मुख्य समाचार
किशोरकिशोरीको मानसिक स्वास्थ्यका निम्ति किन घातक छ, ब्युटी र बडी फिल्टर
किशोरकिशोरीको मानसिक स्वास्थ्यका निम्ति किन घातक छ, ब्युटी र बडी फिल्टर

— केही दिनअघि मात्र टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी फिल्टर र बडी फिल्टरमा प्रतिबन्ध लगाउने घोषणा गर्‍यो । बालबालिका र किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो नीति अवलम्बन गर्न लागिएको टिकटकको प्यारेन्ट कम्पनी, बाइटडान्सका ग्लोबल कम्युनिकेसन प्रतिनिधि इमाद जफरले बताए ।




जफरले किशोरकिशोरीहरु यस्ता फिल्टरहरुको प्रयोगको असरबारे जानकार नभएकाले कम्पनीले नै प्रयोगमा रोक लगाउन लागेको बताए । उनले भनेका छन्, ‘टिनएजका केटाकेटीहरू यस्ता फिल्टरको मानसिक असरबारे सचेत नहुने भएकाले हाम्रो एपमा उनीहरूलाई यो सुविधा प्रयोगमा रोक लगाउने तयारी छ ।’


आउँदा दिनमा सो उमेरका केटाकेटीले आफ्ना भिडियोमा आँखा ठूला बनाउने, ओठको मोटाइ बढाउने, छाला चिल्लो देखाउने, छालाको रङ बदल्ने, ‘बोल्ड ग्लामर’जस्ता अनुहारको बनोट नै फेरबदल गर्ने र मेकअप गरिएको जस्तो अनुहार बनाउने ब्युटी फिल्टर प्रयोग गर्न पाउने छैनन् ।

उसो त, टिकटक प्लाटफर्ममा नै समय समयमा मानसिक स्वास्थ्य ख्याल गर्नुपर्ने, व्यक्तिगत सशक्तिकरण, आफ्नो शरीरलाई माया गर्न उत्प्रेरित गर्ने जस्ता सामग्रीहरु आइरहन्छ । यद्यपि टिकटक वा अन्य फिल्टरका लागि प्रयोग गरिने एपहरुले पार्ने मानसिक असरबारे प्रयोगकर्ताको ठूलो समूह अनविज्ञ छ । जस्तो, बालबालिकाका लागि प्रतिबन्ध गर्न लागिएको बोल्ड ग्लामर फिल्टर प्रयोगको तथ्यांक हेरौं । आजसम्म (यो रिपोर्ट तयार गर्ने समयसम्म) २६४ मिलियन पटक यो फिल्टर राखेर प्रयोगकर्ताले भिडियो बनाएका छन् । अर्थात् २६४ मिलियन पटक आफ्नो अनुहारको बनोट परिवर्तन गरेर भिडियो बनाइएको छ ।

तर, यसरी फिल्टर प्रयोग गर्दा प्रयोगकर्तामा कस्तो असर पर्छ त ? ब्यूटी र बडी फिल्टरले मानसिक स्वास्थ्यमा पार्ने नकारात्मक प्रभावबारे ‘सिटी युनिभर्सिटी अफ लन्डन’का केही अनुसन्धानकर्ताहरुले सन् २०२० मा अध्ययन गरेका छन् । छालाको रंग गोरो बनाउने, छाला चम्किलो बनाउने, दाँत सेतो बनाउने, शरीर पातलो देखाउने, ‘ज लाईन शार्प’ देखाउने, नाक सानो बनाउने, आँखा, ओठ ठूलो देखाउने जस्ता फिल्टरहरु अत्याधिक प्रयोग हुने गरेको अध्ययनले देखाउँछ ।

औसत २० वर्ष उमेर भएका १७५ महिलाहरुसँग गरिएको उक्त अध्ययनमा ९० प्रतिशत महिलाहरुले आफ्नो फोटोमा फिल्टर प्रयोग गर्ने वा फोटोमा ‘इडिट’ गर्ने बताए । फिल्टर प्रयोग गर्ने सहभागीहरुमध्ये ९४ प्रतिशतले राम्रो देखिनुपर्ने दबाबले फिल्टर प्रयोग गरेको बताएका छन् ।

त्यस्तै निचोड सन् २०२१ मा प्यारेन्टस् टुगेदर नामक संस्थाले अमेरिकाको १३ देखि २१ वर्षका २ सय किशोरकिशोरीहरुलाई लिएर गरिएको एउटा सर्वेक्षणले निकालेको थियो । जसमा ४८ प्रतिशत किशोरकिशोरीहरुले हप्तामा कम्तीमा एक पटक ब्युटि फिल्टर प्रयोग गर्ने गरेको देखायो । पाँचमा एक जनाले हरेक पोस्टमा फिल्टर प्रयोग गर्ने गरेका छन् ।




६३ प्रतिशत किशोरकिशोरीहरुले आफ्नो वास्तविक अनुहारभन्दा राम्रो देखिन, ५८ प्रतिशतले आफूलाई मन नपर्ने अनुहारको भाग लुकाउन र ५२ प्रतिशतले अनुहारको बनोट नै परिवर्तन गर्न फिल्टर प्रयोग गर्ने गरिएको सर्वेक्षणले देखाएको छ । यो सर्वेक्षणले ब्युटी फिल्टरले किशोरकिशोरीहरुको आत्मविश्वासमा नकारात्मक असर गरेको पनि देखाएको छ । ६१ प्रतिशत किशोरकिशोरीहरुले ब्युटि फिल्टर प्रयोग गर्दा आफूलाई वास्तविक जीवनमा झन् नराम्रो देख्ने गरेको बताएका छन् । ‘टिकटक र स्न्यापच्याटका फिल्टरहरुले मलाई आफू नराम्रो भएको महसुस गराउाछ’, १३ देखि १५ बिचको उमेर भएकी एक किशोरीले बताएकी छिन् ।

फिल्टरको प्रयोगले किशोरकिशोरीहरुको दिमागमा असन्तुष्टि र दबाब सिर्जना गरिरहेको देखिन्छ । यसरी वास्तविक सौन्दर्यभन्दा कृत्रिम सौन्दर्यलाई महत्व दिइने पाइएको छ । यस्ता सोचले उनीहरुको मानसिक स्वास्थ्यमा असर गरेको छ । ‘जब म माध्यमिक विद्यालयमा थिएँ, मैले समाजले बनाएको सुन्दरताको मापदण्डको अनुसार मेरो आत्ममूल्य खोज्न थालेँ । म हरेक दिन फिल्टरहरु प्रयोग गर्थें र पर्फेक्ट शरीर बनाउन आफूलाई दबाब दिन्थें’, १६ देखि १७ बीचको उमेर भएका एक किशोरले बताएका छन्, ‘यो दबाबलाई सामाजिक सञ्जाल र ब्युटी फिल्टरले थप बल दियो जसले मलाई ‘इटिंग डिसर्डर’ नै भयो ।’

सानै उमेरबाट फिल्टरको प्रयोगले शरीरप्रति नकारात्मक छवि बनाउने, आत्मविश्वासमा कमि ल्याउन सक्छ । किशोरकिशोरीहरुलाई फिल्टर प्रयोग नगरिएको फोटोदेखि लाज लाग्ने गरेको उनीहरुले बताए ।

न्युयोर्कको ‘द कट’ म्यागेजिनमा जेनिफर सुलिभानको ब्युटी फिल्टरमाथि एउटा लेखमा नर्थवेस्टर्न विश्वविद्यालयकी मनोविज्ञानकी प्राध्यापक पीएचडी. रेनी एनगेलएनले किशोरावस्था डिप्रेसन, एन्जाइटी, शारीरिक छविप्रति नकारात्मक सोच्ने जस्ता कुरामा संवेदनशील हुन्छन् त्यसैले फोटो फिल्टरहरु किशोरीहरुलाई अझ हानीकारक रहेको बताएकी छिन् ।

एनगेलएनले भनेकी छिन्, ‘सामान्यतया हामी मानिसहरु एकअर्कासँग आफूलाई तुलना गर्छौं, तर फिल्टरहरुबाट हामी आफूलाई आफ्नै विभिन्न रुपहरुसँग तुलना गर्छौं जुन अझ हानीकारक हो । यसले हामी जे छौं त्यो भन्दा फरक हुन सक्छौं भन्ने भावना जगाउँछ । र ब्युटि स्ट्यान्डर्डमा पुग्ने बाध्यतामा धेरै समय र पैसा खर्च गराउँछ ।’

त्यस्तै फिल्टरहरुले हामीलाई वस्तुकरणको सिकार बनाउने तर्क बनार्ड कलेज अफ कोलम्बिया युनिभर्सिटिकी सहायक प्राध्यापक पीएचडी. तारा वेलको छ । वेलले उक्त लेखमा भनेकी छिन्, ‘फिल्टर प्रयोग गर्नाले आफूलाई कुनै भौतिक वस्तुको रुपमा हेरेर, सुधार गरी पर्फेक्ट बनाउन खोजिन्छ । जति मानिसहरु आत्म वस्तुकरणमा संलग्न हुन्छन् उति नै उनीहरु आफ्ना भावना र संवेदना महसुस गर्न असक्षम हुन्छौं ।’

बेल्जियमको जर्नल अफ चिल्ड्रेन एन्ड मिडियाले औसत उमेर १६ भएका ३ सय ३३ किशोरकिशोरीहरुलाई लिएर गरिएको एउटा रिर्सचमा अनुहार र शरीरमा फिल्टर प्रयोग गर्नुले कस्मेटिक सर्जरीप्रति आकर्षण बढाउने देखाएको छ । अध्ययनमा २ सय ३७ जना केटीहरु थिए । कति केटीहरुले वास्तवमै सर्जरी गर्न चाहन्छन् भन्ने संख्या अध्ययनमा उल्लेख गरिएको छैन । यद्यपि अध्ययनले फिल्टरको प्रयोग र कस्मेटिक सर्जरीप्रतिको सामाजिक स्वीकृतिबीच सकारात्मक सम्बन्ध रहेको देखाएको छ ।

तर, नेपालमा भने ब्युटी फिल्टरको असरबारे अध्ययनहरु गरिएका छैनन् तर अन्य देशमा भएका अध्ययनहरु यहाँ पनि सान्दर्भिक हुने तर्क मनोचिकित्सक डा. अरुण कुँवरको रहेको छ । उनका अनुसार ब्युटि फिल्टर आएदेखि किशोरकिशोरी र युवाहरुमा एउटा आइडियल शरीर कस्तो हुनुपर्छ भन्ने धारणा नै परिवर्तन भयो । सबैले आफूलाई नराम्रो देख्न थाले ।

‘फिल्टरले बडी इमेज इस्यु अर्थात् म राम्रो छैन, मेरो ज्यान राम्रो छैन, अनुहार राम्रो छैन भन्ने बनाउँछ । आफूमा असन्तुष्टि ल्याउँछ । यस्तै धारणा भएका थुप्रै क्लाइन्ट आउने गरेका छन् । यसको कारणहरुमध्ये फिल्टरहरु र यस्ता सामग्रीहरु धेरै एक्स्पोज हुने सोसियल मिडिया प्लाटफर्म हो’, कुँवर भन्छन्, ‘अध्ययनहरुले नै देखाएको छ कि, आफूबारे नराम्रो महसुस गर्ने व्यक्तिहरुले केही हप्ता सोसियल मिडिया प्रयोग गरेनन् भने आफूबारेमा राम्रो महसुस गर्न थाल्छन् । यी कुराहरुले नर्मल के हो भन्ने बिर्साइदिएको न हो । त्यसैले नै बालबालिकालाई सोसियल मिडियामा धेरै एक्स्पोज गराउन हुँदैन ।’

क्लिनिकल साइकोलोजिस्ट हसना श्रेष्ठले फिल्टर प्रयोग गर्ने कुराको पनि एउटा चक्र हुने बताउँछिन् । ‘समाजमा जो व्यक्ति आफ्नो भौतिक रुपलाई लिएर स्वीकारिएको महसुस गर्छ उसमा आत्मस्वीकारोक्ति पनि हुन्छ । तर जसले बारम्बार आफ्नो भौतिक रुपलाई लिएर तुलनामात्र पाउँछ, उसमा आत्म स्वीकारोक्ति पनि हुँदैन’, श्रेष्ठ भन्छिन्, ‘आफूलाई आफ्नो कमजोरीको लेन्सबाट मात्र हेर्नेको लागि, समाजबाट भ्यालिडेसन पाउने टुल जस्तो बनेको छ, फिल्टर । फिल्टर प्रयोग गरेपछि वास्तविक रुप अझ मन पर्न छोड्छ । आत्मस्विकारोक्ति पनि अझ घट्छ ।’ श्रेष्ठको बुझाईमा फिल्टर प्रयोग गर्नु भनेको वास्तविकताबाट पर रहनु हो । उनले फिल्टरहरु केहीका लागि आत्मविश्वास ल्याउने माध्यम भएको छ । छोटो समयका लागि राम्रो जस्तो देखिने फिल्टरको लामो समयको प्रयोगले भने नराम्रो प्याटर्न विकास गर्छ ।

‘बालबालिकालाई सानैदेखि जे गरिन्छ उसको सोच त्यस्तै विकास हुन्छ । त्यसैले सानोबाटै ब्युटी फिल्टरको लेन्सबाट बच्चाहरुले आफूलाई हेर्छ भने आफू त्यस्तै हुनुपर्छ भन्ने मान्यता बालबालिकामा विकास हुन्छ,’ श्रेष्ठले बताइन् ।

मनोसामाजिक परामर्शदाता आदित्य डंगोल सुन्दरतालाई लिएर पहिल्यैदेखिको मान्यतालाई ब्युटी फिल्टरले मलजल गरेको बताउँछिन् । ‘ब्युटीलाई लिएर धेरै जना इनसेक्योर महसुस गर्छन् । मानिसहरुमा आत्मविश्वासको कमी छ । ब्युटी फिल्टरले आफू जे छु त्यो ठीक छैन भन्ने धारणा दिन्छ,’ उनी भन्छन्, ‘फेरि किशोरावस्था अरुले गरेको सिक्ने समय पनि हो, साथीहरुसहित जताततै प्रयोग गरिएको कुरा आफूले पनि प्रयोग गर्नुपर्छ भन्ने सोच्छन् ।’

फिल्टरको लगातार प्रयोगले आफ्नो लुक्स परिवर्तन गर्न कस्मेटिक्स प्रयोग गर्ने बाध्यतासम्म धकेल्ने डंगोल बताउँछन् । भन्छन्, ‘यसले एन्जाइटी, डिप्रेसन, इटिगं डिसर्डरदेखि बडी डिस्मोर्फियासम्म पुर्‍याउन सक्छ । जुन मानसिक रुपमा मात्र होइन शारीरिक रुपमा पनि हानिकारक बन्न पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् । नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कुलशेखर अर्यालले समस्या हल गर्न निरन्तर लागिरहेको बताएका छन् । ‘सिस्टममा समस्या आएपछि त्यसको सामाधानका ...
गुगल अन्तर्गतको फिटबिटले आफ्नो अहिलेसम्मकै सानो र हलुका वेयरेबल डिभाइस ‘फिटबिट एयर’ सार्वजनिक गरेको छ। धेरै मानिसहरूलाई स्मार्टवाच भारी र जटिल लाग्ने समस्यालाई सम्बोधन गर्न यो डिभाइस डिजाइन गरिएको हो । मे ७, २०२६ मा सार्वजनिक गरिएको यो डिभाइस विशेषगरी ती प्रयोगकर्ताहरूका लागि लक्षित छ जो २४सै घण्टा बिना कुनै अवरोध आफ्नो स्वास्थ्य ट्र्याक गर्न चाहन्छन् ...
पेपालले आफ्नो व्यवसायलाई तीनवटा सञ्चालन इकाईहरूमा पुनर्गठन गर्ने घोषणा गरेको छ, जसमा लोकप्रिय भुक्तानी एप ‘भेन्मो’ का लागि छुट्टै विभाग समावेश गरिएको छ। नयाँ सीईओ इन्रिके लोरेसले कम्पनीको संरचनालाई सरल बनाउन र वृद्धिमा बढी केन्द्रित हुन यो कदम चालेका हुन्। भेन्मोलाई छुट्टै खण्ड बनाउँदा यसको कार्यसम्पादन ट्र्याक गर्न सजिलो हुने र भविष्यमा यस व्यवसायलाई बिक्री गर्न ...
। अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले हालै सार्वजनिक गरेको एक अध्ययनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोटहरूको बढ्दो लोकप्रियतासँगै एउटा गम्भीर जोखिमलाई सतहमा ल्याएको छ। अनुसन्धानकर्ताहरूका अनुसार, च्याटबोटहरूलाई जति धेरै मिलनसार, न्यानो र सहानुभूतिपूर्ण बनाउने कोसिस गरिन्छ, तिनीहरूले त्यति नै धेरै गल्ती गर्ने र प्रयोगकर्ताका गलत एवं भ्रामक धारणालाई समर्थन गर्ने सम्भावना बढेर जान्छ । ‘नेचर’ जर्नलमा प्रकाशित यस ...
: राष्ट्रिय पञ्जीकरणका सूचना नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया थालिएको सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहले जानकारी दिए। अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको र केही समयभित्र कार्यान्वयनमा ल्याउनेगरी तयारी भइरहेको उनको भनाइ छ। तथ्यांक एकीकरणपछि जन्मदर्ता, विवाह ...