— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी (विश्वेश्वरप्रसाद कोइराला) को नाम लिएर आफूलाई मन लागेका कुराहरु भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा कैलास कोइरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्र नेताहरुलाई आफूलाई भन्न मन लागेको कुराहरु बीपीको नाम लिएर भन्ने गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टीका नेता, कार्यकर्ताहरुले बीपीले यस्तो भन्नुहुन्थ्यो भन्नु छ भने अरुले भनेको सुनेको आधारमा भन्न नहुने बताए । उनले रिफ्रेन्समा प्रयोग गर्न पाइने भएपनि आफैँले अध्ययन गरेर मात्रै प्रयोग गर्न आग्रह गरे । आफूलाई भनेको कुरा बीपीको नाममा भन्ने र आफू उम्किने बाटो खोज्ने गरेको आरोप लगाए ।
‘हाम्रो पार्टीभित्र जसलाई जे कुरा भन्नुपरेता पनि कसैलाई आफूलाई मन लागेको कुरा भन्नुपर्यो भने कहाँ गएर खोज्ने भने बीपीले यस्तो भन्नुभएको थियो भन्ने । बीपीले आएर मैले यस्तो भनेको होइन भन्नुहुन्न । बीपीले यस्तो भनिदिएको थियो भनेर भनिदिने । त्यसो गरेपछाडि सजिलोसँग उम्किने बाटो हुने । नेपाली कांग्रेस पार्टीमा म पछिल्लो समय हेर्छु । हाम्रो पार्टीभित्र कयौँ विषयहरु छन् । मन नपर्ला, कसैलाई संघीयता मन नपर्ला, कसैलाई संविधान मन नपर्ला । कसैलाई के मन नपर्ला,' उनले भने, 'यो त प्रोग्रामका कुराहरु हुन् । बढो सजिलोसँग पार्टीको बैठकमा वा यस्ता मञ्चहरुमा सबै ठाउँमा हाम्रोबीचमा वादविवाद, विमर्श हुँदै गर्दा मान्छेले यो कुरा ठिक भएन भन्दै गर्दा बीपी कोइरालाले भन्नुभएको ठिक भएन भनेर भन्दिने कुरा छ । धर्मका सन्दर्भमा पनि यो कुरा बढो जोडतोडले आएको छ । बीपीको पार्टी भएर बीपीको बाटो छोड्ने ? भन्छन् ।’
महामन्त्री थापाले राज्यको धर्म जनतालाई न्याय दिनु भएको बताए । उनले धर्मको सामाजिक पक्षलाई ग्रहण गरेर व्यवहारमा उतार्नु नै राजनीतिको काम भएको बताए ।