— प्रहरीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँ घर भई काठमाडौं टोखा नगरपालिका–६ ग्राण्डी बस्ने बुद्धिबहादुर बस्याल रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रूपैयाँ र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै पीडितबाट १ लाख ९० हजार रूपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।
उनीहरुलाई पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।