: भारत सरकारले पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । समाचार एजेन्सी एएनआईका अनुसार डिसेम्बर २७ मा हुने सबै सरकारी कार्यक्रमहरु रद्द गरिएको छ।
शनिबार अन्त्येष्टिको दिन विदेशमा रहेका भारतीय दूतावास र उच्चायोगमा पनि राष्ट्रिय झण्डा झुकाइनेछ ।
केरला सरकारले पनि डिसेम्बर २६ देखि जनवरी १ सम्म राज्यमा सात दिने राजकीय शोकको घोषणा गरेको छ। प्रदेश सरकारले सबै जिल्ला अधिकारीलाई राष्ट्रिय झण्डा झुकाउन निर्देशन दिएको छ ।
कर्नाटक सरकारले पनि डिसेम्बर २७ मा सार्वजनिक बिदा र सात दिने राजकीय शोकको घोषणा गरेको छ ।
उनको निधनमा भारतका प्रधानमन्त्री, राष्ट्रपति, विपक्षी दलका नेता लगायत धेरै नेताहरुले शोक व्यक्त गरेका छन् । उनको शनिबार अन्तिम संस्कार गरिने छ । उनको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिने जनाइएको छ ।
मनमोहन सिंहको जन्म २६ सेप्टेम्बर १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा भएको थियो।
पञ्जाब विश्वविद्यालयमा भर्ना भएपछि उनले क्याम्ब्रिज विश्वविद्यालयबाट स्नातकोत्तर गरेका थिए। त्यसपछि उनले अक्सफोर्डबाट पीएचडी गरे।