मुख्य समाचार
दक्षिण कोरियामा विमान अवतरण गर्दा ‘खुलेन ल्यान्डिङ गियर’
दक्षिण कोरियामा विमान अवतरण गर्दा ‘खुलेन ल्यान्डिङ गियर’

— थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रुसहित उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार बिहान दुर्घटना हुँदा चालकदलका चार सदस्यसहित १ सय ७९ जनाको मृत्यु भएको छ ।




चालकदलका ६ सदस्यमध्ये जहाजको अन्तिम सिटमा रहेका दुई क्याबिनक्रुलाई जीवितै उद्धार गरिएको छ । धावनमार्गमा चिप्लिएको जहाज जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।


जीवितै उद्धार गरिएका दुई जनामध्ये ३३ वर्षीय पुरुष ‘फ्लाइट अटेन्डेन्ड’ले चिकित्सकसँग संवाद गरिरहेका छन् भने टाउको तथा खुट्टामा चोट बेहोरेकी २५ वर्षीया परिचारिकाको स्वास्थ्य अवस्था स्थिर रहेको कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।

दुर्घटना स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो । दक्षिण कोरियाको समय नेपालको भन्दा ३ घण्टा १५ मिनेट अघि छ । त्यहाँको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा परेको विमानमा रहेका यात्रुमध्ये दुई थाई नागरिक र बाँकी १ सय ७३ कोरियाली थिए । मृत्यु हुनेमा ८५ महिला र ८४ पुरुष छन् ।

बाँकी १० मृतकको लिङ्ग पहिचान हुन सकेको छैन । विमानमा तीन वर्षका बालबालिकादेखि ७८ वर्षका वृद्धसम्म थिए । ज्यान गुमाउनेमा ५ जना १० वर्षभन्दा कम उमेरका छन् ।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सोलदेखि लगभग २ सय ८९ किमि दक्षिण पश्चिममा पर्छ । जेजु एयरको उडान नम्बर–२२१६ को बोइङ विमान बैंककको समयअनुसार राति साढे २ बजे कोरियाका लागि उडेको थियो । यो रुटको हवाई दूरीको समय करिब साढे ४ घण्टाको हो । मुआन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमान कोरियाको समयअनुसार बिहान ८ः५४ बजे अवतरण हुनुपर्ने थियो ।

कोरियाको यातायात मन्त्रालयका अनुसार अवतरणका क्रममा जहाजका पाङ्ग्रा (ल्यान्डिङ गियर) नखुल्नुलाई दुर्घटनाको मुख्य कारण अनुमान गरिएको छ । अमेरिकी समाचार संस्था ‘सीएनएन’ले विमानस्थलमा परिचालित अग्निनियन्त्रक तथा उडान विश्लेषकलाई उद्धृत गर्दै ‘ल्यान्डिङ गियर’ खराबीका कारण दुर्घटना भएको उल्लेख गरेको छ । जहाज अवतरणका क्रममा रहँदा विमानस्थलको ‘कन्ट्रोल टावर’मा रहेका हवाई ट्राफिकले ‘अप्रोच’ मार्गमा चरा भएको जानकारी गराउँदै पाइलटलाई सचेत गराएका थिए ।




उनीहरूको चेतावनीको एक मिनेटपछि विमानबाट चालकदलले ‘एयर ट्राफिक कन्ट्रोलर’ सँग सहयोगको याचना गर्दै ‘मेडे–मेडे कल’ (अप्ठ्यारोमा परेको विमानले गुहार माग्ने शब्दावली) ककपिटबाट रेडियो सेटमार्फत बोलेको सीएनएनले जनाएको छ । ‘मेडे कल’ गर्दा विमान धावनमार्गको अन्तिम विन्दुबाट २.२ किमि मात्र पर थियो ।

दुर्घटनालगत्तै सार्वजनिक ‘भिडियो फुटेज’मा जहाजले धावनमार्गमा ‘बेली–ल्यान्ड’ (पाङ्ग्रा नखुलेको अवस्थामा मुनिको भागबाट धावनमार्गमा चिप्लिएर अवतरण गर्ने आपत्कालीन विधि) अपनाएको थियो । तर ‘बेली–ल्यान्ड’का क्रममा चालकदलले जहाजको गति घटाउन नसकेको तथा भुइँ छुनेबित्तिकै जहाजको गति रोक्न प्रयोग गरिने पखेटामा जडान भएका हावाको गति छेक्ने ‘फ्ल्याप’ लगायतका ब्रेकहरू परिचालन नभएको अनुमान गरिएको छ ।

न्युज एजेन्सी योनहापका अनुसार, विमान धावनमार्गबाट चिप्लँदै बाहिर पुगेर विमानस्थलको सीमामा रहेको कंक्रिट संरचना तथा ‘इन्स्ट्रॅमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) को संरचनामा ठोक्किएको थियो ।

दुर्घटना के कारणले भयो भन्ने आइतबार बेलुकी अबेरसम्म खुल्न नसकेको एजेन्सीहरूले उल्लेख गरेका छन् । जहाजमा खराबी आएको थियो वा अन्य कारणले दुर्घटना भएको भन्नेबारे जहाजको ‘फ्लाइट डेटा रेकर्डर’ (एफडीआर) र ‘ककपिट भ्वाइस रेकर्डर’ (सीभीआर) को अनुसन्धानबाट खुल्ने अधिकारीहरूले जनाएका छन् ।

विमान सञ्चालन गर्ने कम्पनीका सीईओसहित सबै कर्मचारीले आइतबार पत्रकार सम्मेलनमा शिर झुकाएर माफी माग्दै घटना अनुसन्धानमा पूर्ण सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले शोकमा परेका परिवारजनलाई पनि सघाउने बताएका थिए । त्यस्तै जहाज उत्पादक अमेरिकी बोइङ कम्पनीले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा सघाउने जनाएको छ ।

दक्षिण कोरियाकै सबैभन्दा ठूलो ‘लो–कस्ट’ (बजेट) एयरलाइन्स जेजु एयरको हवाई सुरक्षा परिपालनामा रेकर्ड राम्रो छ । त्यस्तै बोइङ ७३७–८०० विमानको पनि सुरक्षा रेकर्ड राम्रो रहेको दाबी समाचार एजेन्सीले गरेका छन् । दुर्घटनामा परेको विमान १५ वर्ष पुरानो हो ।

सात वर्षअघि जेजु एयरले यो विमान आयरल्यान्डको रायन एयर कम्पनीबाट खरिद गरेको थियो । समाचार एजेन्सी एपीका अनुसार दुर्घटना कोरियाको उडान इतिहासकै सबैभन्दा घातक विपत्मध्येको एक हो । २७ वर्षअघि सन् १९९७ मा कोरियन एयरलाइन्सको विमान गुआममा दुर्घटना हुँदा २ सय २८ यात्रुको मृत्यु भएको थियो ।

यस्तै खाले भयानक हवाई दुर्घटना सन् २००७ मा ब्राजिलको साओ पाउलोमा भएको थियो । धावनमार्गमा चिप्लेको एयरबसको ए–३२० जहाज धावनमार्गबाहिर पुगेर एक भवनमा ठोक्किँदा जहाजभित्रका १ सय ८७ जना र बाहिर जमिनमा रहेका १२ सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...