— कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभामा पेस भएको दलित शसक्तीकरणसम्बन्धी विधेयक छिट्टै पास हुने बताएका छन् ।
दलित अधिकारका लागि एकीकृत आन्दोलनका अगुवाहरुसँगको भेटमा उनले आफूले प्रदेश सरकारको नेतृत्व सम्हालेपछि प्रदेशसभामा पेस भएको उक्त विधेयक हाल विषयगत समितिमा छलफलको क्रममा रहेको जानकारी दिए ।अघिल्लै कार्यकालमा पास हुनुपर्ने विधेयकमा राखिएका प्रस्तावित विषयहरुलाई छलफल गरेर निष्कर्षमा पुर्याउने काम विषयगत समितिले गरिरहेकोले समितिलाई सरकारको तर्फबाट आवश्यक सहजीकरण गर्ने उनले बताए ।
'प्रदेशसभामा छिटोभन्दा छिटो प्रतिवेदन बुझाउने गरी समितिले आफ्नो काम गरिरहेको मैले जानकारी पाएको छु,' उनले भने, 'तपाईंहरुका तर्फबाट पनि कुनै विषयहरु छन् भने समितिका सदस्यहरुलाई जानकारी गराउनुहोला । प्रदेशसभाको अघिल्लो कार्यकालमा पेस भएको दलित सशक्तीकरणसम्बन्धी विधेयक प्रदेशसभामा टेबलनै नभई फिर्ता भएको थियो । तर यस पटक उक्त घटना दोहोरिने छैन ।'
सरकार आफैले विधेयक दर्ता गरिसकेपछि त्यसलाई प्रदेशसभाबाट पास गराउने जिम्मेवारी पनि प्रदेशसभाको भएको बताउँदै मुख्यमन्त्री कँडेलले समय ढिलोचाँडो होला तर विधेयक पास गराउनेतर्फ सरकारको पूरै ध्यान जाने विश्वास दिलाए ।
दलित समुदायको हक, हित र उत्थानका लागि प्रदेश सरकारको तर्फबाट विशेष ध्यान गएको बताउँदै यस वर्ष कार्यान्वयन हुने गरी ५ करोड रुपैयाँ विनियोजन गरेको पनि जानकारी उनले दिए ।
दलित विधेयक ६ वर्षदेखि प्रदेशसभाबाट पास हुन नसकेको भन्दै दलित अधिकारका लागि एकीकृत आन्दोलनको संस्थाले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको थियो । प्रदर्शनमा अगुवाइ गरेकाहरुलाई बोलाएर मुख्यमन्त्री कँडेलले छलफल गरेका हुन् ।