— सिरहा कारागार प्रकरणको अनुसन्धान गर्न बनेको छानबिन समितिले अनुसन्धान प्रतिवेदन बुझाएको छ । समितिले झन्डै डेढ महिना लगाएर अनुसन्धान प्रतिवेदन जिल्ला प्रशासन कार्यालय सिरहामा बुझाएको हो ।
समितिले गएको बिहीबार नै प्रतिवेदन जिल्ला प्रशासनमा बुझाएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत रवीन्द्र महतले जानकारी दिए । उनका अनुसार अनुसन्धान प्रतिवेदन ९० पेजको रहेको छ ।
प्रमुख जिल्ला अधिकारी बिदामा रहेको भन्दै उनी आउनेबित्तिकै जिल्ला सुरक्षा समितिको बैठकमा प्रतिवेदन पेस हुने र त्यसपछि प्रतिवेदन सार्वजनिक गरिने महतले बताए । प्रतिवेदनमा उल्लेख भएका विषयवस्तु भने सार्वजनिक भएपछि मात्रै थाहा हुने उनको भनाइ छ ।
कारागारको अवलोकन, विद्यमान अवस्थाको अध्ययन, भौतिक संरचना तथा सुरक्षा व्यवस्थाको अवस्था, प्रशासनिक प्रणालीको अध्ययन, कैदीसँग छलफल तथा अन्तरक्रिया, कैदीसँग सम्बन्धित अभिलेख संकलन, नीति नियम तथा निर्देशिकाको अध्ययन, सरोकारवालाहरूसँग अन्तरक्रियालगायतका काम गरी प्रतिवेदन तयार गरिएको उनले बताए ।
कान्तिपुरमा गत कात्तिक २१ गते कारागारसम्बन्धी समाचार आएपछि जिल्ला सुरक्षा समितिले कात्तिक २५ गते छानबिन समिति गठन गरेको थियो । इलाका प्रहरी कार्यालय, लहानका प्रमुखसमेत रहेका डीएसपी विष्णुप्रसाद सोतीको नेतृत्वमा समितिमा जिल्ला प्रशासन, जिल्ला प्रहरी र कारागारसमेतका प्रतिनिधि गरी ५ जना थिए ।
छानबिन समितिलाई सुरुमा कात्तिक २७ गतेदेखि काम सुरु गरी मंसिर ११ गतेसम्म सक्ने गरी १५ दिनको समय दिइएको थियो । तर, समयमै अनुसन्धान तथा छानबिनको काम नसकिएपछि जिल्ला सुरक्षा समितिले समय थप गरेको थियो ।
सिरहा कारागारभित्रै कारागारका मूलनाइके विजय महतो र नाइके इन्द्रजीत यादव मदिरा खाँदै गरेको तथा मोबाइल चलाउँदै गरेको घटना कान्तिपुरले प्रमाणसहित सार्वजनिक गरेको थियो । यस्तै, यस कारागारमा पाँच गुणासम्म मूल्यमा लागूऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने तथ्य पनि बाहिरिएको थियो ।
यसैगरी, पैसा तिरेर कारागारका कैदीहरू बाहिर निस्कन पाउने, फोनका नाममा कैदीबाट मनलाग्दी असुली हुने, कारागारभित्रै पसल खोलेर कैदीहरूमाथि लुट हुँदै आएको, चौकीदार र प्रशासन मिलेर महिनाकै २० लाख बढी उठाउने गरेको लगायतका विषय पनि समाचारमार्फत सार्वजनिक भएको थियो ।