मुख्य समाचार
जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा
जीबी राईविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा पनि मुद्दा

— पोखराको सूर्यदर्शनसहितका सहकारी ठगीका मुख्य योजनाकार गीतेन्द्रबाबु (जीबी) राईलाई १५ वर्षसम्म कैद र साढे २ अर्ब रुपैयाँ बिगो मागदाबी गर्दै शुक्रबार कास्की जिल्ला अदालतमा पूरक मुद्दा दायर भएको छ ।




जिल्ला सरकारी वकिल कार्यालयले राईसहित सूर्यदर्शन सहकारी ठगीका सुरुआती १९ प्रतिवादीलाई थप कसुर र बिगो कायम गर्दै पूरक अभियोगपत्र दर्ता गरेको हो । सूर्यदर्शन सहकारीका बचत अपचलनकर्ताबाट मात्रै १ अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ बिगो मागदाबी गरिएको छ ।


सहकारीपीडितले २०८० भदौ २२ मा सूर्यदर्शन सहकारीका संरक्षक एवं पूर्वअध्यक्ष जीबी राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारी र प्रमोद भट्टराईविरुद्ध जाहेरी दिएका थिए । पोखरा महानगरपालिकाले सहकारीको वित्तीय विश्लेषण प्रतिवेदन तयार पारेपछि प्रहरीले थप १२ जनामाथि अनुसन्धान थालेको थियो ।

सहकारीको पूर्वसञ्चालक समितिमा रहेका भूपेन्द्र राई, अनुज नकर्मी, शिवबहादुर गुरुङ, भवीश्वर अर्याल, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोक्का, सृष्टि मानन्धर, बुद्धि गुरुङ र सुरज श्रेष्ठसमेत गरी १९ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले २०८० असोज १८ मा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । त्यतिबेला १ अर्ब ११ करोड १९ लाख ४३ हजार बिगो मागदाबी गरिएको थियो ।

शुक्रबार भने सहकारी ठगीमा बिगो बढाएर संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलाइएको हो । कास्की जिल्ला अदालतका निमित्त श्रेस्तेदार ख्यामनारायण लामिछानेले १९ अभियुक्तमध्ये १६ जनाका हकमा सहकारी ठगीको दफा र बिगो दाबी थप भएको जानकारी दिए ।

‘जीबी राईका हकमा सहकारीको दफा थप, बिगो थप, संगठित अपराधको दफासहित सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअनुसारको दफा थपसहित पूरक अभियोग प्राप्त भएको छ,’ उनले भने ।

जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्लेले अपचलनकर्ताबाट असुल गरी बचतकर्तालाई दिलाउन मुद्दा दर्ता गरिएको बताइन् । ‘पुरानो अभियोगलाई प्रमाणित गर्न थप दाबी गरेर मुद्दालाई पूर्णता दिएका छौं,’ उनले भनिन्, ‘ककसले कति अपचलन गरेको छ, कति बिगो भर्नुपर्ने हो, अभियोगपत्रमा छ ।’




यो प्रकरण सहकारी ठगी मात्रै नभएर संगठित अपराध, राष्ट्र बैंक ऐनविरुद्धको कसुर र सम्पत्ति शुद्धीकरण पनि जोडिएको उनले बताइन् ।

पूरक अभियोगमा सबैभन्दा धेरै बिगो र सजायको मागदाबी जीबी राईका नाममा छ । उनका लागि सम्पत्ति शुद्धीकरणमा करिब एक अर्ब ८६ करोड ७३ लाख बिगो कायम गरिएको छ ।

त्यसमध्ये सहकारी ठगीतर्फ सामूहिक र व्यक्तिगत बिगो गरी ४६ करोड ६८ लाख र राष्ट्र बैंक ऐनअन्तर्गत सामूहिक जिम्मेवारीतर्फ १८ करोड ४८ लाख ८ हजार छ । सामूहिक बिगोतर्फ सहकारीको १७ करोड ३२ लाख, गोर्खा मिडिया नेटवर्कको २ करोड ५० लाख, नेचर हर्ब्सको ३ करोड ८७ लाख, नेचर नेस्टको ४ करोड ४५ लाख, जीबी ग्रुपबाट २ करोड ६० लाख, स्प्रिङउडको १ करोड ४७ लाख, गोर्खा ग्रुप मल्टीको १ करोड ११ लाख र एस एन्ड बी कम्पनीको ३० लाख बिगो कायम छ ।

राईलाई सहकारी ठगीमा ६ देखि ८ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय, राष्ट्र बैंक ऐन २०५८ बमोजिम ३ वर्षसम्म कैद र सम्पत्ति शुद्धीकरण कसुरमा २ देखि १५ वर्षसम्म कैद र बिगोको दोब्बर जरिवाना मागदाबी गरिएको छ ।

पूरक अभियोग लगाइएका १९ मध्ये कैलाशकुमार दर्लामी, कुमार रम्तेल, प्रमोद भट्टराई, अनुज नकर्मी, शिवबहादुर गुरुङ र भवीश्वर अर्याल कास्की कारागारमा पुर्पक्षका लागि थुनामा छन् । जीबी राईसहित १३ जना फरार छन् । रास्वपा सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछाने, पूर्वउपाध्यक्ष छविलाल जोशीसहित अन्य नयाँका हकमा अदालतमा मुद्दा लान बाँकी छ ।

सहकारीका पीडितले २०८० माघ २२ मा रवि लामिछाने, ज्ञानबहादुर बम्जन, नेत्रपाणी बाँस्तोला, दीपेश पुन मगर र १४ वटा कम्पनीविरुद्ध पूरक जाहेरी दिएका थिए । पोखरा महानगरपालिकाले पुनः अर्को वित्तीय विश्लेषण तयार गरी गत वैशाख २६ मा प्रहरीलाई प्रतिवेदन बुझाएको थियो ।

प्रहरीले गत असारमा सहकारीको अपचलनमा पूर्वसञ्चालक समितिमा रहेका थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेर अनुसन्धान थालेको थियो । त्यतिबेलै बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा उनी पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् । उनी सूर्यदर्शनको पूर्वउपाध्यक्षसमेत हुन् ।

असारमा पक्राउ पुर्जी जारी गरिएका २५ जनामध्ये ओमप्रकाश गुरुङ बुटवलको सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि रूपन्देही कारागारमा छन् । सूर्यदर्शनसँगै जोडिएका लीलाबहादुर गुरुङ नख्खु कारागारमा पुर्पक्षमा छन् ।

उनीविरुद्ध ललितपुरको कल्याण उपकार सहकारीको बचत अपचलनको अभियोगमा पनि मुद्दा चलिरहेको छ । यसरी प्रहरीले प्रतिवादी बनाउनुपर्ने भनेकामध्ये ९ जना पुर्पक्षका लागि पहिले नै विभिन्न जिल्लाका कारागारमा रहेका हुन् ।

सूर्यदर्शन सहकारीको बचत अपचलनमा कास्की प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको टोलीले अनुसन्धान गरेको थियो । लामिछानेले गृहमन्त्री भएका बेला संसदीय समितिमा प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आफूविरुद्ध कतै उजुरबाजुर नरहेको भन्न लगाएका थिए ।

महान्यायाधिवक्ताको कार्यालयबाट समेत पत्र लेखाएर आफूविरुद्ध कतै उजुरी नरहेको दाबी गरेका थिए । तर लामिछाने सहकारी ठगीमा संलग्न रहेको प्रमाण सार्वजनिक हुँदै गएपछि संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संसद्समेत अवरुद्ध गरेको थियो ।

लामो रस्साकसीपछि एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । समितिले प्रतिवेदन तयार गरी भदौ ३१ मा प्रतिनिधिसभामा बुझाएको थियो । सहकारीको रकम कानुनविपरीत गोर्खा मिडियामा लगेर अपचलन गरेको निष्कर्ष निकाल्दै समितिले गोर्खा मिडियाका अध्यक्ष जीबी, सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र पूर्वउपाध्यक्ष सञ्चालक छविराज जोशीलाई कारबाही सिफारिस गरेको थियो ।

सरकारले उक्त प्रतिवेदन स्वीकृत गरेर कार्यान्वयनमा लाने निर्णय गरेपछि गत असोज ६ मा जोशी र कात्तिक २ मा लामिछाने पक्राउ परेका थिए । सूर्यदर्शन ठगीसँग जोडिएका लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसमेत गरी पाँच जना कास्की प्रहरीको हिरासतमा छन् ।

उनीहरू विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा १५ वर्षसम्म कैद र बिगोको मागदाबी गर्नुपर्ने रायसहित प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

पहिलेका र थप गरी ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय प्रहरीको छ । उनीहरूबाट डेढ अर्ब रुपैयाँ बिगो असुल गर्नुपर्ने प्रहरीले प्रतिवेदनमा उल्लेख गरेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अधिकतम ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधान छ । उक्त हदम्याद शुक्रबार राति सकिएको छ ।

जिल्ला न्यायाधिवक्ता काफ्लेले लामिछानेलगायतका हकमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा आइतबार अभियोगपत्र लैजाने तयारी रहेको बताइन् । ‘हाम्रो समय सीमाभित्र जसरी पनि मुद्दा अदालत टेकाउँछौं,’ उनले भनिन् ।

लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधि उत्पादनको अवस्था बुझ्न गएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सार्वजनिक संस्थानहरूलाई पुँजीगत सहयोग गर्न सकिने तर तलब दिनका लागि सरकारले रकम दिन नसक्ने बताएका छन् औषधि उत्पादनको अवस्थाबारे अनुगमन गरेपछि उनले भने, 'उत्पादन नबढाउने अनि सरकारसँग पैसा मागेर तलब र उपादान दिन सकिन्न ।' मन्त्रालयका उच्च अधिकारीसहित अनुगमनमा गएका मन्त्री पौडेलले ...
— सरकारी कर्मचारीभित्र गठन गरिएका ट्रेड युनियनहरू खारेज गर्नुपर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बताएका छन् । जनताले तिरेको करबाट तलब खाने सरकारी कर्मचारी नै ट्रेड युनियन खोलेर बस्नु सही नभएको उनको भनाइ थियो । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि ...
— एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिएको बताएका छ्न् । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेको भनिएको फोटो सार्वजनिक भएको र त्यसबारे टिकाटिप्पणी भइरहेको विषयमा महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । 'सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएकाहरू ...
— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको उपनिर्वाचन र पत्रकार महासंघ निर्वाचन परिणामले माओवादीप्रति जनमत सकरात्मक देखिएको बताएका छन् । उपनिर्वाचनको परिणामपछि उत्साहित दाहालले गत साता भएको पत्रकार महासंघको निर्वाचनमा पार्टीको निकट संगठन प्रेस सेन्टरले एक कोषाध्यक्ष र छ केन्द्रीय सदस्य जितेपछि सन्तुष्टि जनाएका हुन् । उनले कांग्रेस निकट प्रेस युनियन र एमालेको प्रेस चौतारीको गठजोड ...
— नेपाली कांग्रेसले कुनै पनि तहमा क्रियाशील सदस्यता वितरण नरोक्न आह्वान गरेको छ । कांग्रेस क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक एवं पार्टी महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बिहीबारको बैठकले उक्त आह्वान गरेको हो । पार्टीको कुन–कुन तहमा सदस्यता रोकिएको छ भन्ने विषयमा अर्को बैठकमा छलफल हुने भएको छ । जिल्ला सभापतिले क्रियाशील सदस्यता फारम रोकेको भेटिए ...