। संगीत रोयल्टी संकलन समाजले मंसिर महिनामा यातायातका साधनबाट चार लाख रुपैयाँ रोयल्टी संकलन गरेको छ । समाज र ट्राफिक प्रहरीको अनुगमनबाट उक्त रकम संकलन गरिएको समाजका महासचिव बद्री पाण्डेले बताए ।
उक्त महिनामा मात्र समाजले काठमाडौंका प्रमुख नाकाहरू जगाती, थानकोट र दक्षिणकालीमा रोयल्टी संकलन गरेको थियो । रोयल्टी तिरेर ग्रीन स्टिकर लिने सवारी साधन, होटल, रेस्टुरेन्ट र विद्यालयको संख्यामा वृद्धि भइरहेको उनले बताए । उक्त रोयल्टी संकलनमा होटल, रेस्टुरेन्ट र विद्यालयको हिस्सा समावेश छैन ।
महासचिव पाण्डेका अनुसार समाजले पाँचतारे होटलहरू, हिमालय जाभासहितका कफी सपलाई संगीत रोयल्टी तिर्न क्रमशः २१, ७ र ३ दिने अल्टिमेटम दिइएको छ । ‘दिइएको मितिभित्र संगीत लाइसेन्स नलिए वा रोयल्टी नतिरे कानुनअनुसार अघि बढ्छौं,’ उनले भने ।
धेरै ठाउँमा लाइसेन्स लिन र रोयल्टी तिर्न आनकानी भएकाले कानुनअनुसार अघि बढ्ने तयारी भएको पाण्डेले बताए । ‘रोयल्टीमा दर्ता हुन आउने क्रम बढेको छ,’ उनले भने ।
अल्टिमेटम दिएर रोयल्टी उठाउने समाजको कार्यप्रति यसअघि होटल व्यवसायी र यातायात व्यवसायीले विरोध गरिसकेका छन् । तर आफूहरू कानुनी आधारमा अघि बढेको समाजको भनाइ छ ।
‘यो अभियानले सिर्जना गरेर पनि पेट पाल्न सकिन्छ भन्ने देखाएको छ,’ पाण्डेले भने । समाजले रोयल्टी संकलन अभियानलाई काठमाडौंपछि अन्य जिल्लामा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।