— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले अहिलेको संविधानले सबै समुदाय र भाषालाई न्याय गर्न नसकेको बताएका छन् । सिरहामा शुक्रबारदेखि सुरु भएको चारदिने ३५औं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन तथा सिरहा साहित्य संगममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भट्टराईले अहिलेसम्म प्राप्त उपलब्धिलाई संरक्षण गर्दै थप अधिकार र न्यायका लागि संघर्ष गर्नुपर्ने बताए । 'अहिलेको संविधानले सबै समुदाय र भाषालाई न्याय गरेको छैन,' उनले भने, 'त्यसैले मैले यसलाई आधा गिलास खालि भन्ने गर्छु, संविधानलाई पूर्ण बनाउन संघर्ष जरुरी छ ।'
मैथिली र मधेशलाई आफूले एकहोरो प्रेम गरिरहेको पनि उनले बताए । मैथिली भाषा नेपालमा बोलिने भाषामाध्ये दोस्रो स्थानमा भएपनि इतिहासका हिसाबले पहिलो भाषा भएको भट्टराईको भनाइ छ ।
भट्टराईले मधेश भौगोलिक हिसाबले समृद्ध भएपनि आर्थिक र सामाजिक सूचकांकमा पछाडी रहेको भन्दै चिन्ता व्यक्त गरे । शासक वर्गले मधेशलाई हेर्ने नजरिया अझै परिवर्तन हुन नसकेको भन्दै नेपाललाई साझा मुलुक बनाउन सबैलाई संघर्ष गर्न उनले आग्रह गरेका छन् ।