ,’ उनले भने। यो कटौतीलाई लोडसेडिङ भन्न नमिल्ने उनको तर्क छ। पुस १० गतेबाट माथिल्लो तामाकोशी सञ्चालनमा ल्याउने तयारी भएको बताउँदै घिसिङले भने, ‘पुस १० गतेभित्र विद्युत् उत्पादन सुरु गर्ने र त्यसको १५ दिनभित्रमा पिक समयमा चलाउने गरी माथिल्लो तामाकोशीको मर्मतसम्भार भइरहेको छ।
विद्युत् माग कम हुने समयमा पानी जम्मा गरी आयोजनालाई पिक समयमा ४ घण्टा पूर्ण क्षमतामा चलाउन सकिन्छ। त्यसपछि भारतबाट विद्युत् आयात नभए पनि आपूर्ति व्यवस्थापन हुन्छ।’ कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती नगरिने प्रष्ट पारे। हिउँदयाम सुरुसँगै खोला तथा नदीहरूमा पानी घट्दा देशभित्रका नदी प्रवाही (आरओआर) जलविद्युत् आयोजनाहरूको उत्पादन क्षमताभन्दा एकतिहाइ घट्ने गरेको छ।
पिक समयमा आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात गर्न नपाउने अवस्था छ। चिसोका कारण यही समयमा विद्युत्को माग बढ्ने तर मुलुकको विद्युत् प्रणालीमा सबैभन्दा बढी हिस्सा रहेको जलविद्युत् आयोजनाहरूको उत्पादन घट्ने अवस्था छ। हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट विद्युत् आयात गरिँदै आएको छ।
तर, गत वर्षको वैशाखबाट भारतले साँझको समयमा नेपाललाई विद्युत् नदिने भनेको छ । भारतको आन्तरिक खपतका लागि नेपाललाई साँझको समयमा विद्युत् नबेच्ने भनेको कार्यकारी निर्देशक घिसिङ भन्छन्। साँझको समयमा भारतको विद्युत् व्यापार इन्डेक्समा प्रतिमेगावाट बिजुलीको मूल्य १० भारतीय रुपैयाँ पुग्ने गरेको उनले भने।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई आगामी चैत २ गते (१५ मार्च २०२५)सम्म ढल्केबर–मुजफ्फपुर ४०० केभी क्रसबोर्डर प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर १३२ केभी प्रसारण लाइनबाट ५४ मेगावाट गरी दैनिक रूपमा ६५४ मेगावाटसम्म विद्युत् आयात अनुमति दिएको छ।
तर, पिक समय साँझ ५ देखि रातको ९ बजेसम्म भने विद्युत् आयात गर्न नपाउने व्यवस्था छ। त्यसपछि ३ चैत २०८१– १६ असार २०८२ (१६ मार्च–३० जुन २०२५)सम्म सोलार आवर अर्थात् बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म मात्र आयात गर्न पाउने स्वीकृति दिइएको छ। तर, उद्योगिहरू भने प्राधिकरणको नियत खराबका कारण विजुली कटौती गर्न लागेको बताउँछन्।
विश्वका अन्य देशमा विद्युत् आपूर्ति कम हुँदा पहिला उद्योगलाई पुर्याएर अन्य ग्राहकलाई दिने गरेको तर नेपालमा भने पहिला उद्योगको नै लाइन काट्ने गरेको उद्योगिहरूको गुनासो छ।
नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष अजाज आलाम प्राधिकरणले उद्योगिहरूले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता नबुझाएका कारण नियतवश उद्योगमा लाइन कटौती गर्न लागेको आशंका व्यक्त गर्छन्। ‘प्राधिकरणले बक्यौता विवादमा जानीजानी सबै उद्योगिलाई दुःख दिन खोजेको जस्तो देखिन्छ।
यो वर्ष नियतवश नै लोडसेडिङ गर्न खोजको हो,’ आलामले अन्नपूर्णसँग भने। अघिल्ला वर्षमा पनि सुक्खायाममा ट्रिपिङका कारण बिजुली निरन्तर नपाइरहेको उनको गुनासो छ। आर्थिक मन्दीका कारण औद्योगिक क्षेत्रले उत्पादन घटाएकाले २४ सैं घन्टा चल्ने अवस्था छैन। ८ घन्टा उद्योग चलाउन पनि प्राधिकरणले ट्रिपिङ गर्ने गरेको उनको भनाइ छ।
माथिल्लो तामाकोसीको विद्युत् उत्पादनको कारण देखाएर बिजुली कटौती गर्नुभन्दा पनि भारतसँग आयातको पहल गर्नुपर्ने उनले बताए। ‘ऊर्जामन्त्रीले भारतसँग विद्युत आयात गरेर पनि आपूर्ति व्यवस्थापन गर्ने भनिरहदा भारतलाई विद्युत् निर्यात गर्ने प्राधिकरणले आवश्यक परेको समयमा विद्युत आयात गर्न पनि पहल गर्नुपर्छ’, आलामको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत पनि धराशायी भएको उद्योगमा साँझमा विद्युत् कटौती हुँदा व्यवस्थापन खर्च बढ्ने बताउँछन्। लोडसेडिङ मुक्त भनेर २०७५ मा नै घोषणमा भएपनि हिउँदमा औद्योगिक क्षेत्रमा अघोषित लोडसेडिङ जारी रहेको उनले जानकारी दिए।
प्राधिकरणले सबै उद्योगहरूलाई एउटै डालोमा हालेर हेर्न नहुने भन्दै डेडिकेटेड तथा ट्रंकलाइन बक्यौता विवादलाई अहिलेको विद्युत कटौतीमा जोडे त्यसले समग्र औद्योगिक क्षेत्र धराशायी बन्ने बताए।
यता, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भने नियतवश भन्दा पनि आपूर्ति व्यवस्थापनका लागि उद्योगमा लाइन काट्न लागेको बताउँछन्। ‘सबैलाई पछिल्लो विद्युत् उत्पादन र आपूर्तिको अवस्था थाहा छ। यी प्राविधिक पक्ष हुन्, यसमा कसैलाई नियतवश असर पर्ने गरी प्राधिकरणले काम गर्दैन,’ घिसिङले अन्नपूर्णसँग भने। भारतसँग किन्न नसकेर नभइ भारतले नदिएर नै अहिले आपूर्ति व्यवस्थापन गर्न गाह्रो भएको घिसिङको भनाइ छ।
कालीगण्डकीको एउटा युनिटको विद्युत् उत्पादन मंगलबारबाट बन्द
कालिगण्डकी जलविद्युत् आयोजनाको ४८ मेगावाट उत्पादन बन्द भएको छ। १४४ मेगावाट क्षमताको उक्त आयोजनाको एउटा युनिट बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। जेनेरेटरमा समस्या आएका कारण उत्पादन बन्द भएको हो।
अघिल्लो वर्ष पनि जेनेरेटरमा समस्या भएकै कारण २ दिन उत्पादन बन्द भएको बताउँदै घिसिङले जेनेरेटर बन्न केही दिन लाग्न सक्ने बताए। यो अर्धजलाशयुक्त आयोजना हो। ४८ मेगावाट क्षमताका ३ युनिटबाट विद्युत् उत्पादन हुँदै आएकोमा जेनेरेटरमा समस्या आउँदा एउटा युनिट बन्द भएको प्राधिकरणले बताएको छ।