मुख्य समाचार
‘दक्षिण एसियाको आर्थिक विकासमा नेपाल–भारत साझेदारी अत्यावश्यक’
‘दक्षिण एसियाको आर्थिक विकासमा नेपाल–भारत साझेदारी अत्यावश्यक’

— दक्षिण एसिया क्षेत्रको आर्थिक विकासमा भारत–नेपालबीचको साझेदारी बढ्न अत्यावश्यक रहेको विज्ञहरूले औंल्याएका छन् । दुई देशबीचको बलियो साझेदारीमार्फत दिगो विकासका लक्ष्य हासिल गर्न जलविद्युत्, पर्यटन, सूचना प्रविधि, फिनटेकलगायत क्षेत्रमा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनीहरूले जोड दिए ।




भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार सम्पन्न ‘नेपाल–भारत आर्थिक सम्मेलन’ का वक्ताहरूले दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप सक्रिय तुल्याउँदै द्विपक्षीय साझेदारीलाई व्यवहारमा लागू गर्न ठोस कदम चाल्नुपर्ने बताए ।


काठमाडौं विश्वविद्यालयअन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर (एग्रो फाउन्डेसन) ले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा विज्ञहरूले जोड दिए ।

सम्मेलनले नेपाल र भारतबीचको शैक्षिक तथा क्षेत्रीय सहकार्यका सम्भावना पहिचान गर्ने बताइएको छ । शैक्षिक क्षेत्रबाट अध्ययन र तथ्यांकको प्रयोग गरी नीतिगत सहकार्यमा योगदान पुर्‍याउन सकिने विज्ञहरूले जनाए ।

दक्षिण एसियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय अवधारणाका रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ छ । भारत–नेपाल आर्थिक सम्मेलनले दुई देशबीचको सहकार्यलाई गहिरो बनाउने अवसर प्रदान गरेकाले दुई देशबीचको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा उनीहरूको जोड छ । क्षेत्रीय सहकार्यलाई बलियो बनाउन दुवै देशले समान रूपले योगदान दिनुपर्छ भन्नेमा वक्ताहरूको साझा धारणा छ ।

नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरूलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले आग्रह गरिन् । नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मध्ये सबैभन्दा धेरै भारतकै रहेको र थप लगानी विस्तार गर्न उनले आग्रह गरेकी हुन् । नेपालमा राजनीतिक स्थिरता हुनुका साथै लगानीमैत्री वातावरणमा सुधार आएकाले लगानी विस्तार गर्न सहज रहेको उनको भनाइ छ ।

‘नेपालले विदेशी लगानीका लागि आफ्नो नीति उदार बनाएको छ । भारतका उद्यमीहरूलाई ऊर्जा उत्पादन, पूर्वाधार विकास, कृषि, पर्यटन एवं सूचना प्रविधिमा लगानी गर्न आह्वान गर्छु,’ परराष्ट्रमन्त्री राणाले भनिन्, ‘नेपालमा लगानी सुरक्षित हुने र यसले उच्च प्रतिफल दिने आश्वासन दिन चाहन्छु ।’ नेपालले विदेशी लगानी आकर्षणका लागि ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको र स्वदेशी तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीति लागू गरेको उनले जनाइन् ।




दक्षिण एसियाली क्षेत्रीय सहकार्यमा कमी आएको र क्षेत्रीय संगठनहरू कमजोर बनेको नेपालका लागि भारतका पूर्वराजदूत लोकराज बरालको भनाइ छ । ‘सार्कले कुनै ठोस उपलब्धि हासिल गर्न सकिरहेको छैन । बिमस्टेकले पनि खास प्रगति गर्न सकेको छैन । यद्यपि बिमस्टेकअन्तर्गत केही परियोजना पहिचान भए पनि अगाडि बढ्न नसकेको अवस्था छ,’ उनले भने, ‘नेपाल र भारतले क्षेत्रीय सहकार्यलाई बढावा दिनुपर्छ ।’

दुई देशबीचको सहकार्यलाई राजनीतिभन्दा पर गएर आर्थिक र सांस्कृतिक साझेदारीमा केन्द्रित गर्नुपर्नेमा नेपालका लागि भारतीय पूर्वराजदूत मन्जिबसिंह पुरीले जोड दिए ।

‘नेपालका धार्मिक पर्यटकीय स्थल— जस्तै पशुपतिनाथ र मुक्तिनाथ भारतका धार्मिक पर्यटकका लागि आकर्षणका केन्द्र बन्न सक्छन् । तर नेपालले यसलाई व्यवस्थित ढंगले अघि बढाउन सकेको छैन,’ उनले भने, ‘भारतले नेपालको जलविद्युत् क्षेत्रमा ठूला लगानी गरिरहेको छ । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छ । यसले दुई देशबीच ऊर्जा सहकार्यमा थप टेवा पुग्नेछ ।’

दुवै देशले जलवायु परिवर्तन न्यूनीकरण र हरित विकासका लागि सहकार्य गर्नुपर्ने आवश्यकता रहेको उनले औंल्याए ।

भारतको इग्रो फाउन्डेसनका निर्देशक डा. अशोक विसनदासले यो सम्मेलन शैक्षिक उपलब्धिमा मात्र सीमित नरही क्षेत्रीय एकता र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण रहेको बताए । दिगो र समावेशी विकासका लागि नीतिगत तहमा सहकार्य गर्ने विषयमा सुझाव प्रदान गर्न सम्मेलनको भूमिका हुने उनको दाबी छ ।

द्विपक्षीय लगानी, पूर्वाधार निर्माण, व्यापार, पर्यटनलगायत क्षेत्रमा सहकार्यका सम्भावनाबारे महत्त्वपूर्ण निष्कर्ष निस्कने उनको अपेक्षा छ ।

इग्रोका प्रमुख कार्यकारी डा. चरन सिंहले पनि दुई देशबीचको आर्थिक सम्मेलन पहिलो पटक आयोजना गरिएको उल्लेख गर्दै छिमेकी मुलुकसँग सहकार्य, सिक्ने र सिकाउने अभ्यासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सम्मेलनले शैक्षिक अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनको धारणा छ ।

अन्तरदेशीय भुक्तानी प्रणाली र डिजिटल पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने भारतको वित्त मन्त्रालयका सल्लाहकार चन्चल सी सरकारको भनाइ छ । ‘फाइनान्सियल इन्क्लुजन, स्टार्टअप र फिनटेक क्षेत्रका लागि दुई देशबीच सहकार्यका पर्याप्त सम्भावना छन्,’ उनले भने, ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि पनि दुवै देशले धेरै काम गर्न बाँकी छ । खासगरी डिजिटल पूर्वाधार निर्माणका लागि सहकार्य आवश्यक छ । नवप्रवर्तन (स्टार्टअफ) र फिनटेकका क्षेत्रमा सहकार्यका लागि पर्याप्त सम्भावना छन् । सहकार्यका लागि भारत सधैं तयार छ ।’

नेपालजस्ता मुलुकहरूका लागि कार्बन व्यापार विकसित राष्ट्रहरूको छल मात्र भएको काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले बताए । कार्बन व्यापारसम्बन्धमा बनेको अन्तर्राष्ट्रिय कानुन र संरचना नेपालजस्ता कार्बन उत्पादन नगर्ने मुलुकहरूको हितमा नभएको उनको दाबी छ ।

‘अहिले कार्बन व्यापारको अन्तर्राष्ट्रिय नियम–कानुन र संचरना विकसित एवं औद्योगिक संरचना भएका मुलुकलाई निरन्तर प्रदूषण गरिहने र उनीहरूको आर्थिक वृद्धिको स्वार्थ मात्र पूर्ति गर्ने खालको छ,’ उनले भने, ‘विकसित मुलुकहरूले कार्बन व्यापारको अन्तर्राष्ट्रिय कानुनी संरचना र गणनाको सूत्रलाई आमूल रूपमा परिवर्तन गर्नुपर्छ, नेपालजस्तो मुलुक कार्बन व्यापारको जालझेलमा फस्नु हुँदैन ।’

नेपाल र भारतबीचको समान उत्पादन र बजार संरचनालाई सहकार्यका आधार बनाउनुपर्ने प्राध्यापक महेन्द्र पी लामाको भनाइ छ । जलविद्युत् विकासलाई क्षेत्रीय बजारमा जोड्दै संयुक्त प्रसारण प्रणालीको विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नयाँ आर्थिक करिडोर पहिचान र विकासमा जोड दिए । ‘सूचना प्रविधिका क्षेत्रमा नेपाल–भारतका युवा पुस्ताले प्रगति गरिरहेको छ । यसलाई अझ प्रवर्द्धन गर्न सकिन्छ,’ लामाले भने ।

जलविद्युत्, सूचना प्रविधि र धार्मिक पर्यटन क्षेत्र पहिचान गरिए पनि ती क्षेत्रमा पर्याप्त लगानी नभएको लगानी बोर्ड नेपालका सहसचिव प्रद्युम्नप्रसाद उपाध्यायले बताए । धार्मिक पर्यटन प्रवर्द्धनका लागि भारतका लगानीकर्तालाई होटल तथा अन्य पूर्वाधार निर्माणमा आकर्षित गर्न सकिने सम्भावना उनले औंल्याए ।

धार्मिक पर्यटनको राम्रो सम्भावना रहेका नेपालका क्षेत्रमा भारतका लगानीकर्ताले होटल तथा अन्य पूर्वाधार संरचनामा लगानी गर्न सक्ने सम्भावना रहेको उनले जनाए । भारतीय लगानीका अरुण तेस्रो, तल्लो अरुण, पश्चिम सेती र एसआर सिक्स, माथिल्लो कर्णाली, डाबर नेपाललगायत परियोजना नेपालमा अघि बढेको उनको भनाइ छ ।

सगरमाथादेखि सागरसम्मको आपूर्ति शृंखला तयार पार्न सक्नुपर्नेमा भारतीय विदेश व्यापार संस्थानका भाइस चान्सलर प्राध्यापक राकेश मोहन जोशीले जोड दिए । वस्तुको मूल्य अभिवृद्धि निर्माण, सहज बजार पहुँच, गैरकर अवरोध हटाइनुपर्नेलगायत विषयलाई दुवै देशले महत्त्व दिनुपर्ने उनी बताउँछन् ।

नेपालमा संघीयताको सुरुवातपछि नेपालमा सूत्रमा आधारित वित्तीय हस्तान्तरण प्रणाली लागू गरिएको लगानी बोर्ड नेपालका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टले जनाए ।

प्रारम्भिक चरणमा अनुदानलाई तल्लो तहसम्म प्रभावकारी रूपमा व्यवस्थापन गर्न चुनौतीपूर्ण अवस्था थियो । वेबमा आधारित आयोजना दर्ता प्रणाली र क्षेत्रगत विकास रणनीति तयार पारिनुका साथै आयोजना बैंक निर्माणको प्रक्रिया पनि चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

नेपालमा सार्वजनिक निजी साझेदारी अवधारणामार्फत परियोजना विकास गर्न ठूलो तयारी गरिएको भट्टले उल्लेख गरे । ‘ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन दुई देशबीच विद्युत् व्यापारका लागि महत्त्वपूर्ण पूर्वाधार साबित भएको छ,’ उनले भने, ‘सीमाक्षेत्रमा आवश्यक पूर्वाधार निर्माण, अन्तरदेशीय आर्थिक करिडोर विकास र दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माणलाई प्राथमिकतामा राख्नुपर्छ ।’

नेपालको पर्यटन क्षेत्रको लगानीसम्बन्धमा नेपाल र भारतबीच निजी क्षेत्रको सहकार्य निकै राम्रो भए पनि दुई सरकारबीच सहकार्य थप प्रभावकारी र परिणामूखी बनाउनुपर्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जनाए ।

‘पर्यटन क्षेत्रको विकास र विस्तारका लागि सृजनशीलता र नवीनता प्रवर्द्धनका लागि नेपाल भारतबीच नतिजामूखी सहकार्य आवश्यक छ,’ उनले भने, ‘साहसिक गतिविधि र विवाहका लागि नेपाल एक उत्कृष्ट गन्तव्य बन्न सक्छ । नेपालको लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका ६ वटा र भारतका उत्तरप्रदेश र उक्तराखण्डका पाँचवटा राष्ट्रिय निकुञ्ज समेटेर पर्यटनको संयुक्त प्याकेजमार्फत प्रवर्द्धन गर्दा दुवै देशले लाभ लिन सक्छन् ।’

नेपाल र भारत दुई देशबीच खुला सिमाना रहेकामा यसलाई भारतले सैनिक सुरक्षाको दृष्टिकोणले हेर्ने गरेको र नेपालले राजस्व तथा भन्सारसँग जोडेर हेर्ने गरेको काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक उद्धव प्याकुरेलले बताए ।

सुपारी र केराउको अवैध व्यापारको विषय उठाउँदै यस्ता विषयलाई दुवै देशको सहकार्यबाट नियन्त्रण गर्न सकिने भए पनि त्यसको प्रयास हुन नसक्नु दुःखद भएको उनको भनाइ छ । ‘दुई देशबीच व्यक्ति–व्यक्तिबीचको सम्बन्धलाई बढावा दिन सके सुरक्षा चुनौती व्यवस्थापन गर्न सकिन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...