मुख्य समाचार
कैलाश मानसरोवर यात्रा खुलाउने भारत-चीन सहमतिले नेपालमा संशय
कैलाश मानसरोवर यात्रा खुलाउने भारत-चीन सहमतिले नेपालमा संशय

— भारतीय तीर्थयात्रीका लागि कैलाश मानसरोवर यात्रा पुनः सञ्चालन गर्न भारत र चीनबीच भएको सहमतिले नेपाललाई झस्काएको छ । नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटरभित्रको लिपुलेक पासबाट व्यापार गर्न सन् २०१५ मै भारत र चीनका प्रधानमन्त्रीबीच सहमति भएको थियो ।




कोभिड महामारीले रोकिएको मानसरोवर यात्रा पुनः सञ्चालन गर्ने पछिल्लो सहमतिले नेपालको चुच्चे नक्साप्रतिको सरोकार फेरि जागृत भएको छ ।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २०१५ मे १४ मा चीन भ्रमणमा गएका बेला समकक्षी ली खछियाङसँग लिपुलेक नाकाबाट द्विदेशीय व्यापार अभिवृद्धि गर्ने सहमति भएको थियो । मे १५ मा जारी संयुक्त वक्तव्यको बुँदा नं २८ मा उक्त सहमति उल्लेख थियो । त्यस सहमतिप्रति आपत्ति जनाउँदै नेपालले तत्कालै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो ।

भारतले त्यसको बेवास्ता गर्‍यो भने चीनले विश्वसनीय दस्ताबेज भए सहमतिलाई सच्याउन सकिने बतायो । अहिले फेरि भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच बेइजिङमा भएको वार्तामा मानसरोवर यात्रा पुनः सञ्चालनसम्बन्धी सहमति गर्दा नेपाललाई जानकारी दिइएन ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले गत साता चीनको भ्रमण गरेका थिए । त्यस क्रममा भएको सहमतिमा मानसरोवर यात्राका लागि प्रयोग हुने रुट खुलाइएको छैन । पिथौरागढबाट लिपुलेक पुग्ने सडक बनाएको भारतले त्यही मार्गबाट तीर्थयात्रुलाई कैलाश मानसरोवर दर्शन गराउने योजना सार्वजनिक गर्दै आएको छ ।

त्यही कारण भारत र चीनबीच भएको पछिल्लो सहमतिप्रति नेपालको कूटनीतिक सक्रियता आवश्यक रहेको सीमाविद् बुद्धिनारायण श्रेष्ठ बताउँछन् । ‘व्यापार होस् वा तीर्थ यात्रुको आवागमन, नेपालको भूमि प्रयोग हुने विषयमा हाम्रो स्वाभाविक सरोकार रहन्छ,’ उनले भने, ‘नेपाल सरकारले यस विषयमा जानकारी माग्नुपर्छ ।’

कोभिड महामारी फैलिएपछि चीनले सन् २०२० बाट मानसरोवर यात्रामा रोक लगाएको थियो । चीनले नेपाली तथा अन्य देशका नागरिकलाई मानसरोवर यात्राको अनुमति दिए पनि गलवान झडपपछि सम्बन्ध चिसिएका कारण भारतीय नागरिकलाई अनुमति दिएको छैन । भारतले मानसरोवर यात्रा खुलाउन प्रयास गर्दै आएको थियो । डोभालको चीन भ्रमणपछि जारी ८ बुँदे संयुक्त वक्तव्यको बुँदा नं ६ मा कैलाश मानसरोवर यात्रा पुनः प्रारम्भ हुने उल्लेख छ ।




भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले भारतीय तीर्थयात्रुका लागि कैलाश मानसरोवर यात्रा खुलाउने विषयमा चीन सरकारसँग सकारात्मक कुराकानी अगाडि बढेको बताएका छन् । कान्तिपुरसँग उनले भने, ‘त्यस विषयमा हुने थप प्रगति क्रमशः बाहिर आउनेछन् ।’ कैलाश मानसरोवर यात्राका लागि कुन रुट प्रयोग गर्न खोजिएको हो भन्ने कान्तिपुरको जिज्ञासामा उनले भने, ‘पहिला जुन बाटोबाट यात्रु जान्थे, त्यही हुनुपर्छ । यसमा अहिले थप कुरा छैन ।’

भारतीय यात्रु सिक्किमको नाथुला, नेपालका रसुवागढी, तातोपानी, हुम्ला र कालापानी–लिपुलेक हुँदै मानसरोवर जान्छन् । भारतले नेपालको भूभाग हुँदै चीनको सीमासम्म जोड्ने बाटो निर्माणलाई गति दिएको बेला द्विपक्षीय सहमति बाहिर आएपछि त्यसको मनसाय र अवस्था बुझ्नुपर्ने भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्य बताउँछन् ।

आचार्य भारत र चीन गलवान झडप अगाडि अर्थात् सन् २०२० पूर्वको स्थितिमा फर्किन प्रत्यनशील रहेको बताउँछन् । ‘उनीहरू स्थितिलाई सामान्य बनाउने प्रयासमा छन् । त्यही क्रममा रोकिएको कैलाश यात्रा खुलाउने कुरा आएको हुनुपर्छ,’ उनले भने, ‘यात्रा खुलाउने सैद्धान्तिक सहमति मात्रै हो वा रुटको पनि विषय हो, बुझ्नुपर्छ । हाम्रो चासो त्यहाँ हुनुपर्छ ।’

लिपुलेक नेपालको भूभाग भएकाले नेपालको सहमति बेगर त्यहाँ हुँदै भारतीय यात्रुलाई कैलाश मानसरोवर लाने सहमति गरिएको भए नेपालको सरोकार रहने आचार्यको भनाइ छ । ‘होइन, यात्रुलाई सहज रूपमा जान दिनका लागि भिसालगायतमा सहजताको प्रसंग हो भने त्यो उनीहरूको विषय हो,’ उनले थपे ।

भारतीय तीर्थयात्रुलाई कैलाश मानसरोवर यात्रा पुनः खुल्ने विषयले नेपाली पर्यटन व्यवसायी उत्साहितसँगै सशंकित छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष कुमारमणि थपलिया भारतीय तीर्थयात्रुका लागि कैलाश मानसरोवर यात्रा खुलाउने सहमति भएको थाहा भए पनि विस्तृत विवरणको पर्खाइमा रहेको बताए । उनका अनुसार ४ वर्षदेखि यात्रा रोकिएकाले ४/५ लाख भारतीय तीर्थयात्रु कैलाश मानसरोवर जाने पर्खाइमा छन् ।

‘उनीहरू सबैलाई नेपाल हुँदै यहाँको सरकारको जानकारीमा कैलाश दर्शनमा लान सकिने स्थिति हो भने हाम्रा लागि अत्यन्तै ठूलो अवसर हो,’ उनले भने ‘तर, रुटलाई लिएर दुई देशबीच कुनै फरक सहमति भएको रहेछ भने त्यस विषयमा बुझ्न जरुरी छ ।’

उनका अनुसार भारतबाट कैलाश मानसरोवर यात्रामा जाने तीर्थयात्रुमध्ये ९५ प्रतिशतले हुम्ला, रसुवागढीलगायतका नेपाली रुट प्रयोग गर्छन् । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा आफूहरूले पर्यटन मन्त्रालयमार्फत भारतीय यात्रुका लागि कैलाश यात्रा खुलाउन आग्रह गरेको थपलियाले जानकारी दिए ।

कैलाश मानसरोवर यात्रा गराइरहेको टच कैलाश ट्राभल्स एन्ड टुर्सका सञ्चालक वासु अधिकारी भारतीय तीर्थयात्रुका लागि कैलाश मानसरोवार यात्रा खुल्नु नेपालको पर्यटन क्षेत्रका लागि सुखद समाचार रहेको बताउँछन् । तर, बाहिर आएको सहमतिमा धेरै कुरा नखुलेकाले नेपाल सरकारले चासो राख्नुपर्ने उनको भनाइ छ ।

‘भारतले उत्तराखण्डबाट नेपालको भूभाग हुँदै बाटो बनाइरहेको छ, त्यो बाटोबाट यात्रा खुलाउन लागेको हो भने त्यसमा हामीले आपत्ति जनाउनुपर्छ,’ उनले भने, ‘अहिल भारतीय यात्रुले कैलाश मानसरोवार जान नेपालकै बाटो प्रयोग गर्नुपर्ने स्थिति छ । निश्चित रुटको विषय नभएर यात्रुलाई अनुमति दिने मात्रै सहमति हो भने फरक भयो । उनीहरूका लागि सहज हुने नेपालकै रुट हो । त्यसले नेपालको पर्यटन व्यसायलाई टेवा पुर्‍याउँछ ।’

कैलाश यात्रा रोकिँदा नेपालमा भारतीय तीर्थयात्रुको आवागमन घटेको छ । कोभिड महामारी अगाडि वार्षिक ६० हजार तीर्थयात्री नेपालको हिल्सा नाका हुँदै कैलाश यात्रामा जाने गरेको नाटा अध्यक्ष थपलियाको दाबी छ । उनका अनुसार नेपालगन्ज–सिमीकोट–हिल्सा–मानसरोबर रुट सजिलो र कम खर्चिलो मानिन्छ ।

भारतीय तीर्थयात्रुका लागि नेपालगन्ज प्रमुख द्वार हो । त्यसैलाई लक्ष्य गरेर नेपालगन्जमा होटल क्षेत्रमा ठूलो लगानीसमेत भएको छ । थपलिया भन्छन्, ‘नेपाल हुँदै कैलाश दर्शनमा जाने भारतीयको आधा समय नेपालमै बित्ने र उनीहरूले गर्ने खर्चको आधा हिस्सा पनि यहीँ हुने भएकाले यात्रा पूर्ववत् अवस्थामै खुल्दा नेपालको पर्यटन क्षेत्रलाई लाभ हुन्छ ।’

कैलाश मानसरोवार यात्रा पुनः खुलाउने विषयमा भारत र चीनबीच भएको सहमतिबारे नेपालको परराष्ट्र मन्त्रालयले भने औपचारिक धारणा दिएको छैन । मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले यस विषयमा थप बुझेर मात्रै बताउन सकिने जनाए ।

सीमाविद् श्रेष्ठ भने भारतले सीमा मिचेको र चीनले पनि गत वर्ष जारी गरेको नक्सामा नेपालको चुच्चे नक्सालाई मान्यता नदिएको हुनाले नेपालले दुई देशबीच विकास भइरहेको घटनाक्रममा गम्भीर चासो राख्नुपर्ने बताउँछन् ।

भारतले २०१९ नोभेम्बर पहिलो साता जारी गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक क्षेत्रलाई भारतीय सीमाभित्र राखिएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग रहेको प्रस्ट पार्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो । त्यसमा भारतले जवाफ नदिएपछि २०७७ जेठमा नेपाल सरकारले लिम्पियाधुरासम्मको नक्सा जारी गरेको थियो ।

नेपालको शिथिल कूटनीति र कमजोरीका कारण भारतले नेपालको भूभागमाथि वर्षौंदेखि नियन्त्रण जमाएको सीमाविद् श्रेष्ठको भनाइ छ । ‘ब्रिटिस इन्डिया र नेपालबीच सन् १८१६ मा भएको सुगौली सन्धि, सन् १८१९, १८२७ र १८५६ का नक्साले लिम्पियाधुरालाई नेपालको पश्चिमी सीमा मानेको छ ।

चीनलाई नेपालको पश्चिमी सीमा बिन्दुको यथार्थता राम्रोसँग थाहा छ । २०५६ भदौ १८ मा तात्कालीन चिनियाँ राजदूत जेङ सुयोङले नेपाल र चीनबीच १९६१/६२ मा सिमांकन गर्दा कालापानी नेपालकै थियो भनेका थिए,’ उनले भने, ‘राजदूतको बोली चीनको हो, त्यसैले नेपालले चीनलाई पनि तथ्य स्मरण गराउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाका विदेशमन्त्री मार्को रुबियो भारत आउने भएका छन् । रुबियोको भारत भ्रमण शनिबारदेखि सुरू हुँदैछ । ‘आकाशवाणी’ का अनुसार विदेशमन्त्री रुबियो चार दिने भारत भ्रमणमा आउन लागेका छन् । भ्रमणका दौरान उनी दिल्ली, जयपुर, कोलकाता र आगरा जाने कार्यक्रम तय भएको छ । भ्रमण अघि रुबियोले भारत अमेरिकाको ‘एक महत्वपूर्ण सहयोगी र साझेदार’ भएको बताएका छन् ...
: चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको उच्चस्तरीय वार्तापछि दुवै देशले एक संयुक्त विज्ञप्ति (जइन्ट स्टेटमेन्ट) जारी गरेका छन्। सामाजिक सञ्जाल प्लेटफर्म टेलिग्राममार्फत सार्वजनिक गरिएको उक्त विज्ञप्ति अनुसार, रुस र चीनले एक समानता र सन्तुलनमा आधारित बहुध्रुवीय (मल्टीपोलर) विश्व तथा नयाँ स्वरूपको अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन्। दुवै देशले ...
: इरानविरुद्ध सञ्चालित 'अपरेशन एपिक फ्युरी' (Operation Epic Fury) मा अमेरिकी सेनाले ठूलो हवाई क्षति बेहोर्नु परेको छ। अमेरिकी संसद् (यूएस कांग्रेस) को प्रतिवेदन अनुसार यस सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाका ४२ वटा विमान तथा ड्रोनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। ध्वस्त भएका हवाई साधनहरूमध्ये ६ वटा आधुनिक फाइटर र अट्याक जेट रहेका छन्। जसमा १ ...
: इरानले आफ्नो सैन्य–औद्योगिक आधार अपेक्षाभन्दा छिटो पुनर्निर्माण गरिरहेको अमेरिकी गुप्तचरले दावी गरेका छन् । इरानले ड्रोन उत्पादन फेरि सुरु गरिसकेको दावी गरिएको छ । अमेरिकी गुप्तचर मूल्यांकनसँग परिचित दुई स्रोतका अनुसार, इरानले अप्रिलको सुरुमा सुरु भएको छ–हप्ते युद्धविरामको अवधिमै आफ्नो केही ड्रोन उत्पादन पुनः सुरु गरिसकेको छ । यो संकेत हो कि अमेरिका–इजरायलको आक्रमणबाट क्षति ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई इजरायलभित्रै राम्रो व्यवहार नगरिएको दाबी गरेका छन्। ट्रम्पले इजरायलमा आफ्नो लोकप्रियता निकै उच्च रहेको भन्दै आफूले त्यहाँ प्रधानमन्त्रीको चुनावसमेत लड्न सक्ने बताएका छन्। अमेरिका-इरानबीच बढ्दो तनाव र सम्भावित सैन्य कारबाहीको सन्दर्भमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन्। पत्रकारहरूले ट्रम्पलाई इजरायली प्रधानमन्त्री नेतन्याहुसँग इरानमाथिको हमला र आगामी रणनीतिका विषयमा ...