मुख्य समाचार
मध्य भोटेकोशीको उत्पादन रोकिएकोमा स्थानीयको ध्यानाकर्षण
मध्य भोटेकोशीको उत्पादन रोकिएकोमा स्थानीयको ध्यानाकर्षण

— सुरुङ परीक्षणका क्रममा दुई पटक पानी चुहिएपछि स्थानीय लगानीकर्ताले १०२ मेगावाटको मध्य भोटेकोशी आयोजनालाई ध्यानाकर्षण गराएका छन् ।




चिलिमे जलविद्युत् आयोजना मुख्य प्रवर्द्धक रहेको उक्त आयोजनाले उत्पादन परीक्षण गर्दा एक वर्षमा दुई पटक सुरुङबाट पानी बाहिर निस्केपछि पुनः मर्मत गर्नुपर्ने भन्दै झन्डै एक अर्ब लगानी गरेका जिल्लाका कम्पनी र सर्वसाधारणले आयोजनालाई ध्यानाकर्षण गराएका हुन् ।


लगानीकर्ताको तर्फबाट सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले शुक्रबार भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सिईओ) रामगोपाल सिवाकोटीलाई ध्यानाकर्षण पत्र दिएको छ ।

विद्युत् खरिद सम्झौता(पीपीए) गरेको १३ वर्षमा पनि आयोजनाबाट विद्युत् उत्पादन नहुनुको जिम्मेवारी कसले लिने ? भन्दै संघले उत्पादन ढिलाइ हुनुको कारण मागेको छ । संघका अध्यक्ष बुद्धराज बस्नेतले सीईओ सिवाकोटीलाई आयोजनाको केन्द्रीय कार्यालय महाराजगन्जमा ध्यानाकर्षण पत्र बुझाए । ज्ञापन पत्रमा सुरुङ चुहिने गरी निर्माण गर्नुको जिम्मेवारी कसले लिने ? भन्दै प्रश्न गरिएको छ ।

२०८० पुसमा ‘वेस्ट टेष्टिङ’ को क्रममा सुरुङबाट पानी बाहिर निस्केको थियो । मर्मत गरेर गत कात्तिकमा पुनः पानी भर्न खोज्दा पनि पानी चुहिएपछि उत्पादन अनिश्चित बनेको छ । विद्युत् बेचेर बर्सेनि ३ अर्ब आम्दानी गर्ने लक्ष्य राखेको उक्त आयोजनाले अहिले दैनिक झन्डै ५० लाख व्याज मात्र तिरिरहेको छ । आयोजनाले भने सुरुङ चुहिने मात्र नभइ ट्रान्समिसन लाइनको निर्माणमा स्थानीयले अवरोध गर्दा ढिलाइ भएको बताउँदै आएको छ ।

मर्मत गर्दा पनि सुरुङबाट चुहिने समस्या यथावत् भएपछि आयोजनाको निर्माण संरचनाको गुणस्तरमाथि नै शंका उब्जेको छ । निर्माण सुरु भएदेखि नै स्थानीय अवरोध, भूकम्प, कोभिड र बाढीपहिरो लगायतका समस्याले अवरोध झेल्दै आएको आयोजना अहिले सुरुङ चुहिने र ट्रान्समिसन लाइन निर्माण समस्याले ग्रसित छ ।

संघका अध्यक्ष बस्नेतले जिल्लावासीसहित राज्यका निकायहरूको यति ठूलो लगानी गरेको आयोजनाका समस्या हल गर्ने विषयमा आयोजनाले बेवास्ता गरेको बताए । 'बिग्रेको कामको जिम्मेवारी कसैले नलिने प्रवृत्तिले जे गरे पनि हुन्छ भन्ने परिस्थिति बनेको छ,' उनले भने ।




विद्युत् उत्पादन गर्न नसक्दा व्याज रकम बाहेक दैनिक ८३ लाख भन्दा बढी आम्दानी रोकिएको आयोजनाका प्राविधिक बताउँछन् ।

भोटेकोशीमा जिल्लावासीले प्रभावित र जिल्लावासीकै कम्पनीमार्फत झन्डै १ अर्ब भन्दा बढी रकमको सेयर छ । आयोजनाको ‘सिभिल वर्क’ चीनको ग्वान्सिङ हाइड्रो इलेक्ट्रिक कन्स्ट्रक्सन ब्युरोले गरिरहेको छ । चार वर्षमा पूरा गर्ने लक्ष्यसहित सुरु गरेको उक्त आयोजनामा चिलिमे, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, स्थानीय कम्पनीहरूको मुख्य लगानी छ ।

आयोजनाले प्रभावित र सर्वसाधारणलाई सेयर बिक्री गरिसकेको छ । स्थानीयले विभिन्न माग राखेर आयोजनाको ट्रान्समिसन लाइन निर्माणमा १४ महिना अवरोध सिर्जना गरेका थिए । उक्त समस्या केही समयअघि हल भए पनि शीवश्री हाइड्रोपावरले भोटेकोशीका लागि निर्माण गरिदिने ट्रान्समिसन लाइन बनाउन स्थानीयले अवरोध गरिरहेका छन् । सुरुङको समस्या हल भए पनि लाइनका कारण उत्पादन गर्न नसकिने आयोजनाको भनाइ छ ।

तोकिएको समयमा पूरा नभएका कारण लागत बढेर २० अर्बभन्दा बढी लाग्ने अनुमान रहेको छ । सुरुमा कुल लगानी १२ अर्ब २८ करोड अनुमान गरिएको थियो । आयोजनाले ५ अर्ब भन्दा बढी ब्याज मात्रै बुझाइसकेको छ । प्राविधिकहरूका अनुसार प्रति मेगावाट उत्पादन लागत २० करोडभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी पार्टी बलियो र देशको एक नम्बर पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन्। कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिका विरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन्। 'हामी एक नम्बरको पार्टी भएमात्रै देशमा भ्रष्टाचारको अन्त्य हुने छ। मलाई ...
— सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख दलहरुसँगको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । माछापुछ्रे गाउँपालिका–१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उनले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताएका हुन् । उनले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताए । सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री गुरुङले भने, 'सरकारमा रहेका ...
— तत्कालीन विद्रोही माओवादीको आक्रमणमा ध्वस्त भएको कमलबजार विमानस्थलमा शनिबार परीक्षण उडान गरिएको छ। निर्माण सुरु भएको ३२ वर्षपछि परीक्षण उडानका लागि तारा एयरलाइन्सका क्याप्टेन टीएस नगरकोटीले जहाज उडाएका हुन् । कमलबजार विमानस्थलमा सफल परीक्षण उडानपछि संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शनिबार नै उद्‌घाटन गर्ने कार्यक्रम छ । २०५८ सालमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा ...
— मधेश प्रदेश एमाले संसदीय दलको बैठकले मुख्यमन्त्री सतीशकुमार सिंहले ल्याउने अध्यादेशको विरोध गर्ने भएको छ । त्यस्तै एमालेले प्रदेश सरकारको योजना उपभोक्ता समितिमार्फत सञ्चालन गर्ने निर्णयको पनि विरोध गर्ने भएको छ । मधेश प्रदेशसभा सचिवालयमा संसदीय दलको कार्यालयमा बिहीबार बसेको एमाले संसदीय दलको बैठकमा सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको समीक्षा, सरकाको कार्यशैलीबारे छलफल, प्रदेश सरकारको ...
— कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी कृषि अनुदानका विषयमा धेरै किसिमका गुनासा आउने गरेको बताउँछन् । अनुदान वितरणमा केही समस्या भए पनि वास्तविक किसानले अनुदान रकम नै नपाएको भन्न नमिल्ने उनको दाबी छ । कृषि अनुदानलगायत विषयमा उनीसँग राजु चाैधरीले गरेको कुराकानी : वास्तविक किसानले कृषिको अनुदान पाउँदैनन्, पहुँचवालाले मात्रै पाउँछन् भनिन्छ । तपाईं ...