मुख्य समाचार
काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका सम्बन्धमा दुई देशका सरकारी निकायबीच चीनमा छलफल
काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका सम्बन्धमा दुई देशका सरकारी निकायबीच चीनमा छलफल

— काठमाडौं–केरुङ रेलमार्ग अध्ययनका सम्बन्धमा दुई देशका सरकारी निकायबीच चीनमा छलफल भएको छ । छलफलमा विभिन्न मन्त्रालयसँग सम्बद्ध दुई देशका उच्च तहका कर्मचारीको उपस्थितिमा रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनका क्रममा देखिएका समस्या र समाधानको उपाय खोजियो ।





चीन–नेपाल रेल सहयोगसम्बन्धी कार्य बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको नेतृत्वमा टोली चीनको सांघाई पुगेको हो । टोलीमा शर्मासहित भौतिक मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर शाखाका सहसचिव भीमार्जुन अधिकारी, वन तथा वातावरण, कानुन, परराष्ट्र, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र अर्थ मन्त्रालयका उपसचिव सहभागी थिए ।

बैठकमा शुक्रबार चिनियाँ टोलीले काठमाडौं–केरुङ रेलमार्ग निर्माण चुनौतीपूर्ण रहेको औंल्याए । बैठकमा अध्ययनमा संलग्न चीनको सरकारी कम्पनी चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटका प्राविधिक पनि सहभागी थिए । ९८ प्रतिशत पहाड पर्ने र निर्माण लागत महँगो पर्ने विषय छलफलमा उठेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विकास सहायता समन्वय तथा गुणस्तर शाखाका सहसचिव भीमार्जुन अधिकारीले जनाए ।

प्राविधिक टोलीले अहिलेसम्म भएको अध्ययनबारे बैठकमा जानकारी गराएको अधिकारीको भनाइ छ । ‘यो बैठक प्रत्येक एक वर्षमा कहिले नेपाल र कहिले चीनमा हुन्छ, यो पटक चीनमा भएको हो,’ उनले भने, ‘बैठकमा रेलमार्गको अध्ययनका सम्बन्धमा छलफल भयो, भौगोलिक अवस्थाले गर्दा करिब ९५ प्रतिशत सुरुङ र पुल मात्र बनाउनुपर्ने भएकाले बढी लागत लाग्ने कुरा उठेको हो ।’ यसलाई कसरी सहज र सजिलो बनाउन सकिन्छ भन्नेबारे आफ्नो अनुभव प्रयोग गर्न प्राविधिक टोलीलाई सुझाव दिएको उनले सुनाए ।

भौगर्भिक अध्ययनअन्तर्गत अहिले काठमाडौं, नुवाकोट र रसुवामा माटो परीक्षणको काम भइरहेको छ । रेलमार्ग बन्ने सम्भावित स्थानमा पर्ने ड्रिल गरेर जमिनमुनिको माटो निकाली अध्ययन भइरहेको छ । ‘रेलमार्ग निर्माण गर्ने ठाउँमा समथर भूभाग कम छ, पहाड धेरै छ,’ उनले भने, ‘जसले गर्दा ठूला र लामा पुल तथा सुरुङ धेरै नै बनाउनुपर्छ ।’

सम्भाव्यता अध्ययन सकिएपछि सबै विषय आउने अधिकारीको भनाइ छ । ‘बढी समय ड्रिल गर्नलाई लाग्ने हो, अहिले त्यही काम भइरहेको छ,’ उनले भने, ‘चिनियाँ अधिकारीसमक्ष अध्ययनका लागि आइपर्ने प्रशासनिक सहयोग गर्न तयार रहेको जानकारी गरायौं ।’ नेपालबाट गएको टोलीले अघिल्लो दिन बिहीबार रेलमार्गको अध्ययन गरिरहेको फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटको प्राविधिक टोलीसँग छुट्टै छलफल पनि गरेको थियो । अध्ययनका क्रममा बेहोर्नुपरेका स–साना समस्याबारे अध्ययन टोलीमा संलग्न प्राविधिकले कुरा उठाएको र त्यसलाई समाधानका लागि समन्वय गर्न तयार रहेको जानकारी गराइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।




‘सबै माटो परीक्षण नेपालको ल्याबमा मात्र हुँदैन । त्यसका लागि चीन लग्नुपर्छ । त्यसैले प्राविधिक टोली आउ–जाउ गर्न भिसा तथा वन र निकुञ्जका समस्या भएको विषय पनि बैठकमा उठेको छ,’ उनले भने, ‘त्यसमा पनि आवश्यक सहजीकरण गर्न तयार रहेको जानकारी गरायौं ।’ अध्ययनको काम निर्धारित समयमै सकिने छलफलमा सहभागी प्राविधिक टोलीले बताएको छ । २०८३ असारसम्म अध्ययन गर्ने समय छ ।

अध्ययन सकिएपछि सरोकारवाला मन्त्रालय, विभाग र विभिन्न निकायको उपस्थितिमा प्राविधिक टोलीले तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गरिनेछ । त्यसमाथि छलफल हुनेछ । रेलमार्गको सम्भाव्यता अध्ययनका लागि ०७९ पुसमा नेपाल आएको चिनियाँ टोलीले २०८० माघमा पहिलो चरणको अध्ययन सकेको थियो ।

सुरु भएको मितिबाट ४२ महिनाभित्र अध्ययनको काम सक्नुपर्नेछ । यो सम्भाव्यता अध्ययन भएकाले यसबाट निर्माणमा लाग्ने लागत, समय र रेलमार्गको कुल दूरी थाहा हुनेछ । सम्भाव्यता अध्ययनबाट रेलमार्गमा कति वटा सुरुङ, पुल र स्टेसन आवश्यक पर्छन्, त्यो पनि थाहा हुनेछ । पछि निर्माणका क्रममा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारेर काम अघि बढाइनेछ ।

रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्मको मार्गको दूरी ७२ किमि रहनेछ । यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन ०७५ मंसिरमा भएको थियो । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेला सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति भएको थियो । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला २०७८ चैतमा सम्भाव्यता अध्ययन गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोहीअनुसार काम अघि बढाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
पछिल्ला वर्षमा बजेट बढ्दो, घट्दो राजस्व संकलन र न्यून पुँजीगत खर्चको मारमा अर्थतन्त्र जेलिन पुगेको छ । यसको सिधा असर आर्थिक वृद्धिमा देखिएको छ । सरकारले हरेक वर्ष अघिल्लोभन्दा बढाएर बजेट ल्याउने तर स्रोत जुटाउन र खर्च गर्न नसकेपछि मध्यावधि समीक्षामार्फत व्यापक कटौती गर्ने बेथिति बढ्दो छ । यसरी सरकारको राजस्व र पुँजीगत खर्चको लक्ष्य बर्सेनि अपूरो रहँदा ...
। विश्व भू-राजनीतिक तनाव, मध्यपूर्वी एसियामा जारी युद्ध तथा इन्धनको मूल्यमा भएको तीव्र वृद्धिका कारण नेपालको अर्थतन्त्र प्रभावित भएको देखिएको छ। यद्यपि विदेशी विनिमय सञ्चिति भने हालसम्मकै उच्च अवस्थामा पुगेको छ, जसले १८.५ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको बताइएको छ। सरकारले बुधबार प्रतिनिधिसभामा पेश गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले मुलुकको समग्र आर्थिक ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा व्याप्त अनियमितता रोक्न र उपभोक्ता अधिकार सुरक्षित गर्न सञ्चालन गरेको ‘मूल्य पारदर्शिता सप्ताह’ अन्तर्गत १० व्यापारिक फर्ममाथि कारबाही गरेको छ । विभागले २८ वैशाखदेखि ३ जेठसम्म विशेष बजार अनुगमन अभियान सञ्चालन गरेको थियो । त्यस अवधिमा विभाग टोलीले विभिन्न बजार पुगेर २ सय ५ व्यावसायिक फर्म तथा पसलको ...
— चालु आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात १४.८२ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको १० महिनामा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको थियो । चालु आर्थिक वर्ष २ ...
: प्रतिनिधिसभा, उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिले स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न र विद्यमान कर तथा भन्सार महसुलको पुनरावलोकन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको आजको बैठकले उक्त निर्देशन दिएको हो। समिति सभापति रहबर अन्सारीले नेपाली उद्योगले लामो समयदेखि आफ्नो प्रतिस्पर्धात्मक क्षमता घट्दै गएको गुनासो गरिरहेको सन्दर्भमा समितिले उक्त निर्देशन दिएको जानकारी ...