— महोत्तरीको जलेश्वर कारागारमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ ।
६ महिनाअघि जिल्ला अदालत महोत्तरीले सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निसाज सुनुवारलाई लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको थियो । उनको आइतबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
कारागारका अनुसार आइतबार बिहान ८ बजे सुनुवारलाई असहज भएपछि जलेश्वर अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ज्यान गएको जलेश्वर कारागार महोत्तरीका प्रवक्ता रविनचन्द्र ठाकुरले जानकारी दिए । सुनुवारको मृत्युको कारण हृदयघात भएको जलेश्वर अस्पतालले जनाएको छ
सुनुवारको शव अहिले प्रादेशिक अस्पताल जलेश्वरमा रहेको छ । पोस्टमोर्टमपछि उनको शव परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी सन्तु जैसवारले बताए ।