। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी अनुशासनको व्याख्या गर्न एआईको सहारा लिएका छन् ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको छ भने स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ६ महिना निलम्बन गरेको छ ।
पार्टी निर्णयको बचाऊ गर्दै महासचिव पोखरेलले पार्टी अनुशासन बारे एआईको धारणा भन्दै एक सन्देश बुधबार साँझ शेयर गरेका छन् । ‘पार्टी अनुशासनबारे एआईको धारणा’ शिर्षकमा शेयर गरिएको सामग्रीमा पार्टी अनुशासनको महत्व बारे उल्लेख गरिएको छ ।
हेर्नुहोस् पोखरेलको स्टाटसः
महासचिव पोखरेलको स्टाटसमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले रोचक प्रतिक्रिया दिइरहेका छन् । ‘अब एमाले अध्यक्ष पनि एआईलाई बनाउनुपर्छ,’ एक प्रयोगकर्ता महादेव भारतीले लेखेका छन् ।
मेघराज खड्का महासचिव पोखरेललाई जवाफ फर्काउँदै लेख्छन्, ‘पार्टी अनुशासन एआईले नभएर विधानले चलाउँदा राम्रो होला कमरेड ।’
अर्का प्रयोगकर्ता शुभसन्देश गौतमले पार्टीमा स्वेच्छाचारिता र निरंकुशता बढ्दै गए के हुन्छ भन्ने प्रश्नमा एआईको जवाफलाई शेयर गरेका छन् ।
अर्का प्रयोगकर्ता ईश्वरी प्रसाद घिमिरेले एमालेमा लोकतन्त्र खुम्चँदै गएको टिप्पणी गरेका छन् । ‘एमालेले भीम रावललाई साधारण सदस्यबाट हटायो, अनि विन्दा पाण्डे र उषाकिरणलाई ६ महिना निलम्बन, एमालेमा आन्तरिक लोकतन्त्रको चिरहरण ! भिम रावलले कस्तो पार्टी बनाएछन् त ? कठै आफैं नटिक्न सकेनन्’ उनले सोधेका छन्, ‘पार्टीभित्र डेमोक्रेसी छैन, प्रतिस्पर्धी आवाज छैन, आलोचक छैन, प्रश्नकर्ता छैन, संघर्ष छैन भने त्यो पार्टी मुर्दा पार्टी होइन र ?!’
अर्याल सरोज पार्टीभित्र बोल्नै नपाउने, फरक मत राख्नै नपाउने, कारबाहीको डन्डा चलाइहाल्ने अभ्यासले एमाले २०८४ को चुनावबाट चौथो स्थानमा पुग्ने टिप्पणी गरेका छन् ।
माधव शमशेर जबराले रोषपूर्ण टिप्पणी गरेका छन्, ‘अनुशासन भनेको सरकारवादी मुद्दा भएको मीनबहादुर गुरुङसँग पार्टी कार्यालय बनाउन जग्गा माग्दा लाज लागेन ? एमालेले अरुलाई किन अनुशासन सिकाउँछ ? जो आफू अनुशासनमा बस्दैन ?’
फेसबुक प्रयोगकर्ता केशव न्यौपानले पार्टीभित्रको तानाशाही बारे एआईको धारणा सार्वजनिक गर्दै महासचिव पोखरेललाई व्यङ्ग्य गरेका छन् । अनि केही प्रयोगकर्ताले भने पार्टी अनुशासनमा आलोचनाको महत्व भन्दै एआईकै सहारा लिएर कमेन्ट लेखेका छन् ।