: नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेसको हक अधिकार र विकासका लागि नेकपा एमालेले दृढतापूर्वक भूमिका निर्वाह गर्ने बताएका छन्।
महोत्तरीको रामगोपालपुरमा शनिबार आयोजना भएको वृहत् पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले समग्र मधेसको विकासका लागि पार्टी अघि बढेको बताएका हुन्।
मधेसी जनताले संघीयताको माध्यमबाट देखेका सपना जनता समाजवादी पार्टीकै कारण अधुरो रहेको महासचिव पोखरेलको आरोप छ। उनले भने, ‘दुई कार्यकाल सत्तासीन भएको जसपाले समग्र मधेसको विकासमा ध्यान दिएन। नेतृत्व पक्षको ध्यान बजेट बाँडफाँटमै केन्द्रित भयो। जसको कारण यस प्रदेशको विकासको सपना तुहिएको हो।’
महोत्तरीका १५ पालिकामध्ये प्रमुख र उपप्रमुखसहित बहुमत कार्यपालिका एमालेले जितेको एकमात्र नगरपालिका रामगोपालपुरले महासचिव पोखरेललाई १५ किलोको माला लगाएर स्वागत गरेको थियो।
केन्द्रीय सदस्य तथा मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले देशको विकासको भिजन भएकाले एमालेमा जनलहर बढिरहेको बताए।