— भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत आर्थिक सम्मेलन सुरु भएको छ । शुक्रबार काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर (एग्रो फाउन्डेसन)द्वारा संयुक्त रुपमा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।
दक्षिण एसियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय अवधारणाका रूपमा विकास गर्नुपर्ने उनीहरूको भनाइ थियो । भारत–नेपाल आर्थिक सम्मेलनले दुई देशबीचको सहकार्यलाई गहिरो बनाउने अवसर प्रदान गरेकाले दुई देशबीचको आर्थिक, सामाजिक, र सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनु पर्नेमा उनीहरूको जोड थियो । दुई देशबीचको व्यापार असन्तुलन र संरचनागत अवरोध हटाउनलगायत अवरोध हटाउन दुवै पक्षले ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको विज्ञहरूले औंल्याएका छन् ।
परराष्ट्र मन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् । सम्मेलनमा प्रमुख वक्ताका रुपमा बोल्दै नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मध्ये सबैभन्दा धेरै भारतकै रहेको स्मरण गर्दै थप लगानी विस्तारका लागि उनले आग्रह गरेकी हुन् ।
भारतको एग्रो फाउन्डेसनका निर्देशक डा. अशोक विसनदासले यो सम्मेलन शैक्षिक उपलब्धिमा मात्र सीमित नरही क्षेत्रीय एकता र सहकार्य प्रवर्द्धन गर्न महत्त्वपूर्ण रहेको बताए । दिगो र समावेशी विकासका लागि नीतिगत तहमा सहकार्य गर्ने विषयमा सुझाव प्रदान गर्ने यो सम्मेलनको भूमिका हुने उनको दाबी छ । उनले द्विपक्षीय लगानी, पूर्वाधार निर्माण, व्यापार, पर्यटन लगायतका क्षेत्रमा सहकार्यका सम्भावनाहरूबारे महत्त्वपूर्ण निष्कर्ष निकाल्ने अपेक्षा गरेका छन् । भारतको आर्थिक उदारीकरणबाट नेपालले सिक्न सक्ने सकारात्मक पक्षबारे पनि उनले प्रकाश पारे ।
इग्रोका प्रमुख कार्यकारी डा. चरन सिंहले पनि दुई देशबीचको आर्थिक सम्मेलन पहिलो पटक आयोजना गरिएको उल्लेख गर्दै छिमेकी मुलुकहरूसँग सहकार्य, सिक्ने र सिकाउने अभ्यासलाई प्राथमिकता दिनुपर्ने बताए । शैक्षिक अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने महत्त्वपूर्ण भूमिका यो सम्मेलनले खेल्न सक्ने उनको धारणा छ।
काठमाडौँ विश्वविद्यालयका रजिस्टार डा. अच्युत वाग्लेले, नेपाल र भारतबीचको शैक्षिक तथा क्षेत्रीय सहकार्यका सम्भावनाहरू पहिचान गर्न यस सम्मेलन आयोजना गरिएको स्पष्ट पारे । उनले यो सम्मेलनलाई ‘ट्र्याक टु डिप्लोमेसी’ को उदाहरणका रूपमा व्याख्या गर्दै, शैक्षिक क्षेत्रबाट अध्ययन र तथ्याङ्कको प्रयोग गरी नीतिगत सहकार्यमा योगदान पुर्याउन सकिने धारणा व्यक्त गरे । नेपाल र भारतबीच वैदेशिक व्यापारको असन्तुलनलाई औंल्याउँदै उनले नेपालले भारतबाट आयात गर्ने विप्रेषण भन्दा भारतले नेपालबाट आयात गर्ने विप्रेषण ४० प्रतिशतले बढी रहेको तथ्य प्रस्तुत गरे ।
जलवायु परिवर्तनका साझा समस्याहरूको समाधानमा दुई देशबीच सहकार्यको आवश्यकता औंल्याए। हिमालहरूको पग्लनु केवल नेपालको मात्र नभई भारत र समग्र विश्वकै समस्या रहेको बताए । 'हरित र दिगो विकासका अवधारणाहरूको लागि सहकार्य अपरिहार्य भएको छ,’ उनले भने, ’युवा पलायनको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ ।’ नेपाल र भारतबीच पेमेन्ट गेटवे सञ्चालन गर्ने योजनालाई प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।
यो सम्मेलनले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयास गरेको विज्ञहरूले बताएका छन् । सम्मेलनको मूल उद्देश्य दिगो विकास, द्विपक्षीय सहकार्य, र क्षेत्रीय एकतालाई प्राथमिकतामा राखेर शैक्षिक अनुसन्धान र नीतिगत छलफलमार्फत दीर्घकालीन समाधान खोज्नु रहेको उनीहरूको भनाइ छ । नेपाल भारत बीच क्षेत्रीय सहकार्य, पर्यटन, आर्थिक विकासलगायत विभिन्न विषयमा छुट्टाछुटै सत्रमा छलफल हुनेछ ।