मुख्य समाचार
दक्षिण कोरियामा विमान अवतरण गर्दा ‘खुलेन ल्यान्डिङ गियर’
दक्षिण कोरियामा विमान अवतरण गर्दा ‘खुलेन ल्यान्डिङ गियर’

— थाइल्यान्डको राजधानी बैंककबाट १ सय ७५ यात्रुसहित उडेको जेजु एयरको जहाज दक्षिण कोरियाको मुआन विमानस्थलमा अवतरण गर्नेक्रममा आइतबार बिहान दुर्घटना हुँदा चालकदलका चार सदस्यसहित १ सय ७९ जनाको मृत्यु भएको छ ।




चालकदलका ६ सदस्यमध्ये जहाजको अन्तिम सिटमा रहेका दुई क्याबिनक्रुलाई जीवितै उद्धार गरिएको छ । धावनमार्गमा चिप्लिएको जहाज जलेर पूर्णरूपमा क्षतिग्रस्त भएको छ ।


जीवितै उद्धार गरिएका दुई जनामध्ये ३३ वर्षीय पुरुष ‘फ्लाइट अटेन्डेन्ड’ले चिकित्सकसँग संवाद गरिरहेका छन् भने टाउको तथा खुट्टामा चोट बेहोरेकी २५ वर्षीया परिचारिकाको स्वास्थ्य अवस्था स्थिर रहेको कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।

दुर्घटना स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो । दक्षिण कोरियाको समय नेपालको भन्दा ३ घण्टा १५ मिनेट अघि छ । त्यहाँको यातायात मन्त्रालयका अनुसार दुर्घटनामा परेको विमानमा रहेका यात्रुमध्ये दुई थाई नागरिक र बाँकी १ सय ७३ कोरियाली थिए । मृत्यु हुनेमा ८५ महिला र ८४ पुरुष छन् ।

बाँकी १० मृतकको लिङ्ग पहिचान हुन सकेको छैन । विमानमा तीन वर्षका बालबालिकादेखि ७८ वर्षका वृद्धसम्म थिए । ज्यान गुमाउनेमा ५ जना १० वर्षभन्दा कम उमेरका छन् ।

दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सोलदेखि लगभग २ सय ८९ किमि दक्षिण पश्चिममा पर्छ । जेजु एयरको उडान नम्बर–२२१६ को बोइङ विमान बैंककको समयअनुसार राति साढे २ बजे कोरियाका लागि उडेको थियो । यो रुटको हवाई दूरीको समय करिब साढे ४ घण्टाको हो । मुआन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, विमान कोरियाको समयअनुसार बिहान ८ः५४ बजे अवतरण हुनुपर्ने थियो ।

कोरियाको यातायात मन्त्रालयका अनुसार अवतरणका क्रममा जहाजका पाङ्ग्रा (ल्यान्डिङ गियर) नखुल्नुलाई दुर्घटनाको मुख्य कारण अनुमान गरिएको छ । अमेरिकी समाचार संस्था ‘सीएनएन’ले विमानस्थलमा परिचालित अग्निनियन्त्रक तथा उडान विश्लेषकलाई उद्धृत गर्दै ‘ल्यान्डिङ गियर’ खराबीका कारण दुर्घटना भएको उल्लेख गरेको छ । जहाज अवतरणका क्रममा रहँदा विमानस्थलको ‘कन्ट्रोल टावर’मा रहेका हवाई ट्राफिकले ‘अप्रोच’ मार्गमा चरा भएको जानकारी गराउँदै पाइलटलाई सचेत गराएका थिए ।




उनीहरूको चेतावनीको एक मिनेटपछि विमानबाट चालकदलले ‘एयर ट्राफिक कन्ट्रोलर’ सँग सहयोगको याचना गर्दै ‘मेडे–मेडे कल’ (अप्ठ्यारोमा परेको विमानले गुहार माग्ने शब्दावली) ककपिटबाट रेडियो सेटमार्फत बोलेको सीएनएनले जनाएको छ । ‘मेडे कल’ गर्दा विमान धावनमार्गको अन्तिम विन्दुबाट २.२ किमि मात्र पर थियो ।

दुर्घटनालगत्तै सार्वजनिक ‘भिडियो फुटेज’मा जहाजले धावनमार्गमा ‘बेली–ल्यान्ड’ (पाङ्ग्रा नखुलेको अवस्थामा मुनिको भागबाट धावनमार्गमा चिप्लिएर अवतरण गर्ने आपत्कालीन विधि) अपनाएको थियो । तर ‘बेली–ल्यान्ड’का क्रममा चालकदलले जहाजको गति घटाउन नसकेको तथा भुइँ छुनेबित्तिकै जहाजको गति रोक्न प्रयोग गरिने पखेटामा जडान भएका हावाको गति छेक्ने ‘फ्ल्याप’ लगायतका ब्रेकहरू परिचालन नभएको अनुमान गरिएको छ ।

न्युज एजेन्सी योनहापका अनुसार, विमान धावनमार्गबाट चिप्लँदै बाहिर पुगेर विमानस्थलको सीमामा रहेको कंक्रिट संरचना तथा ‘इन्स्ट्रॅमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएलएस) को संरचनामा ठोक्किएको थियो ।

दुर्घटना के कारणले भयो भन्ने आइतबार बेलुकी अबेरसम्म खुल्न नसकेको एजेन्सीहरूले उल्लेख गरेका छन् । जहाजमा खराबी आएको थियो वा अन्य कारणले दुर्घटना भएको भन्नेबारे जहाजको ‘फ्लाइट डेटा रेकर्डर’ (एफडीआर) र ‘ककपिट भ्वाइस रेकर्डर’ (सीभीआर) को अनुसन्धानबाट खुल्ने अधिकारीहरूले जनाएका छन् ।

विमान सञ्चालन गर्ने कम्पनीका सीईओसहित सबै कर्मचारीले आइतबार पत्रकार सम्मेलनमा शिर झुकाएर माफी माग्दै घटना अनुसन्धानमा पूर्ण सघाउने प्रतिबद्धता व्यक्त गरेका थिए । उनीहरूले शोकमा परेका परिवारजनलाई पनि सघाउने बताएका थिए । त्यस्तै जहाज उत्पादक अमेरिकी बोइङ कम्पनीले घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धानमा सघाउने जनाएको छ ।

दक्षिण कोरियाकै सबैभन्दा ठूलो ‘लो–कस्ट’ (बजेट) एयरलाइन्स जेजु एयरको हवाई सुरक्षा परिपालनामा रेकर्ड राम्रो छ । त्यस्तै बोइङ ७३७–८०० विमानको पनि सुरक्षा रेकर्ड राम्रो रहेको दाबी समाचार एजेन्सीले गरेका छन् । दुर्घटनामा परेको विमान १५ वर्ष पुरानो हो ।

सात वर्षअघि जेजु एयरले यो विमान आयरल्यान्डको रायन एयर कम्पनीबाट खरिद गरेको थियो । समाचार एजेन्सी एपीका अनुसार दुर्घटना कोरियाको उडान इतिहासकै सबैभन्दा घातक विपत्मध्येको एक हो । २७ वर्षअघि सन् १९९७ मा कोरियन एयरलाइन्सको विमान गुआममा दुर्घटना हुँदा २ सय २८ यात्रुको मृत्यु भएको थियो ।

यस्तै खाले भयानक हवाई दुर्घटना सन् २००७ मा ब्राजिलको साओ पाउलोमा भएको थियो । धावनमार्गमा चिप्लेको एयरबसको ए–३२० जहाज धावनमार्गबाहिर पुगेर एक भवनमा ठोक्किँदा जहाजभित्रका १ सय ८७ जना र बाहिर जमिनमा रहेका १२ सर्वसाधारणको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी पूर्वराष्ट्रपति दिमित्री मेदवेदेवले उक्साउने खालका अभिव्यक्ति दिएको भन्दै दुईवटा परमाणु पनडुब्बी ‘सही स्थान’मा तैनाथ गर्न आदेश दिएको बताएका छन् । रूसी पूर्वराष्ट्रपति मेदवेदेवले हालै अमेरिकाविरुद्ध टिप्पणी गरेका थिए । ट्रम्पले यसअघि नै रूसलाई युक्रेनमा युद्ध रोक्न अल्टिमेटम दिँदै नमाने कडा प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए । तर ट्रम्पले ती पनडुब्बी कहाँ ...
। पाकिस्तानले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका १०८ नेता-कार्यकर्ताहरूलाई जेल सजाय सुनाएको छ। उनीहरूलाई सन् २०२३ मा सेनाविरुद्ध प्रदर्शनमा सहभागी भएको आरोपमा सजाय सुनाइएको हो। मे २०२३ मा भ्रष्टाचारको आरोपमा अदालतमा पेशीको क्रममा सुरक्षाकर्मीहरूले इमरान खानलाई गिरफ्तार गरेपछि देशभर हिंसात्मक प्रदर्शनहरू सुरु भएका थिए। बिहीबार आएको यो फैसला इमरान खानको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का लागि ठूलो ...
। ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेविटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छन्। क्यारोलिन लेविटका अनुसार, राष्ट्रपति ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तानसहित ६ वटा प्रमुख अन्तर्राष्ट्रिय संघर्ष अन्त्य गराएका छन् । प्रेस ब्रिफिङका क्रममा उनले भनिन्, ‘डोनाल्ड ट्रम्पले अहिले थाइल्याण्ड र कम्बोडिया, इजरायल र इरान, रुवाण्डा र रिपब्लिक अफ कङ्गो, भारत र ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ९२ देशहरूमा नयाँ भन्सार शुल्क लगाएका छन्। यी शुल्कहरू साउन २३ गतेदेखि लागु हुनेछन्। सूचिमा एशियाली देशहरू भारतमाथि २५ प्रतिशत, पाकिस्तानमाथि १९ प्रतिशत, र क्यानडामाथि ३५ प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसअघि ट्रम्पले २ अप्रिलमा विश्वभरका देशहरूमा भन्सार शुल्क लगाउने घोषणा गरेका थिए, तर ७ दिनपछि नै त्यसलाई ९० दिनका लागि ...
: दक्षिण अमेरिकी देश चिली प्रशान्त महासागरको किनारमा हजारौँ किलोमिटरमा फैलिएको छ। वैज्ञानिकहरूका अनुसार चिलीको मध्य र दक्षिणी तटले क्षयको सामना गरिरहेको छ। यदि यो क्षय यही गतिमा जारी रह्यो भने एक दशकभित्र कम्तीमा १० समुद्र तटहरू गायब हुनेछन्। तटीय क्षरणमा शक्तिशाली समुद्री छाल, आँधीबेहरी र अन्य कारणले तटबाट बालुवा, माटो र चट्टानहरू बग्नु समावेश छ। ...