— पाल्पाको तिनाउ गाउँपालिकामा विस्फोटक पदार्थले माछामार्ने क्रममा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
तिनाउ–२, दोभान बुढासटकमा विस्फोटक पदार्थ विस्फोट भएर स्थानीय २८ वर्षीय सुरज सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । बुढासटकका मदन सोमैको घर पछाडि आँगनमा सलाईको काँटीबाट माछा मार्नका लागि विस्फोटक पदार्थ बनाउने क्रममा अचानक विस्फोट हुँदा सोमै घाइते भएका हुन् । उनको उपचारका क्रममा बुटवल हस्पिटल प्रालि रुपन्देहीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
विस्फोटक पदार्थ विस्फोट हुँदा रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, डिंगरनगर घर भई बिहीबार मदनबहादुर सोमैको घर आएका २१ वर्षीय कोसिस भुजेल र २८ वर्षीय कुशल भुजेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पलो जनाएको छ । उनीहरुलाई उपचारको लागि बुटवल हस्पिटल पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।