— पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष गितेन्द्रबाबु(जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा पेस गरेको हो ।
१९ जनामध्ये सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेलसमेत छन् ।
यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपल्ट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, ३ जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना भने फरार छन् । रास्वपा सभापति रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ५ जनाविरुद्ध भने आइतबार मात्र अभियोपत्र अदालतमा बुझाइने जिल्ला न्यायाधिवक्ता काफ्लेले बताइन् ।
पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेको शुक्रबार ९० दिन पुगेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अधिकतम ९० दिन थुनामा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रबन्ध छ । शुक्रबार राति १२ बजे उक्त म्याद सकिने र शनिबार बिदा भएकाले आइतबार मात्र अभियोगपत्र दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
लामिछानेसहित पाँचै जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोगपत्र दायर गरिने सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएपछि जिल्ला अदालतले लामिछानेसहित पाँचै जनाको बयान लिने छ । बयानपछि थुनछेकको बहस हुनेछ ।