: नेकपा एमालेका केन्द्रीय सचिव योगेशकुमार भट्टराईले दुई ठूला दलबीच भएको सहमतिअनुसार सरकार चलिरहेको बताएका छन्। उनले मुख्य दलहरू कांग्रेस र नेकपा एमाले बीचको सहमतिअनुसार आगामी चुनावको अवधिसम्म गठबन्धन कायम रहने बताएका हुन्।
नुवाकोटको महादेवफाँटमा शनिबार एमाले बेलकोटगढी नगरको दोस्रो पालिका अधिवेशन उद्घाटन गर्दै सचिव भट्टराइले निर्वाचनमा भने एमाले र कांग्रेस एक्ला एक्लै चुनाव लड्ने बताए। उनले देशलाई कमजोर बनाउन देशी विदेशी शक्तिहरू केन्द्रित रहेको कारण सत्तारूढ दलहरू सचेत हुनु पर्ने बताए।
देशलाई नयाँ मार्गमा लैजाने उद्देश्यका साथ एमाले कांग्रेसको गठबन्धन बनेको र सहमति अनुसार एमाले र कांग्रेस अगाडि बढिरहेको पूर्व मन्त्रीसमेत रहेका सचिव भट्टराईले बताए। उनले देशमा अनेक चलखेल गर्न नपाएका शक्तिहरूले एमाले र कांग्रेसलाई अनेक आरोप लगाइरहेको समेत बताए। उनले एमालेलाई कमजोर बनाउन अनेक षडयन्त्रहरू भइरहेको दाबी गर्दै कमजोर बनाउन खोज्नेसँग सचेत हुनुपर्ने बताए।
पार्टी नेता डा. भीम रावल, डा. विन्दा पाण्डे तथा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनामाथि पार्टीले गरेको कारबाहीको सन्दर्भ उल्लेख गर्दै भट्टराईले घरभित्रको विवाद, झगडा र असन्तुष्टि घरभित्रै बसेर समाधान गरिनु पर्ने बताउँदै गल्ती, कमजोरीहरू सच्याउँदै पार्टीको स्थायी कमिटीबाट कारबाही तथा निलम्बनमा परेका नेताहरू पार्टीमै फर्किने विश्वास व्यक्त गरे।